पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न र मुख्य राजमार्गहरुको स्तरोन्नती कार्यलाई तीव्रता दिन होटल संघ पोखरा नेपालले माग गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा शनिबार आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गको सम्पर्क महत्वपूर्ण रहेको कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एकमत भएका छन्।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई बुझाएको ज्ञापनपत्रमा होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने, कृषि र उर्जा क्षेत्र जस्तै सहुलियत ब्याजदर दिनुपर्ने र आन्तरिक पर्यटकका लागि विभिन्न शहर जोड्ने हवाई सेवा विस्तार गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा रात्रिकालीन व्यवसायको ४२ बुँदे आचारसंहिता पूर्ण कार्यान्वयन, प्रभावकारी अनुगमन र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकासभन्दा प्रवर्द्धनमा जोड दिनुपर्ने सुझाव समेत समावेश छ।
मन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण प्राविधिक टोलीसँग बुझ्ने र होटल सञ्चालनका लागि नयाँ मापदण्ड तयार गरिरहेको जानकारी दिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराबाट अन्तर्राष्ट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नती र कोरला नाकाको सहज सञ्चालनको माग गरे।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली र अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई लगायतले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न सुझाव दिएका थिए।
कार्यक्रममा पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिं ऐर, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।