पदयात्रा पर्यटनका दृष्टिले मनास्लु चम्किरहेको छ। गोरखाको उत्तरी भेकमा पर्दछ, मनास्लु। मनास्लु पदमार्ग नजिकै हिमालको छायाँमा एउटा सुन्दर ताल छ, कालताल।
आकारमा पूर्वपश्चिम लाम्चो छ भने उत्तरदक्षिण फराकिलो। यसमा मनास्लु (८,१६३ मिटर) सहितका हिमालको छायाँ देखिन्छ। तालको पश्चिमपट्टि मनास्लु हिमाल छ। त्यस्तै पूर्वपट्टि श्रृङ्गी र गणेश हिमाल छन्। दायाँबायाँ अरु हिमचुली पनि छन्। चुमनुब्री गाउँपालिका–४, गोरखामा पर्दछ कालताल। यसको क्षेत्रफल २२ दशमलव ३ हेक्टर छ। ताल वरपर गुराँस, भोजपत्र र धुपिको जङ्गल छ।
भोटे भाषामा ‘काल्पा’को अर्थ युगौंदेखि र ‘छों’को अर्थ ताल। प्रोक गाउँ (२, ३८० मिटर)सहित वरपरका गाउँलेहरू ताललाई शक्तिकी प्रतीक देवी मान्छन्। यहाँ जेठ महिनाको औंसीमा पूजा हुन्छ। त्यतिबेला तालको कोरा गरिन्छ। हिँडेर फन्को मार्न डेढ घण्टा लाग्छ।
पूजा गर्दा तोर्मा बनाएर काठमा राखिन्छ। त्यसमा खादा र पैसा राखेर तालमा बगाउने चलन छ। ताल किनारामै बसेर तोर्मा बनाउने, पूजा गर्ने र बगाउने गरिन्छ। यसरी पूजापाठ गरेमा अन्नबाली राम्रो हुने, रोगव्याधी नलाग्ने, आयु लामो हुने, मान्छे र जनावरको संरक्षण हुने विश्वास छ।
पवित्र भूमि भएकाले तालमा पौडी खेल्न, ढुङ्गा फ्याँक्न, हल्ला गर्न र फोहोर गर्न पाइँदैन। त्यसैले गाउँ बाहिरका मान्छे ताल घुम्न जाँदा प्रोकबाट अनिवार्य स्थानीय गाइड लिएर जानुपर्छ।
ताल क्षेत्रमा काटमार गर्न पाइँदैन। यहाँको जङ्गलमा झारल, डाँफे, काग, हिउँचितुवा र भालुलगायत जनाबर डुल्छन्।
तालमा नुन खानी भएको जनविश्वास छ। नुनका विषयमा विभिन्न किंवदन्ती छन्। तालको पुर्वपट्टि किनारमा एउटा गुम्बा पनि छ। मनास्लु पदमार्गसँग जोडिएका डयाङ र प्रोक गाउँको शिरमा छ ताल। यहाँ कमै पर्यटक आई पुग्छन्।
मनास्लु पदमार्गलाई मोटर बाटोले छोट्टयाउँदै गएकाले स्थानीयले वैकल्पिक पदमार्गका रुपमा कालताललाई ब्रान्डिङ गरिरहेका छन्। तालबाट हिमालचुली बेसक्याम्प हुँदै दुई दिनमा नामरुङ गाउँ पुगिन्छ। बीचमा खाने÷बस्ने होटल तथा बस्ती छैन। त्यसैले क्याम्पिङको विकल्प छैन।
प्रोक गाउँ फराकिलो छ। यहाँ ५ ओटा गुम्बा छन्। सबैभन्दा पुरानो पाल्री गुम्बा करिब ५ सय वर्ष पुरानो हो। कालतालमा पनि होटल तथा लज छैनन्। तालको पूर्वपट्टि बनाइएको धर्मशालामा खाना पकाउने भाँडावर्तन र ओढ्ने कम्बलको व्यवस्था गरिएको छ। प्रोकका अगुवालाई सम्पर्क गरेर स्थानीय गाइडसहित खाद्यान्न लिएर जानुपर्छ। कालतालको बेस क्याम्प प्रोक गाउँमा होमस्टे र होटल सुविधा छ।
मनास्लु यात्रा रोमाञ्चक हुन्छ। माछाखोलाबाट बुढीगण्डकी नदीको किनारैकिनार पदयात्रा गरिन्छ । जगत, डयाङ्ग, प्रोक हुँदै काल ताल पुगिन्छ। चीनसँग सिमा जोडिएको छ मनास्लु क्षेत्रको। सरकारले चीनको आग्रहमा सुरक्षा संवेदनशीलता ख्याल गरी मनास्लुलाई ‘निषेधित क्षेत्र’का रुपमा राखेको छ।
त्यसैले मनास्लु घुम्ने पर्यटकले पर्यटकीय सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म एक साता पदयात्रा गर्न सरकारलाई रेस्ट्रिक्टेड परमिट फि १०० डलर बुझाउनु पर्दछ। त्यसपछि प्रति दिन १५ डलर लाग्छ। त्यस्तै अफ सिजन डिसेम्बरदेखि अगस्टसम्म एक हप्ताको ७५ डलर तिर्नुपर्छ। त्यसपछि दिनको थप १० डलर लाग्छ। त्यसमाथि एमक्याप र एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना)लाई थप तीन तीन हजार रुपैयाँ बुझाउनु पर्छ।
यति मात्र होइन, चुमनुब्री गाउँपालिकाले विदेशीसँग १ हजार रुपैयाँ र नेपालीसँग २ सय रुपैयाँ प्रवेश शुल्क पनि उठाउँछ। गाउँपालिकाको चेक पोस्ट जगतमा छ, त्यहाँ शुल्क तिर्नुपर्दछ।
कसरी पुग्ने ?
काठमाडौंबाट थानकोट, धादिङबेसी, सोतिखोला हुँदै माछाखोलासम्म १५५ किलोमिटर गाडीमा, समय ७ घण्टा । पहिलो दिन माछाखोलामा बास। माछाखोलाबाट पदयात्रा सुरु। त्यसपछि जगत, ड्याङ र प्रोक गाउँमा बास बस्नु पर्छ। प्रोकबाट बिहानै उठेर प्याक लन्च लिएर तालमा जान सकिन्छ, यसका लागि ५ घण्टा लाग्छ। तालबाट ओरालो झरेर प्रोकमा आउन ३ घण्टा लाग्छ। ताल किनाराकै धर्मशालामा पनि बास बस्न सकिन्छ। यसका लागि गाउँबाट गाइड लिएर जानु पर्दछ।
पेमा ग्याल्पो लामा
हामी कालताललाई पर्यटन गन्तव्यका रुपमा विकास गरिरहेका छौं। ताल घुम्न चाहनेलाई हामी प्रोकबाट आबश्यक गाइडको व्यवस्था गर्छौं। ताल किनारामै बास बस्ने व्यवस्था पनि मिलाउँछौं।
सम्पर्क ः ९८४३७१४१०७