सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमाल ‘अपि’ (७,१३२ मिटर) दार्चुलामा पर्दछ। यसैको नामबाट स्थानीय गाउँपालिकाको नामकरण गरिएको छ, अपिहिमाल गाउँपालिका। गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको छ। उसले ‘अपिहिमाल भ्रमण वर्ष २०८०’ मनाइसक्यो। अपि हिमाल वेस क्याम्प (३,९०० मिटर)मा आन्तरिक पर्यटकको चहलपहल सुरु भैसकेको छ भने फाट्टफुट्ट विदेशी पर्यटक पनि पुग्न थालेका छन्। यसै सेरोफेरोमा गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरासँग गरिएको कुराकानी:
स्वदेशी तथा विदेशी पर्यटकले अपि हिमाल पदयात्रा किन गर्ने ? केके छन् त्यहाँ हेर्ने, रमाउने र सिक्ने कुरा ?
अपिहिमाल गाउँपालिका सुदूरपश्चिमको उच्च हिमाली क्षेत्रको एउटा उत्कृष्ट गन्तव्य हो। हाम्रो गाउँपालिकाको वडा नं. १ मा पर्दछ अपि हिमाल। हाम्रो गाउँमा अपिसहित १६ वटा ६ हजारभन्दा अग्ला हिमाल छन्। प्रकृति, संस्कृति र सहासको त्रिवेणीधाम हो, अपि वेस क्याम्प। उच्च हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता त्यसमा पनि मल्देशी संस्कृति र सौका समुदायको संस्कृति दुलर्भ सम्पदा हुन्। यसको अवलोकन गर्न सकिन्छ। पदयात्रा पनि साहसिक छ। प्रकृतिको आँगनमा पुग्दा तनावबाट मुक्ति मिल्छ।
धार्मिक पर्यटनका लागि समेत अपि महत्वपूर्ण ठाउँ हो। सुर्मासरोवरको प्रवेशद्वार क्षेत्ती र घाँजिर गाउँ हाम्रै गाउँपालिकामा पर्दछन्। साथसाथै धार्मिक महत्व बोकेको कालीढुङ्गा ताल र चमेलिया नदीको मुहान पनि अपि यात्रामा अवलोकन गर्न पाइन्छ। यार्सागुम्बा लगायत महत्वपूर्ण जडीबुटी र दुलर्भ वन्यजन्तु अवलोकन गर्न पनि पाइन्छ। त्यसैले अपि हिमाल पदयात्राले एकातिर मनलाई चंगा बनाउँछ भने अर्कोतिर ज्ञानको दायरा फराकिलो बनाउन मद्दत गर्दछ।
अपि क्षेत्रमा पर्यटनको अबस्था के छ ? क्याम्पिङ ट्रेक गर्नु पर्दछ कि होटल खुलिसके ?
यहाँ पर्यटनको अबस्था आधारभूत रुपमा सुरुवाती चरणमा छ। दुई वर्ष अघिबाट हामीले अपि हिमालको पर्यटनलाई प्राथमिकतामा राखेका छौं। अपिलाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने हाम्रो उद्धेश्य रहेको छ। यसै अनुरुप कामहरू अघि बढाइरहेका छौं।
हामीले अपि वेस क्याम्पसम्मको पदमार्ग निर्माण पुरा गरेका छौं। आधारभूत रुपमा बस्नका लागि गेस्ट हाउस र टि हाउसहरू निर्माण भएका छन्। पदमार्गमा पर्ने गाउँहरूमा होमस्टे सुरुवात गरेका छौं। युवालाई पथ प्रदर्शक तालिम दिएका छौं। पदमार्गमा संकेत चिन्ह र सूचनापाटी पनि राखेका छौं।
अपि हिमालको प्रवेशद्वार मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरेका छौं। यसरी आधारभूत पर्यटकीय संरचना निर्माण गरिसक्यौं।
अहिलेको सिजनमा दैनिक ४० जनाका दरले आन्तरिक तथा वाह्य पर्यटकहरू अपि वेस क्याम्प भ्रमण गरिरहनु भएको छ। हामी उत्साहित छौं। यसलाई व्यवस्थित र गुणस्तरीय बनाउने अभियानमा हामी लागिरहेका छौं।
पदमार्गको पूर्वाधार विकासमा थप के काम गर्दै हुनुहुन्छ ?
पर्यटकीय पूर्वाधार निर्माणक्रममा मकरीगाडदेखि अपि वेस क्याम्पसम्म हामीले २० किलोमिटर पदमार्ग बनाइसक्यौं। अब अपि वेस क्याम्पदेखि सैपाल वेस क्याम्पसम्म पदमार्ग निर्माणका लागि पर्यटन विभागसँग सहकार्य गरिरहेका छौं। थप गेस्ट हाउस निर्माणका साथै मुख्य पदमार्ग छेउछाउका सुन्दर गन्तव्यहरूलाई समेत जोड्ने हिसाबले त्यसको पनि अध्ययन गरिरहेका छौं। हामी पर्यटनको गुरुयोजना बनाइरहेका छौं, जुन अन्तिम चरणमा पुगेको छ। यसबाट अपि क्षेत्रको पर्यटनलाई दिगो र व्यवस्थित गन्तव्य बनाउन सहयोग पुग्ने छ।
तपाईंहरूले अपिहिमाल भ्रमण वर्ष २०८० मनाइसक्नु भयो। त्यसका उपलब्धी के के हुन् ?
हामीले वि.सं. २०८० लाई अपिहिमाल भ्रमण वर्षका रुपमा मनायौं। विश्व पर्यटन दिवस, सेप्टेम्बर २७ को अबसर पारेर सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेश धामीज्यूबाट अपि वेस क्याम्पमा भ्रमण वर्ष उद्घाटन गरेका थियौं। उक्त कार्यक्रम पश्चात अपि हिमाललाई देश तथा विदेशमा परिचय गराउन सफल भयौं। फलस्वरुप वि.सं. २०८० मा करिब ५ हजार आन्तरिक र बाह्य पर्यटकले अपि वेस क्याम्प भ्रमण गरेका छन्। यसबाट स्थानीय जनताको जिविकोपार्जन तथा रोजगारीमा महत्वपूर्ण सहयोग पुगेको छ।
अपि क्षेत्रको पर्यटनका लागि तपाईंका थप केही योजना छन् कि ?
अपि क्षेत्रको पर्यटनलाई अझै विकास गर्नका लागि अपि लगायतका हिमाल आरोहण लगायत साहसिक खेलहरू रक क्लाइम्बिङ, स्की, हाई अल्टिच्युड म्याराथन लगायत कार्यक्रम गर्ने योजना छ। यसका लागि पूर्वाधार विकाससँगै निजी क्षेत्रलाई पनि सहभागि गराउने छौं।
तपाईंको गाउँपालिकाको प्रमुख पर्यटकीय प्रोडक्ट अपि हिमाल हो, त्यसबाहेक अन्य सम्भावना बोकेका कुराहरू केके छन् ?
अपि हिमाल सँगसँगै यहाँको सांस्कृतिक विविधता अर्को महत्वपूर्ण आकर्षण हुन्। स्थानीय अर्गानिक परिकारहरू, भेषभुषा र ऐतिहासिक गाउँहरू पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिन्छ। क्षेत्ती, घाँजिर धार्मिक क्षेत्र अपि हिमालको अर्को उत्कृष्ट गन्तव्यको रुपमा रहेको छ। यहाँ मार्कण्डेय गुफा, धर्मगुफा, कपिल हिमाल, सुर्मादेवीको मन्दिर लगायत उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य छन्।
हाम्रो गाउँपालिकामा तामाखानी भ्यु पोइन्ट लगायत अन्य गन्तव्य पनि छन्। यी सम्पदामा पूर्वाधार विकासका साथै प्रचारप्रसार गरिरहेका छौं।
अपि पदयात्राको सबैभन्दा उपयुक्त मौसम कुन हो ? कति समय लाग्छ ? पदयात्रीलाई तपाईंका सुझाब ?
अपि पदयात्राको उपयुक्त मौसम भनेको चैतदेखि जेठसम्म र असोजदेखि मङ्सिर महिनासम्म हो। पदयात्रीलाई अपि हिमाल वेस क्याम्प सजिलो र सस्तो गन्तव्य हो। काठमाडौंबाट अपि वेस क्याम्प पुगेर फर्कनका लागि ८ दिनको समय छुट्टयाए पुग्छ। काठमाडौंबाट गाडी वा हवाईयात्रामा धनगढी पुग्ने। धनगढीबाट रिर्जभ्ड जिप वा बसमा जान सकिन्छ। जिप मकरीगाडसम्म पुग्छ भने सार्बजनिक बस चाहिँ लटिनाथसम्म पुग्छन्। मकरीगाडबाट दुई दिन पदयात्रामा अपि वेस क्याम्प पुग्न सकिन्छ।
यस क्षेत्रको जानकारीका लागि अपिहिमाल गाउँपालिका वा हाम्रो सूचना केन्द्रमा सम्पर्क गर्न अनुरोध गर्दछु।
थप जानकारीका लागि
बिसन बुढाथोकी–९८४४६९४२००
टुरिजम फोकल पर्सन
अक्कल ठगुन्ना–९८४९२१७१९०
पर्यटन सूचना केन्द्र, मकरीगाड