विशाल पहराबाट झरेको पानी। शिरदेखि फेदीसम्म विभिन्न रूपमा देखिने। सेताम्मे झरना। घामका किरण पर्नेबित्तिकै पानीमा इन्द्रेनीका रङहरू सल्बलाउँछन्।
रसुवाको उत्तरगया गाउँपालिका–२, मा पर्दछ, भाङ्गे झरना। रसुवाकै फिकुरी डाँडा (३, ५६८ मिटर)मा रहेको वर्थलाकुण्ड पानीको मुहान हो। गुरुङ बस्ती भाङ्गेबाट बग्ने भएकाले ‘भाङ्गे खोला’ भनियो। अनि त्यही खोलाबाट बनेकाले भाङ्गे झरना भनिएको।
झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ। झरनाका विभिन्न खण्ड छन्। फेदीमा पौडी खेल्न मिल्ने तलाउ छ।
माथि ठुलो सिम्ले गाउँमा झरना भ्यु पोइन्ट बनाइएको छ। त्यहाँबाट हेर्दा झरनाको बेग्लै रुप देखिन्छ। फेदीमा जाँदा पानी छुन पाइन्छ भने भ्यु पोइन्टबाट दृश्यावलोकन गर्न मात्र सकिन्छ।
होमस्टेको खाना
महत्वपूर्ण कुरा, भ्यु पोइन्टबाट भाङ्गे मात्र होइन, पारीपट्टीका तीनछाँगे, छहरे झरना, गराङ झरना पनि देख्न पाइन्छ।
भाङ्गे झरनाबाट करिब दुई सय मिटर दुरीमा अर्को मनमोहक झरना छ, करेली झरना। खण्डैखण्ड परेको करेली झरना।
प्रकृतिको सामिप्यतामा हाइकिङविज्ञ राम देवी महर्जन
भाङ्गे पुग्नु अगाडि सडकमै सुन्दर झरना देखिन्छ, यसलाई ‘फुच्चे खोला झरना’ भनिन्छ। यसको मुहान घुमार भन्ने ठाउँमा छ। फुच्चे खोला झरनाको पनि खण्डै खण्ड छ। नजिकबाट यसको दृश्य हेर्न भने डाँडागाउँ उकालिने सडकबाट भित्र पस्नुपर्छ। त्यहाँसम्म गोरेटो छ।
आहालडाँडा भ्यु पोइन्टबाट देखिएको भाङ्गे झरना
एउटै यात्रामा यी तीनवटै झरनाको सौन्दर्यमा रमाउन पाइन्छ। यी तीनवटै झरना निर्माणाधीन नेपाल–केरुङ जोड्ने सकड किनारामा छन्। भाङ्गे जाँदा गाडीबाटै ठाउँठाउँका झरनाहरू हेर्दै यात्रा गर्न पाइन्छ।
विशेषतः मनसुनमा झरनाको जादुगरी देखिन्छ। हिउँदमा पानी कम हुन्छ। त्यसैले जेठदेखि कात्तिकसम्म झरना अवलोकन गर्ने उत्तम सिजन। शनिबार र बिदाका दिनमा यहाँ भिड लाग्छ। रसुवा, नुवाकोट, काठमाडौं लगायतका युवा झरनामा आउँछन्।
फुच्चेखोला झरना
भाङ्गे झरनाको फेदीमा सामान्य खाजा पसल छ। खाना र बासका लागि माथि सिम्ले गाउँमा होमस्टे सुबिधा छ। झरना नपुग्दै शान्ति बजारमा पनि होटल तथा खाजाघर छन्।
करेली झरना
झरनाबाट होमस्टे भएको ठुलो सिम्ले पुग्न ७ किलोमिटर उकालो सडक छ। गुरुङ बस्ती भाङ्गेमा पनि सामुदायिक होमस्टे सञ्चालन हुँदैछ।
झरनाको नाम नबिगारौँ
टुकुप्रसाद सुवेदी
वडाध्यक्ष, उत्तरगया गाउँपालिका–२, रसुवा
हाम्रो गाउँको ‘भाङ्गे झरना’लाई सामाजिक सञ्जालमा ‘मैलुङ झरना’ भनेर प्रचार गरेको देखिन्छ। वास्तवमा यो झरना भएको ठाउँबाट करिब ५ किलोमिटर माथि पर्दछ, मैलुङ भन्ने ठाउँ। त्यहाँ झरना छैन। त्यसैले यो मैलुङ झरना होइन, भाङ्गे झरना हो। हामीले यस क्षेत्रको पर्यटन विकासका लागि डिपिआर बनाइसकेका छौं। निजी क्षेत्रसँग पनि सहकार्य गर्ने भनेर कानुन निर्माण गर्दैछौं।
फोन: ९८५११७४०५६
कसरी पुग्ने ?
ललितपुरको सातदोबाटोबाट ८२ किलोमिटरमा भाङ्गे झरना। सामाखुसी–झरना ७० किलोमिटर। झरनासम्मै जिप र मोटरबाइक जान्छ।
गाडीमार्ग
सातदोबाटो–सामाखुसी–गुर्जेभन्ज्याङ–छहरे–लिखु–बट्टार–बिदुर–वेत्रावती, शान्ति बजार–झरना।
समयः ४ घण्टा (एकतर्फी)
लिखु खोला, पृष्ठभूमिमा कविलास डाँडा
पदमार्ग
शान्ति बजार–झरना मोड–झरनासम्म। त्यहाँबाट फर्केर झरना मोड हुँदै माथिल्लो सिम्ले गाउँ उकालो लागेर सिम्ले गाउँ भ्यु पोइन्ट पुग्ने। त्यहाँबाट शान्ति बजारसम्म पदयात्रा।
शान्तिबजार–झरना मोड– १ किलोमिटर
झरना मोड– झरना २ किलोमिटर
फर्कंदा झरनाबाट झरना मोडसम्म २ कि.मि.
झरना मोड–ठुलो सिम्ले–५ किलोमिटर, ठाडो उकालो
ठुलो सिम्ले–शान्ति बजार ६ किलोमिटर
जम्मा पदयात्रा दुरी: १६ किलोमिटर
समय: ६ घन्टा
त्रिशुली नदी किनारमा शान्ति बजार
नोट: एक रात बास बसेर झरना अवलोकन गर्दा धपेडी हुँदैन। त्यसैले सिम्लेको होमस्टे वा शान्ति बजारका होटलमा बास बस्ने। गएकै दिन फर्कने हो भने बिहान सबेरै निस्कने र समयको ख्याल गर्ने।
सापकोटा होमस्टे परिवार
सम्पर्क
साधुराम सापकोटा
सञ्चालक, सापकोटा होमस्टे
फोनः ९८५११२९७०७
(योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक एवम् हाइकिङविज्ञ राम देवी महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)
थप तस्बिरहरु:
फुच्चेखोला झरना
भाङ्गे झरना












