रोल्पा। रोल्पाको सुन्दर र धार्मिक स्थल जलजलाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ’जलजला पदयात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा कार्तिक १२ देखि १४ सम्म सञ्चालित यस पदयात्रामा जिल्लाका स्थानीय तहका प्रमुख, साहित्यकार, पत्रकार र व्यवसायीहरू सहभागी भए।
पदयात्रा ओख्रेनीबाट सुरु भई धरमपानी हुँदै जलजला पुगेको थियो। पर्यटन अभियान तथा गेमी होमस्टेका अध्यक्ष बाल्कुरामका अनुसार, दशै–तिहारको अवधिमा जलजला क्षेत्रको पर्यटकीय स्थल भ्रमण गरी पर्यटन प्रवर्द्धन गर्नु यस पदयात्राको मुख्य उद्देश्य थियो।
यात्रा क्रममा पदयात्रीहरूले जलजलाका सांस्कृतिक कार्यक्रम, पर्यटन वहस, बराह मन्दिर र भामा गुफा दर्शन गरेका थिए। प्रमुख जिल्ला अधिकारी, कर्मचारी, प्रहरी अधिकारी र स्थानीय पत्रकारहरूले पनि पदयात्रालाई साथ दिएका थिए।
पूर्व अर्थमन्त्री पुनले जलजला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारी र स्थानीय निकायहरूबीच समन्वय आवश्यक रहेको बताए। उनले पर्यटनसँगै स्थानीय उत्पादन, सांस्कृतिक सम्पदा र पर्यटकीय विकासको नयाँ योजना तर्जुमा गर्न आह्वान गरे।
लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य जलजला समुद्र सतहदेखि ३ हजार ६ सय मिटर उचाईमा अवस्थित छ। यहाँ विविध प्रकारका प्राकृतिक जडीबुटी र विश्वमा लोप हुने अवस्थामा रहेको रेड पान्डाको बासस्थान पाइन्छ। वसन्त ऋतुमा १८ प्रजातिभन्दा धेरै गुराँस फुल्ने यो क्षेत्र प्राकृतिक, धार्मिक र ऐतिहासिक रूपमा प्रसिद्ध छ।
पदयात्रा सहभागीहरूले जलजलाको पर्यटकीय महत्व र स्थानीय संस्कृतिको प्रचार–प्रसारमा यो अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए। थबाङस्थित सामुदायिक होमस्टे र गेमी होमस्टेको संयुक्त आयोजनामा सम्पन्न यो पदयात्राले स्थानीय पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
सरकारले मुलुकभरका एक सय गन्तव्यमध्ये जलजलालाई पर्यटकीय स्थलको रूपमा सूचीकृत गरेको छ। यो पदयात्राले जलजलाको पर्यटकीय क्षमता र सम्भावनालाई अझ बढी उजागर गर्ने विश्वास स्थानीय नेतृत्वले लिएका छन्।
जलजलाको महत्व
थबाङ, सुनछहरी, रोल्पा गाउँपालिकाको साझा भुभाग हो जलजला पहाड। जलजलामा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्छ। जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ। वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीन पटक मेला लाग्ने जलजलामा सयौं भक्तालुजनहरु भेडा र कुखुराको बलि दिएर पूजा गर्छन्। वराह देवताको पूजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ।
मन्दिरबाट करिब २० मिनेटमा बिशाल भामा गुफा छ। किम्बदन्ती अनुसार यो गुफामा १२ भाइ वराह र २२ बहिनी बज्यु वराह उत्पत्ती भएका थिए। त्यस्तै यसको सेरोफेरोमा झरनाहरु प्रसस्तै छन्। जंगली पशुपंछि, वनस्पति, फूलहरु र थरि थरिका चराचुरुंगी पाईन्छ।
यहाँबाट उत्तरतिर सिस्ने, पुथा र धौलागिरी हिमश्रृंखलाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ। समुन्द्र सतहबाट ३००० मि. देखि ३६५० मिटरसम्मको भूभागमा फैलिएको जलजला रोल्पा जिल्लाकै अग्लो भुभाग हो। यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रुपले प्रसिद्ध छ। वसन्त ऋतुमा जलजला क्षेत्र गुराँस फुलेर ढकमक्क हुन्छ, वर्षायाममा थरी थिरिका सयौं रंगिबिरंगि वुकी फूल फुल्छ। हिउँदमा जलजला क्षेत्र सेताम्मे हिउँले ढाकिन्छ।
वैशाख–जेठमा करिव १४ प्रजातिका गुराँस फुल्दा जलजला क्षेत्र बेहुलीझैं सिंगारिन्छ। यहाँ घोरल, थार, रतुवा, हरिण, बंदेल , बाघ, चितुवा, भालु र दुर्लभ वन्यजन्तु रेड पाण्डा लगाएत जंगली जनावर पाईन्छ। त्यस्तै डाँफे, मुनाल, कालिजसहित सयौ चराचुरुंगिको बासस्थान हो जलजला। घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे,भारमासे, पातव , ढालमुन्द्र, विन्जोरी , ढोङ्ग्रे, सुनगाभा आदि फुल साथै जडिबुटिहरु समेत पाईन्छ। आकास खुलेको समयमा उत्तरतिर सेताम्मे सिस्ने, पुथा, डोगारी, गुर्जा र धौलागिरि हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ। हिउँदमा जलजला हिउँले ढाकिन्छ उत्तरमा ढोरपाटन क्षेत्र माथिका हिमालको दृश्य देखिन्छ।