काठमाडौं ।‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका ग्रामीण विकास अभियन्ता जिग्मे लामाले आफ्ना अनुभूतिहरू सँगालेर एउटा पुस्तक ल्याएका छन्, ‘अमरभूमि’। दिगो सुख र अमरत्वको खोजीमा निस्केका लामाले आन्तरिक र बाह्य दुवै खाले सुखको चर्चा गरेका छन्।
यो पुस्तक सन १९९० को दशकको कर्णाली क्षेत्रको सामाजिक, आर्थिक परिवर्तनहरूको पृष्ठभूमिबाट सुरु हुन्छ। त्यसै सिलसिला यात्राका पात्रहरूले ८ औं शताब्दीमा भविष्यवाणी भई पुनः हराएको कुनै सुखमय भूमि, बेयुल वा शाम्बाला यात्राका अवशेषहरू भेटाउन पुग्छन– एक गोप्य भूमि अनि गुमनाम यात्रीहरू जो हराउँदै इतिहास, अनि कथा भैसकेका थिए। त्यही दिगो शुख र शुद्ध भूमिको खोजलाई पच्छ्याउँदाको यात्रा वृतान्त हो, अमरभूमि।
बुक्स हिमालयले प्रकाशन गरेको पुस्तकको मूल्य ७ सय रुपैयाँ राखिएको छ। यसको बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत गृह जिल्ला हुम्लाको स्वास्थ्य क्षेत्रमा लगानी गरिने लामाले बताएका छन्।
प्रारम्भिक अध्यायहरूमा लेखकले हुम्ला र कैलाश क्षेत्रको भूगोल यात्रा पहिल्याउँदै, समाजमा विकास र समृद्धिको समाधान खोज्दै हिँडेका छन्। पछिल्ला अध्यायहरूमा चिन्तनमा गहिरिदै विगत, वर्तमानका सिद्धहरू, तिनको उपदेश, यात्रा बृतान्तहरू पहिल्याउँदै बाह्य संसार र भित्री चेतनाको सम्बन्ध, नालिवेलीहरू केलाएका छन्। भूगोल, इतिहास, आध्यात्मिकताको यो सगोल यात्रा अघि वढाउँदै निखारिएको दृष्टिमा सुखी समाज र शुद्ध भूमि वा नयाँ परिवेशमा वेयुल, शाम्बाला, सांंग्रिलाको द्वार खोल्ने प्रयास गरेका छन्।
‘अमरभूमि’ हिमालय क्षेत्रको विशेष भुगोल, विविधता, समृद्ध चिन्तन परम्पराको चित्रण अनि दिगो सुख, संवृद्धिको विशेष यात्रा वृतान्त हो। वास्तविक अनुभव, अनुभुतिहरूमा आधारित वृतान्त जसले पुरातन ज्ञान र समसामयिक चुनौतिहरूलाई एकसाथ बुन्ने साहस गरेको छ। साथै स्वहित र परहित, विगत र वर्तमान बीचको पुल वन्ने साहस गरेको छ।
हुम्लाको सिमकोट गाउँपालिका–३, लिमाटाङ जन्मेहुर्केका जिग्मे ४७ वर्षका भए। पेशाले उनी पर्यटन व्यवसायी हुन्। बेलायती कम्पनी नोम्याडिक स्काईज् एक्सपिडिसनसँग आबद्ध छन्।
नेपालमा उनको आफ्नै कम्पनी छ, टेर्लड ट्रेक्स एन्ड एक्सपिडिसन छ। हिमाली अन्वेषक, समाजसेवी, र सहित्यकार नर ब. लामा (जिग्मे) द्वारा लिखित अमरभूमि कात्तिक ३ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा मा लोकापर्ण हुँदैछ। ललितपुरको बुक्स हिमालयले प्रकाशन गरेको पुस्तकको मूल्य ७ सय रुपैयाँ राखिएको छ। यस पुस्तकको बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत गृह जिल्ला हुम्लाको स्वास्थ्य क्षेत्रमा लगानी गरिने लामाले बताएका छन्।
यही पुस्तकको सेरोफेरोमा रहेर एभरेस्ट पेडियाले उनीसँग कुराकानी गरेको छ।