केही जागरुक युवाको सक्रियतामा वि.सं. २०६९ मा पोखरामा माउन्टेन बाइक अभियान सुरु गरिएको थियो। त्यतिबेला कमल कोइरालाको संयोजकत्वमा साइकल सिटी पोखरा (सिसिपी) अबधारणा ल्याइयो। त्यस अभियानमा म वि.सं. २०७१ मा जोडिन पुगें।
एउटा सुखद कुरा, साइकल सिटी पोखराले मेरै संयोजकत्वमा सन् २०१५ मा ‘टुर डे पोखरा’ आयोजना ग¥यो। त्यतिबेला ४८० जनाले माउन्टेन बाइकमा पोखराको फन्को मारे। साइक्लिङ प्रवद्र्धनमा हाम्रो इभेन्ट कोशेढुङ्गा बन्न पुग्यो।
टुर डे पोखरामा हामी तीन जना सँगै स्कुल पढेका साथी पनि सहभागी हुन पुगेका थियौं। त्यसैले हामी तीन भाइ मिलेर पोखरामा साइक्लिङ गर्न थाल्यौं। हाम्रो समूह बढ्दै गयो र ९ जना (श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, प्रकाश बज्राचार्य, चिन्तामणि बास्तोला, अनिल श्रेष्ठ, विनोद श्रेष्ठ, मनोज श्रेष्ठ, विश्व तण्डुकार र निरज थापा) सदस्य भयौं। त्यसैले सन् २०१५ मै हामीले जन्मायौं, जी. नाइन साइक्लिङ ग्रुप। सुरुदेखि नै जी. नाइनको अध्यक्ष श्यामकृष्ण श्रेष्ठ हुनुहुन्छ।
हामी साइकल चढिरह्यौं। अरु पोखरेली साथी पनि चढिरहे। करिब ८ वर्षपछि सँगै पढेका भद्रकाली मन्दिरतिरका साथी राजन गुरुङ पनि जोडिए। बिस्तारै उनका नजिकका भाइहरू पनि जोडिएर ५ जनाको छुट्टै समूह बन्यो । यसरी तीन वर्ष अघि जन्मियो, फाइभ स्टार साइकल ग्रुप। ५ जनाबाट सुरु भएको समूहमा १० जना पुगेका छौं। यसको संयोजक दुर्गा गुरुङ हुनुहुन्छ।
फाइभ स्टार साइकल ग्रुपमा पोखरा वडा नं. १३ कार्यालय वरपरका ५५ देखि ७० वर्षका १० जना साइक्लिस्टसँग साइकल चढ्दै आएको छु। फाइभ स्टार साइकल ग्रुपमा राजन गुरुङ, दुर्गा गुरुङ, डिबि गुरुङ, शेरजङ वाइबा, अमर तामाङ, निर गुरुङ, भीमबहादुर गुरुङ, हरिसिंह गुरुङ, नरजङ गुरुङ र निरज थापा छौं।
म आइतबार, मंगलबार र बिहीबार फाइभ स्टार ग्रुपसँग साइक्लिङ गर्छु भने हरेक शुक्रबार जी. नाइनसँग। साइकल चढ्नुको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्तीकै लागि हो। यस बाहेक पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थ्य बचाऔं अभियान पनि स्थापित गरेका छौं।
आज ससाना नानीबाबुदेखि बृद्धसम्म चढ्छौं। हाम्रो समूहको अग्रज हुनुहुन्छ, ७४ वर्षे तुल्सीकुमार श्रेष्ठ जसले मुटुमा पेसमेकर राख्नु भएको छ। तर, फूर्तिसँग साइकल चढ्नु हुन्छ। उहाँहरूसँगै डुल्न पाउँदा गौरव बोध हुन्छ। ऊर्जा बढ्छ।
हामी हरेक दिन फरकफरक ठाउँमा जान्छौं। हाम्रा गन्तव्य हुन्, पामे, घाँटीछिना, महेन्द्रगुफा, अकलादेवी, ¥यालेचौर, भलाम, मेथलाङ, सराङ्कोट, काहुँडाँडा, आर्बाडाँडा, गुराँसेडाँडा, बिजयपुर कालिका, रिठ्ठेपानी, डहरेसाघुँ, नयाँ एयरपोर्ट लाइन, फूलबारी रिसोर्ट आदि।
बेलाबेलामा हामी लामो दुरीमा पनि यात्रा गर्छौं। हामी जोमसोम, बागलुङ कालिका, वालिङ, तालदेखि तालसम्म, स्वरेक, मिलिनियम ट्रेक, सिकलेस, सिरुबारी, लुम्बिनी र रारासम्म साइकलमा पुगिसकेका छौं। दुवै साइक्लिङ ग्रुपबाट महिनाको ५ सय रुपैयाँ उठाउँछौं। यसबाट साइक्लिङ जाँदा चियाखाजा खाने र बेलाबेलामा पारिवारिक पिकनिक गर्ने गर्छौं।
पोखरामा साइक्लिङको लहर छाएको छ। यहाँ हजारौंले साइक्लिङ गर्छन्। साइक्लिङका थुप्रै समूह बनिसकेका छन् जस्तो कि, पोखरा राइडर, एबिसी, जुनियर साइक्लिस्ट ग्रुप । साइकल चढेर घुम्नुको आनन्द घुम्नेलाई मात्र थाहा हुन्छ। त्यसैले आँखाले ठम्याउन्जेल र खुट्टाले प्याडल चलाउन्जेल हामी साइकल चलाइरहनेछौं। अहिले म ६९ वर्षको भएँ। साथी राजन गुरुङ ७० वर्षका भए। हामी दुवैको एउटा सपना छ, हामी हाम्रो ८४ पूजामा साइकलै चढेर देवालय दर्शन गर्न सकौं।
आउनुहोस्, सँगै पोखरामा साइकल चलाऔं।
(पोखरामा बसेर सामाजिक कामको अगुवाई गर्दै आएका समाजसेवी थापा बरिष्ठ साइक्लिस्ट हुन्।)