सोलुखुम्बु। पर्यटकको प्रमुख मौसम सुरु भएसँगै सोलुखुम्बुको खुम्बु क्षेत्र पर्यटकले खचाखच भरिएको छ। सगरमाथा क्षेत्रको प्रवेशद्वार लुक्ला विमानस्थलमा एकैदिन करिब दुई सय उडान भरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाबाट जानकारी प्राप्त भएको छ ।
सगरमाथा आधार शिविर पदयात्रा गर्न आएका पर्यटकले खुम्बु क्षेत्र यति खेर भरिभराउ रहेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका जानकारी गराएका छन । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका थिए । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।
हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको मौसम सुरु भएकाले उडान संख्या अझै बढ्न सक्ने उनले बताए । काठमाडौँ र रामेछापको मन्थलीबाट उडान भरेका प्रायस् विमान लुक्लाबाट भने रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको एयरलाइन्सले बताएका छन ।
पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको छन । पर्यटन व्यवासायी र र होटल सञ्चालकहरुलाई यतिखेर पर्यटकलाई सेवा दिन तल्लिन छन ।
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए ।
२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको हो । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले राससलाई बताए ।