काठमाडौं। विश्व पर्यटन दिवसका अबसरमा २७ सेप्टेम्बरका दिन पोखरामा ‘दि हिमालयज’ नामक फोटो पुस्तक सार्बजनिक गरेका रुसी फोटोग्राफर युरी रोडिचेभ बुधबार काठमाडौंमा सम्मानित भएका छन्। उनलाई पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले ‘नेपालको पर्यटन दूत’ उपमासहित सम्मान गरेको हो।
पछिल्लो २१ वर्षमा ३२ पटक नेपाल भ्रमण गरिसकेका रोडिचेभले रुसका विभिन्न सहरमा १८१ पटक नेपालका पर्यटकीय तस्बिरहरू प्रदर्शनी गरिसकेका छन्।
भर्खरै ‘दि हिमालयज’ नामक फोटो पुस्तक सार्बजनिक गरेका रुसी फोटोग्राफर युरी रोडिचेभले रुसका विभिन्न सहरमा १८१ पटक नेपालका पर्यटकीय तस्बिरहरू प्रदर्शनी गरिसकेका छन्।
‘उहाँले नेपाल प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउनु भएको छ’, कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले भने, ‘त्यसैले हामीले सम्मान गरेका हौं।’
ठमेलको होटल होली हिमालयमा आयोजक संस्थाका सदस्य एवम् वातावरणविद् देबेन्द्र बस्न्यातले फोटोग्राफर रोडिचेभलाई सम्मानपत्र अर्पण गरेका थिए। कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष ज्योति अधिकारी, टानका पूर्व महासचिव कर्ण लामा र पर्यटन पत्रकार अमृत भादगाउँलेले रोडिचेभ जस्ता नेपालप्रेमीलाई नेपाल सरकारले नै सम्मान गर्नुपर्नेमा जोड दिए।
याे पनि: नेपाली हिमालयको सौन्दर्य समेटिएको रुसी फोटोग्राफरको पुस्तक सार्वजनिक
‘नेपाल पर्यटन बोर्डले काम न काजका मान्छेलाई पर्यटन दूत नियुक्त गर्छ’, टानका पूर्व अध्यक्ष ज्योति अधिकारी भन्छन्, ‘तर बोर्डले युरीजस्ता नेपाल प्रवद्र्धन गर्ने विदेशीलाई वास्ता गर्दैन। दुःख यसमै छ।’
त्रिसठ्ठी वर्षको उमेरमा पहिलो पटक नेपाल आएका रोडिचेभलाई नेपालले मोहनी लगाएको छ। उनले नेपालका विभिन्न ठाउँमा पदयात्रा गरेका छन् भने विभिन्न हिमचुली समेत आरोहण गरिसकेका छन्।
१४ वर्षकै उमेरदेखि फोटोग्राफीमा लागेका युरीले तस्बिर खिच्न निकै सङ्घर्ष गरेका छन्। उनी जीवनसाथी आनासँगै नेपाल घुम्छन्। ‘दि हिमालयज् पुस्तक अब रुसी भाषामा पनि प्रकाशन गर्नेछौं’, युरीले भने, ‘यो पुस्तक प्रकाशन गर्न पाउँदा म ज्यादै खुसी भएको छु।’
बुक्स हिमालयले प्रकाशन गरेको १८४ पृष्ठको पुस्तकको मूल्य ३५ सय रुपैयाँ राखिएको छ।