काठमाडौं। सगरमाथा संसारकै उत्कृष्ट पदयात्रा गन्तव्य। हिमाली सौन्दर्य, शेर्पा संस्कृति र जैविक विविधता यहाँका आकर्षण। सगरमाथा निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ।
कोभिड–१९ अगाडी बर्सेनी ६० हजारभन्दा बढी पर्यटक सगरमाथा पदयात्रामा जान्थे। संसारभरका पदयात्रीका लागि सगरमाथा जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य हो।
वि.सं. २०७४ देखि सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले पदयात्रीसँग पर्यटक शुल्क उठाउन थालेको छ। आज उसले चीन र सार्क राष्ट्रका पर्यटकसँग २ हजार रुपैयाँ लिन्छ। अन्य देशका पर्यटकले भने ३ हजार रुपैयाँ तिर्नुपर्छ। लुक्ला र जोरसल्लेमा रहेका कार्यालयमा रकम तिरेपछि ‘ ट्रेक कार्ड’ पाइन्छ।
नेपालका पदमार्गमा जाने पर्यटकसँग नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) का नाममा शुल्क उठाउँदै आएका छन्। सगरमाथा क्षेत्रमा भने टिम्स चेक पोस्ट छैन। स्थानीय गाउँपालिकाले टिम्स खारेज गरिदिएको छ।
‘टिम्सबाट उठेको रकम सदुपयोग भएन। त्यसैले सङ्घीयताको मूल मर्मअनुसार हामी आफैंले पर्यटन शुल्क उठाएका हौं’, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा भन्छन्, ‘पर्यटकबाट उठेको रकम पर्यटन व्यवस्थापन, पर्यटकको सुरक्षा र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आएका छौं।’
पर्यटन मजदुरका हितमा गाउँपालिकाले लुक्लामा क्लोदिङ बैंक सञ्चालन गरेको छ। त्यसैगरी गोरखसेप र गोक्योमा पोर्टर हाउस निर्माण गरेको छ, जहाँ निःशुल्क बास र सहुलियत दरमा खाना पाइन्छ। चाँडै लोबुचे र आइल्यान्ड बेस क्याम्पमा पनि पोर्टर सेल्टर बनाइने शेर्पा बताउँछन्।
‘मजदुर साथीहरू पर्यटनका ब्याकबोन हुन्’, उनी भन्छन्, ‘उहाँहरूको बीमा गर्ने दायित्व टे«किङ कम्पनीहरूको हो।’
हाइ अल्टिच्युडमा भरियालाई २५ किलोभन्दा बढी तौल बोकाउन पाइँदैन। ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) र नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) बिचको सम्झौताअनुसार भरियाले दिनको २४ सय रुपैयाँ पारिश्रमिक पाउनु पर्दछ।
‘कतिपय कम्पनीले तोकिएअनुसार मजदुर साथीहरूलाई पारिश्रमिक दिएका छैनन्’, शेर्पा भन्छन्, ‘हामी त्यसको पनि अनुगमन गरेर सम्झौता पूर्ण रुपमा लागु गराउन पहल गर्नेछौं।’
कोभिडपछि सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटक बढ्दै गएका छन्। ‘आन्तरिक पर्यटक बढ्नु खुसीको कुरा हो’, उनी भन्छन्, ‘हामी लुक्लासम्म सडक सञ्जाल जोड्दैछौं। त्यसपछि सजिलो हुनेछ।’ सगरमाथा क्षेत्रको पर्यटनका विषयमा एभरेस्ट पेडियाले खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पासँग भिडियो कुराकानी गरेको छ।