काठमाडौं। साहित्यकार बखत बहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ लोकार्पण भएको छ।
काठमाडौंको संवाद डबलीमा शनिबार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही,सभासद रिता शाही, सांसद प्रतिमा गौतम, समिक्षक राजकुमार बानिया, संकर तिवारी, सुमन वर्षा लगायतले लोकार्पँण गरेका हुन्। तेस्रो साहित्यीक कृति ‘भ्या’ को लोकर्पण गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री जीवन शाहीले कर्णाली हरेक हिसाबले धनी रहेको बताएका छन्।
कर्णालीको वास्तविक रुप उपन्यासमा चित्रण भएको यो ऐतिहासिक कृति रहेको शाहीले बताए। समिक्षक राजकुमार बानियाले उपन्यास गैर आख्यान जस्तो प्रमाणित हुम्ला र कार्णालीको समाजलाई बुझ्न सघाउने बताए।
समिक्षक सुमन वर्षाले सो पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाहरुको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताईन्।
याे पनि: पाठकहरूलाई बखतको दसैं उपहार ‘भ्या’
समिक्षक संकर तिवारिले सो उपन्यासले हुम्लाको भाषा र संस्कृतिक पक्षलाई उजागर गरेको र सबैले अध्ययन पश्चात कर्णालीको वास्तविक समाज बुझ्न सघाउ पुग्ने बताए।
लेखक बखतबहादुर शाहीले पुरानो धर्म, संस्कार र संस्कृतिले समाजलाई नैतिकवान बनाउने कडि रहेको बताउँदै, कर्णालीवासीहरु अन्य भन्दा नैतिकवान हुने जिकिर गरे। शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मुल्य ५२५ रहेको छ।
सो लोकार्पँण समारोहमा रिता शाही, प्रतिमा गौतम, मनोजमाणी आचार्यले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन मोतिराज बमले गरेका थिए।