चट्टाने पहराको गुफामा कालो शिला। शिलामा दुधका धारा। तल नागबेली तादी नदि। नदि किनारमा खेतका हरिया फाँटहरू। नजिकै हरिया डाँडा पनि। मन्दिर क्षेत्रमा बौद्धमार्गीका पवित्र मन्त्र लेखिएका धज्र्यू र लुङ्दार फर्फराइरहेका। दुप्चेश्वर गाउँपालिका–६, नुवाकोटमा बसेका छन्, दुप्चेश्वर महादेव।
दुप्चेश्वरलाई दुध चढाउने चलन छ। किंबदन्तीअनुसार एकजना गाउँलेको दुहुनो गाई हरायो। खोज्दै जाँदा एउटा शिलामाथि त्यसले आफ्ना चारवटै थुनबाट दुध चढाइरहेको भेटियो। त्यसपछि त्यो शिलालाई पूज्न थालियो।
यिनको पुरानो नाम ‘दुधेश्वर’ भएको स्थानीय बुढापाका बताउँछन्। समयक्रममा अपभ्रंस हुँदै जाँदा ‘दुप्चेश्वर’ भनिएको।
हरेक वर्ष धान्य पूर्णिमा (मंङ्सिर वा पुस) का बेला यहाँ ठुलो मेला लाग्छ। त्यसबाहेक शिवरात्री, साउने सोमबार, जनैपूर्णिमा, तिज, बालाचतुर्दशी, ऋषि पञ्चमी लगायतका पर्वमा मेला लाग्छ।
यहाँ आध्यात्मीक वातावरण त छँदैछ, प्राकृतिक रुपमा समेत मनोरम छ। गोसाइँकुण्ड क्षेत्रको सूर्यकुण्डबाट बगेर आएको कञ्चन तादी नदीको पानी। हरिया खेतीबाली। वरपरका ग्रामीण जीवनशैली। आकर्षक छ, दुप्चेश्वरको वातावरण।
यतिबेला दुप्चेश्वर यात्रा धेरै रमाइलो हुन्छ। लिखुखोला र तादीखोला किनारमा झुलेका धान बाली हेर्दै यात्रा गर्न पाइन्छ।
तादी नदीमाथि झोलुङे् पुल तरेर घुमाउरो सिँढी करिब ५ मिनेट चढेमा मन्दिरमा पुगिन्छ। मन्दिर हाताको भजनकिर्तनस्थलबाटै जुत्ता खोलेर ढुङ्गे सिँढी चढ्नु पर्ने नियम छ। चिसो ढुङ्गामा टेक्दै हिड्दा सितलताको अनुभुति हुन्छ। अझ मनसुनमा माथि चट्टानबाट झरिरहेको पानीले वातावरण नै शितल बनाएको हुन्छ। तर बाटो कतैकतै चिप्लो भएकाले होसपूर्वक हिँड्नु पर्छ।
दुप्चेश्वर बसपार्क क्षेत्र देखिनै फूलप्रसाद बेच्ने पसल, खाजाघर, होटल र होमस्टे सुबिधा छ।
कसरी पुग्ने ?
गाडीमार्ग
काठमाडौंको सामाखुसी चोकबाट टोखा–छहरे सडक खण्डको लिखुखोला पुलसम्म ३५ किलोमिटर। त्यहाँबाट २५ किलोमिटरमा दुप्चेश्वर बसपार्क। गाडीमा ४ घन्टा। बसपार्कबाट करिब १० मिनेट हिँडेमा मन्दिर।
गाडी बाटो अधिकांश राम्रो छ। कतैकतै मात्र अप्ठेरो छ।
पदयात्रा गर्ने हो भने
पदमार्ग
काठमाडौंको सामाखुसीबाट लिखुखोला पुल हुँदै दुप्चेश्वर गाउँपालिकाको प्रवेश द्वारसम्म ५६ किलोमिटर गाडीमा।
गाउँपालिकाको प्रवेशद्वारबाट दुप्चेश्वर बसपार्क हुँदै मन्दिरसम्म ५ किलोमिटर पदयात्रा।
फर्कंदा गएकै बाटो फर्कने।
पदयात्रा दुरी: १० किलोमिटर .
समय: ४ घन्टा
नोटः गाडीमार्ग लामो भएकाले पदयात्रा गर्दा समय ख्याल गरेर हिँड्ने। काठमाडौंको माछापोखरीबाट दुप्चेश्वरका लागि हरेक बिहान ६ बजे गाडी छुट्छ।
थप तस्बिरहरु: