काठमाडौं। कर्णाली प्रदेशको हुम्लामा जन्मेहुर्केका साहित्यकार बखतबहादुर शाही जन्मथलोका विषयवस्तुलाई आफ्ना सिर्जनामा पस्किन रुचाउँछन्। उनी कथा र उपन्यास लेख्छन्।
उनले पहिलो कृति ‘लुटिएको माया’ कथासङ्ग्रहमा सामाजिक विषयवस्तु उठान गरेका छन्। त्यसैगरि पहिलो उपन्यास ‘छोट्टी’मा छाउपडी प्रथाको सन्दर्भ छ। भर्खरै उनी दोस्रो उपन्यास ‘भ्या’ लिएर पाठकमाझ आइपुगेका छन्।
केही वर्षपहिले छाउपडी प्रथाका विषयमा लेखिएको उपन्यास ‘छोट्टी’ पाठकलाई समर्पण गरेका हुम्लाका बखतबहादुर शाहीले दसैंको मुखमा नयाँ कोसेली ल्याएका छन्, ‘भ्या’ ।
‘भ्या’को अर्थ हो, विवाह। यसमा अनौठो हुम्ली विवाह संस्कृति उजागर गरिएको छ। हुम्लामा ‘देशको ऐन भन्दा खोलाको चैन ठुलो’ भन्ने भनाई छ। त्यसैले समाजका अगुवा धामीको निर्देशनअनुसार समाज चल्छ। धामीको निर्णय समाजका सबैले मान्छन्। उनीहरूका बिरुद्धमा कोही जान सक्दैन।
‘उपन्यासका पात्रले बिद्रोह गर्न खोजेको छ’, उपन्यासकार शाही भन्छन्, ‘परम्परा र संस्कृतिका बलियो बन्धनका कारण बिद्रोह सफल हुन सकेको छैन।’
यसमा हुम्लाको संस्कृति, धार्मिक परिवेश र जीवनशैलीको सुवास पाइन्छ। हुम्ला देवपुरी हो। यहाँ धामी, मस्टो आदिलाई मानिन्छ। यस कृतिमा कर्णालीमा पूजिने बाह्र भाइ मस्टो, भान्जा लवासुरको बारेमा वर्णन गरिएको छ। ‘हुम्लाको संस्कृति र समाज उजागर गर्ने प्रयास गरेको छु’, उनले भने, ‘यसले पाठकलाई नयाँ स्वाद दिनेछ।’ काठमाडौंको शिखा बुक्सले प्रकाशन गरेको ‘भ्या’ असोज १२ गते काठमाडौंमा लोकार्पण हुँदैछ। यसको मूल्य ५२५ रुपैयाँ राखिएको छ।