काठमाडाैं। नेपाल एडभेन्चर एक्स्पो २०२४ को दोस्रो संस्करण आयोजना हुने भएको छ। पहिलो संस्करणको सफलता पछि, एआर भेन्चर्सले यो कार्यक्रम सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा आयोजना गर्दैछ। कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले यो जानकारी दिएका छन्।
नेपाल पर्यटन बोर्डले यस कार्यक्रमलाई सहकार्य र प्रवर्द्धन गर्नेछ। साथै, क्लासिटेक इन्टरनेट पार्टनर, अरण्य बुटिक होटल भेन्यु पार्टनर, र सत्य मिडिया कोलेभोरेटिभ डिजाइन पार्टनरको रूपमा सहभागी छन्।
गत वर्ष दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक सम्पन्न भएको पहिलो संस्करणको अनुभवलाई आधार मानेर यो दोस्रो संस्करण आयोजना गरिएको हो। यसको मुख्य उद्देश्य नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवर्द्धन, पदयात्रा, ट्रेकिङ, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूको प्रचार-प्रसार गर्नु हो।
आयोजकहरूले यस पटक दुई हजार पाँच सय भन्दा बढी आगन्तुकहरूलाई स्वागत गर्ने योजना बनाएका छन्। एक्स्पोमा ५० देखि १०० वटासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका स्टलहरू राखिने छन्। यसले विभिन्न ब्राण्डहरूलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने र बजार अन्वेषण गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूबाट अनुभव साटासाट, यात्रा सम्बन्धी कार्यशाला र साहसिक पर्यटन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने अजय नरसिंह राणाले बताए। दशैं र तिहारको बिदासँगै धेरै नेपालीहरू साहसिक गतिविधिहरूमा संलग्न हुन थालेका छन्, र यो एक्स्पोले उनीहरूलाई आवश्यक सामग्री र जानकारी एकै स्थानमा उपलब्ध गराउने छ।