वन र भिरका बीचमा दुइटा झरना। सानो छहरे झरना र ठुलो छहरे झरना। यी झरना करिब तीन सय मिटर दुरीमा छन्। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, मा तीनतले सानो छहरे झरना छ। त्यसैगरी शिवपुरी गाउँपालिका–८ र ककनी गाउँपालिका–५ को सीमामा ठुलो छहरे (लौके) झरना छ। झलक्क हेर्दा लौका आकारको देखिने भएकाले अचेल लौके झरना पनि भनिन्छ।
दुबै झरनाको उचाई ७० मिटर छ। छहरे खोलाबाट बगेको पानीबाट बनेका झरना। ठुलो छहरे झरना मुन्तिर दोभानमा पुगेर दुबै झरनाको पानी मिसिन्छ। र, छहरे खोलाकै रुपमा अगाडि बग्छ। अनि तल पुगेर लिखु खोलामा मिसिन्छ ।
झरनामा इन्द्रेनी देखिन्छ। यहाँ वर्षैभरी पानी हुन्छ। मनसुनमा बढी राम्रो देखिन्छ। मंसिरदेखि गाउँघरमा खेतबारीमा सिंचाई गर्न छहरे खोलाको पानी लगिने भएकाले झरनामा पानी थोरै हुन्छ।
काठमाडौं, विदुर र बट्टारतिर बसोबास गर्नेहरूको गर्मी छल्ने जक्सनका रुपमा छहरे झरना चर्चित छ। झरना नजिक पुग्दा शितल हुन्छ।
यति मात्र होइन, झरना पदमार्गबाट हिमाली सृङ्खला अवलोकन गर्न पाइन्छ । गणेश हिमाल सृङ्खला। चराको चिरबिर सुन्दै हिँड्दा जङ्गली जनाबरसँग जम्काभेट हुन सक्छ। झरना क्षेत्रबाट छहरे, लिखुखोला, कपिलेश्वर, शिवपुरी राष्ट्रिय निकुञ्ज, सुइरेचौर, ककनी आदिका दृश्यावलोकन गर्न पाइन्छ।
दुबै झरनामा साहसिक खेल क्यानोनिङको सम्भावना उजागर गरिएको छ। नेपाल क्यानोनिङ एसोसियसनले क्यानोनिङ एक्सप्लोर गरेको हो। झरना जक्सनबाट झरनासम्म ढुङ्गे सिँढीको पदमार्ग बनाइएको छ। यहाँ विश्राम घर पनि बनाइएको छ। झरना क्षेत्रको विकासका लागि ‘छहरे झरना पर्यापर्यटन प्रर्वधन संस्था’ गठन गरिएको छ।
झरना नजिकै ककनी पट्टी सिम्ले गाउँ छ। त्यसैगरी वारीपट्टी थानापति गाउँ छ। झरना वरपरका गाउँमा तामाङ, लामा र ब्राम्हण समुदायको बसोबास छ। गाउँको बिचमा रहेको थानापति देवीको मन्दिरमा मंसिरे पूर्णिमाका दिन मेला लाग्छ। मनसुनमा झरना क्षेत्रमा खाजा पसल हुन्छन्। स्थानीयले थानापति एड्भेन्चर हिल्स प्रा.लि. दर्ता गरेर झरना नजिकै रेस्टुराँ चलाएका छन्। यहाँ खाना र खाजा पाइन्छ। शनिबार लगायत बिदाका दिनमा यहाँ ठुलो भिड लाग्छ।
यही रमणिय क्षेत्रमा प्रकृति प्रेमी समूहले २०८१ भदौ २९ गते शनिबार हाइकिङ गराएको थियो। हामी पदयात्रीहरू संस्थाको सातदोबाटोस्थित कार्यालय निरोगधामबाट गाडीमा गुर्जेभन्ज्याङसम्म पुगेका थियौं। त्यहाँबाट पदयात्रा सुरु भएको थियो।
हामी सुइरेचौर (सूर्यचौर), बुद्धपार्क, थानापति, सानीपिपल हुँदै झरनामा पुगेका थियौं। झरना पुग्नु अगाडि थानापति एड्भेन्चर हिल्स प्रा.लि.को रेस्टुराँमा खाना खायौं। खानामा गाउँको लोकल तरकारी र सलाद मिलाएर खायौं। खानापछि झरना अवलोकन गरेर हामी टोखा–छहरे–सडक खण्डको घट्टेखोलासम्म हिँड्यौं। यसरी हामीले करिब १९ किलोमिटर पदयात्रा ग¥यौं। त्यहाँबाट गाडीमा फर्केका थियौं।
प्रकृति प्रेमी समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार पदयात्रा गराउँदै आएको छ। अर्को पदयात्रा फरक ठाउँमा हुनेछ। पदयात्रामा सबैलाई स्वागत छ।
आफ्नो स्वास्थ्य आफ्नै हातमा
देशको भाग्य सबैको हातमा !
कसरी पुग्ने ?
मार्ग १
गाडी: ललितपुरको सातदोबाटोबाट गुर्जे भन्ज्याङसम्म २५ किलोमिटर ।
समय: १.५ घन्टा ।
पदमार्ग: गुर्जे भन्ज्याङबाट सूर्यचौर २ किलोमिटर। सूर्यचौरबाट थानापति मन्दिर ९ किलोमिटर। थानापतिबाट सानीपिपल २ किलोमिटर। सानीपिपलबाट झरना १.५ किलोमिटर। फर्कंदा झरनाबाट गैरीगाउँ हुँदै घट्टेखोलासम्म ४.५ किलोमिटर।
जम्मा दुरी: १९ किलोमिटर (पुरैबाटो ओरालो)
समय: ७ घन्टा
मार्ग २
गाडी : काठमाडौंबाट ककनीसम्म ३० किलोमिटर ।
समयः ३ घन्टा ।
पदमार्ग: ककनीबाट ओरालो जङ्गलको बाटो ९ किलोमिटरमा ठुलो छहरे झरना। झरनाबाट सानीपिपल हुँदै घट्टेखोलासम्म ४.५ किलोमिटर पदयात्रा।
जम्मा दुरी: १३.५ किलोमिटर
समय: ५ घन्टा
मार्ग ३
छोटो दुरी हिँड्न चाहनेलाई
गाडी: ललितपुरको सातदोबाटोेबाट सामाखुसीचोक हुँदै टोखा–छहरे सडक खण्डको घट्टेखोलासम्म ३२ किलोमिटर ।
समय: २.५ घन्टा ।
पदमार्ग: घट्टेखोलाबाट ३ किलोमिटरमा सानीपिपल। सानीपिपलबाट १.५ किलोमिटरमै झरना। मोटरबाइक र जिप झरना नजिकैसम्म पुग्छन्। अफ रोड भएकाले ध्यानपूर्वक चलाउने।
जम्मा दुरी: ९ किमि
समय ३ घन्टा
हामी खाना खुवाउँछौं
हामीले झरना क्षेत्रको विकासका लागि ४ महिनाअघि मात्र छहरे झरना पर्यापर्यटन प्रवद्र्धन संस्था गठन गरेका छौं। पहिलो कुरा, झरना नजिकैसम्मको सडक व्यवस्थित गर्न हामीले सम्बन्धित निकायसँग माग गरेका छौं। त्यसबाहेक यस क्षेत्रमा वृक्षरोपण अभियान चलाएका छौं।
झरना हेर्न आउनेहरूलाई फोहोरमैला नगरिदिनु हुन अनुरोध गर्दछु। यहाँ खाना र खाजा सुबिधा पाइन्छ। हामीले पनि थानापति एड्भेन्चर हिल्स प्रा.लि.बाट रेस्टुराँ सञ्चालन गरेका छौं। यहाँ बास बस्नका लागि कटेज समेत बनाउने योजना छ।
सम्पर्क –९८५१०५२९८९
थप तस्बिरहरु:
(प्रकृति प्रेमी समूहकी सचिव राम देवी महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)