फराकिलो चौर (१,९०० मिटर)। पृष्ठभूमिमा झलमल्ल हिमाल। तलतल बादलुको तलाउ। शितल बतास। छिनछिनमा बदलिरहने मौसम। रमणिय हिलस्टेसन हो, नुवाकोटको सूर्यचौर।
आकाश उघ्रिएका बेला यहाँबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ र दोर्जेलाक्पा सहितका हिमाल आँखै सामुन्ने देखिन्छन्। सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक हुन्छ। मनसुनी याममा भुइँकुहिरो लुकामारी खेलिरहन्छ।
शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सूर्यचौरबाट छहरे फाँट, लिखु खोला र कविलास डाँडाका दृश्य सुन्दर देखिन्छन्। त्यसो त गुर्जे भन्ज्याङबाट पदयात्रा गरेदेखि नै मुस्कुराएको हिमालले स्वागत गर्छन्। गुर्जे भन्ज्याङबाट हिँडेर आधा घण्टामै सूर्यचौर पुगिन्छ। चौरबाट देखिने दृश्यमा जो कोही रमाउँछन्।

काठमाडौंबासीका लागि हिमाल अवलोकन गर्न नजिकको गन्तव्य हो, सूर्यचौर। पिकनिकका लागि समेत चौर प्रख्यात छ। यहाँ एक रात विताएर सूर्योदय, सूर्यास्त र बिहानी दृश्यमा रमाउन सकिन्छ। यहाँबाट ककनी, लौकी झरना र विष्णुद्वारसम्म पदयात्रा गर्न मिल्छ।
सूर्यचौर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. १ मा पर्दछ । यसको पुरानो नाम सुइरेचौर हो । हाइकिङ, साइक्लिङ र बाइकिङका लागि सूर्यचौर उपयुक्त छ। यहाँ खाना र बासका लागि आरामदायी होटल तथा रिसोर्ट खुलेका छन्।
-1726140428.jpg)
कसरी पुग्ने ?
गाडीमार्ग
ललितपुरको सातदोबाटोबाट सामाखुसी चोक हुँदै गुर्जे भन्ज्याङसम्म २५.५ किलोमिटर। गुर्जे भन्ज्याङबाट २.५ किलोमिटरमा सूर्यचौर। सूर्यचौरसम्म कच्ची सडक छ। मोटरबाइक वा जिप सूर्यचौरसम्मै पुग्छ।
समय: १.५ घण्टा
पदमार्ग १
गुर्जेभन्ज्याङ–सूर्यचारै २.५ किलोमिटर। सूर्यचौर–गुरुङ गाउँ–गुर्जेभन्ज्याङ ६ किलोमिटर।
पदयात्रा दूरी ः ८.५ किलोमिटर ।
समय: समय ५ घण्टा। अधिकांश बाटो निकुञ्ज भित्र पर्छ।
पदमार्ग २
टोखा, सपनतिर्थ, झोर ४ किलोमिटर। झोर–गुर्जे भन्ज्याङ–४ किलोमिटर। गुर्जे भन्ज्याङ–सूर्यचौर २.५ किलोमिटर। सूर्यचौर–गुरुङ गाउँ ३ किलोमिटर। गुरुङ गाउँ–गुर्जे भन्ज्याङ ३ किलोमिटर, ठाडो उकालो ।
पदयात्रा दूरी: १६.५ किलोमिटर ।
समय: ६ घण्टा ।
सूर्यचौर नेचर रिट्रिट
राजन सिखंडा,सञ्चालक सूर्यचौर नेचर रिट्रिट
सूर्यचौर डाँडाको २८ रोपनी जमिनमा एउटा रिसोर्ट खुलेको छ, सूर्यचौर नेचर रिट्रिट। पर्यटनमा स्थापित राजन सिंखडा, कमल सापकोटा, जे. बी. सिंह, हेमराज बराल र कृष्ण घिमिरेको साझेदारीमा यो रिसोर्ट खोलिएको हो। यसमा ३५ जना बास बस्न सक्छन्।
सम्पर्कः वकिल–९८६१०६७७९९
















झोर बस्ती ।
