जिरी, चैत २९ | यतिबेला दोलखाका बनपाखा विभिन्न रङका गुराँसले ढकमक्क भएका छन्।
प्राकृतिक सौन्दर्यको धनी दोलखा जिल्लामा ढकमक्क फुलेको गुराँसले झनै शोभा बढाएको छ। गुराँससँग रमाउन चाहनेका लागि दोलखाली वनखापाले स्वागत गरिरहेको छ।
गुराँस फुल्ने यो मध्य मौसम हो। दोलखाको १५ सय मिटरदेखि ४ हजार मिटरको उचाइसम्मका सबैजसो ठाउँहरुमा गुराँस फुल्नेगर्छ । पुस महिनादेखि निम्न पहाडी क्षेत्रबाट फुल्न थाल्ने गुराँसको अहिले मध्य मौसम भएको छ । जिल्लाको माथिल्लो भेगमा जेठ महिनाभरि गुराँसको आतिथ्यसँग रमाउन सकिन्छ ।
नेपालमा पाइने ३२ प्रजातिका गुराँसहरुमध्ये दोलखा जिल्लामा १० भन्दा बढी प्रकारका गुराँसहरु पाइन्छ।
दोलखामा लालीगुराँस, गुराँस, रातो तथा सेतो चिमाल, सुनपाती र भाले सुनपाती आदि गरी १० प्रजातिका गुराँसको पहिचान भएको छ। यहाँ हिजोआज लालीगुराँस सहित विभिन्न रङका गुराँसहरु फुलिरहेका छन् ।
यतिबेला दोलखाको लाकुरीडाँडा, बोच, शैलुङ तथा कालिन्चोक क्षेत्रमा ढकमक्क गुराँस फुलिरहेको छ।
काठमाडौँबाट दोलखा चरिकोट आउने पर्यटकहरुका लागि भीमेश्वर नगरपालिकाको लाकुरीडाँडास्थित हलहले, झिँगाने लगायतका जङ्गलमा ढकमक्क फुलेका विभिन्न रङका गुराँस फूलले स्वागत गरिरहे जस्तो लाग्छ।
भर्खरै फुल्न सुरु भएको गुराँस र चिमालले यो क्षेत्रमा जेठ महिनाभरि नै स्वागत गर्छ।
त्यसैगरी नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने जिरीसम्म पुग्ने पर्यटकहरुका लागि खावा तथा कलङको जङ्गलमा ढकमक्क गुराँसको न्यानो स्वागत देख्न सकिन्छ।

























