काठमाडौं । राष्ट्रिय लाखे नाच प्रदर्शनीका अबसरमा भदौ १४ र १५ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–९, मच्छेगाउँमा मुलुकका ३६ वटा समूहले आआफ्नो कला पस्केका छन्। नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौँ’ भन्ने नाराका साथ प्रदर्शनी गरिएको हो।
मौलिक कला, संस्कृति र पहिचानका बारेमा अवगत गराउने उद्धेश्यले युवाहरूका बीचमा परम्परागत लाखे संस्कृति अनुभव गराउनु प्रदर्शनीको मुख्य उद्देश्य हो।
‘आजका युवा पुरानो संस्कृति भुल्दै गइरहेका छन्। उनीहरू आधुनिक संस्कृतिप्रति ढल्किरहेका छन्। उनीहरूलाई मौलिक स्वाद चखाउन प्रदर्शनी गरिएको हो’, आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले भने, ‘यसबाट युवामा संस्कृतिप्रेम बढ्ने विश्वास गरिएको छ।’
यस्ता कार्यक्रमले परापूर्वकालदेखि पुर्खाले संरक्षण गरेका चाडपर्व, जात्रा तथा बाजागाजाप्रति मोह जगाउने काम गर्दछ।
मौलिक कला र संस्कृतिलाई नेपालमा मात्रै नभएर संसारभर चिनाउन र त्यसको महत्व झल्काउनका लागि यस लाखे नाच प्रदर्शनीले ठूलो भूमिका खेल्ने आयोजकको विश्वास छ। प्रदर्शनीमा देशभरका ३६ वटा समूहको बाजागाजासहित लाखे नाचको उत्साहपूर्ण सहभागिता थियो।
कार्यक्रममा लाखे नाचमा सहभागी कलाकारका साथै विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरूको सम्मान गरिएको थियो। प्रदर्शनीका सहभागीलाई खाना र बासको व्यवस्था मिलाइएको थियो।
नेपाल साँस्कृतिक कला मन्दिरले आफ्नो स्थापनाकाल वि.सं. २०५८ सालदेखि नै मौलिक कलासंस्कृति संरक्षणका काम गर्दै आएको छ।
प्रदर्शनीमा इन्द्रपुर नेवाः पुच, सुन्दरहरैचा, झिगु नेवा पुच गाइघाट, झिगु नेवा पुच उप समिति राजावास, धापासी व्यांचुली बाँसुरी पुचः धापासी, शाही बाजा खल सतुङ्गल, सिद्धिविनायक चेकपोस्ट, इन्द्रेणी डफा खल, खड्गी बाजो खल, गाम्चा धिमे खल, सिर बाजा खल, नव प्रभाव कला केन्द्र, किपुल्चा लाखे, झुम्का, तिमिला समूह, खड्गी लाखे थानकोट, शोनितपुर लाखे थानकोट, धादिङ लाखे खल, धादिङ लगायतले सहभागी जनाएका थिए।
त्यस्तै सुनाकोठी, चापागाउँ, बज्रबाराही, दोलखा, धरान, चरिकोट, नुवाकोट, भोजपुर, खोटाङ, इटहरी, पाल्पा, धरान, जिरी, कीर्तिपुर, पाँगा, जाखा, लुङ्कोट १, लुङ्कोट २ का समूह सहभागी थिए।