झलक्क हेर्दा कपालको केशराशी फिँजिएजस्तो। सेताम्मे जलधारा। शिरमा साँघुरो, बीचमा फराकिलो र पिँधमा खुम्चिएर बगेको। करिब तीन सय मिटर अग्लो झरना। निकै मनमोहक छ, काभ्रेको तीनधारे झरना ।

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं २, काफलडाँडा गाउँ नजिकै पर्दछ तीनधारे। महाभारत पर्वत सृङ्खलाको भुरुङे लेकबाट तीनवटा धारा भएर बगेकाले तीनधारा झरना भनिएको। जनबोलीमा ‘तीनधारे’ भनिन्छ।
झरनाको फेदमा तलाउ छ। तलाउ र झरनामा मान्छेहरूले नुहाएको देखिन्छ। लेकबाट झरेको कञ्चन चिसो पानीमा नुहाउँदा छाला सम्बन्धी समस्याहरू निको हुने जनविश्वास छ। त्यसैले यहाँ ‘वाटर थेरापी’ गरिन्छ।

पानी बग्ने चट्टान कलात्मक देखिन्छ। यहाँ विभिन्न आकृति छन्। झरना वरपर जङ्गल छ, जहाँ चराको चिरबिर सुनिन्छ।झरनामा पर्यटकको सुरक्षाका लागि स्टिलको बार बारिएको छ। नजिकै कपडा फेर्न कोठा पनि बनाइएको छ।
झरनाको प्रवद्र्धनमा सामाजिक सञ्जालको ठुलो योगदान छ। लकडाउनपछि यहाँ चहलपहल हुन थालेको स्थानीय बताउँछन्। पहिलापहिला काभ्रेलीका बीचमा मात्र चर्चित झरनामा रमाउन अचेल काठमाडौंदेखिका युवा आउँछन्।तीनधारे झरनाको पूर्वमा अरु दुइटा रानी झरना र महाभिर झरना पनि छन्। पूर्वाधार विकास गरेर तिनको पनि प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ। महाभिर झरनालाई तामाङ भाषामा ‘क्विजाङ’ भनिन्छ।

तीनधारेको यात्रा रोमाञ्चक हुन्छ। काभ्रेको नमोबुद्ध, दाप्चा, रोशीखोला, पिपलटार, नारायणटार, भुसुने, काफलडाँडा लगायतका बस्ती हेर्दै यात्रा गर्न पाइन्छ। चारैतिर हरियाली देखिन्छ। खेतबारीमा लहलह झुलेका बालीले लोभ्याउँछ।झरना नजिकैको बस्ती काफलडाँडामा मगर समुदायको बसोबास छ। गाउँबाट करिब डेढ किलोमिटर दुरीमा पर्दछ तीनधारे झरना। काफलडाँडा करिब १८ सय मिटर उचाईमा छ भने झरना चाहिँ करिब १६५० मिटरमा। विशेषतः मनसुनका बेला शनिबार लगायत बिदाका दिनमा यहाँ चहलपहल बढ्छ।

हाइकिङविज्ञ रामदेवी महर्जन।
पर्यटकको खाना र बासका लागि काफलडाँडामा खाजाघर र होमस्टे सुबिधा छ। नारायणटार, चण्डीबेसी, फलामे साँघुदेखि नै होमस्टे तथा खाजाघर खुलेका छन्। रात बस्ने गरी यात्रा योजना बनाउँदा होमस्टे सञ्चालकलाई पहिल्यै बुकिङ गरेर जाँदा सजिलो हुन्छ।
गाउँमा सिजनअनुसार तरकारी र फलफुल किन्न पाइन्छ। यतिबेला भने काँक्रो, करेला, च्याउ, फर्सी, फर्सीका मुन्टालगायत पाइन्छ।

योग गुरु तेजराम महर्जन।
कसरी पुग्ने ?
गाडी मार्ग - काठमाडौंबाट भक्तपुर हुँदै धुलिखेल ३० किलोमिटर। धुलिखेलबाट बी.पी. राजमार्गको काभ्रे भञ्ज्याङबाट नमोबुद्ध, दाप्चा हुँदै रोशी खोला पुल तरेर उकालो लागेपछि काफलडाँडा पुगिन्छ। धुलिखेलबाट दाप्चा २० किलोमिटर। दाप्चाबाट काफलडाँडा १५ किलोमिटर। दाप्चाबाट काफलडाँडा सम्मको पुरै बाटो अफ रोड छ।
दाप्चाबाट काफलडाँडा जाने दुइटा बाटा छन्, एउटा दाप्चाको पुरानो बजारबाट नेपाने भञ्ज्याङ, गहते, नारायणटार हुँदै काफलडाँडा पुग्ने। अर्को दाप्चाको बुढा भिमसेनबाट ओरालो झरेर, पिपलटार, फलामेसाँघु, नारायणटार हुँदै काफलडाँडा।
धुलिखेलबाट ३५ किलोमिटरमा काफलडाँडा । दाप्चाबाट काफलडाँडा सम्म सडक कच्ची छ। फोरव्हिल जिप र मोटरबाइक काफलडाँडा सम्मै जान्छ। तर कच्ची बाटो भएको हुनाले गाडी तथा मोटरबाइक चलाउँदा ध्यान पुर्वक चलाउन पर्छ। तीन किलोमिटर वर भुसुने चौतारासम्म मिनिबस पनि लान सकिन्छ।
काफलडाँडाबाट १.५ किलोमिटरमा झरना। गाउँबाट करिब २५ मिनेट ओरालो पदयात्रामा झरनामा पुगिन्छ। पदमार्ग रमणीय छ। सामान्यत तिनधारे झरना १ रात बास बसेर गर्नु उपयुक्त हुन्छ।
-1725261850.jpg)
पदयात्रा गर्ने हो भने
गाडी: काठमाडौंबाट भुसुने चौतारासम्म ६२ किलोमिटर करिब ३.५ घन्टा गाडीमा।
पदयात्र: भुसुने चौताराबाट ३ किलोमिटर ठाडो उकालो हिँडेपछि काफलडाँडा पुगिन्छ। काफलडाँडाबाट १.५ किलोमिटर पदयात्रामा झरना।
जम्मा पदयात्रा दूरी: ९ किलोमिटर
समयः करिब ५ घण्टा। बाटो पुरै ठाडै उकालो र ओरालो पर्दछ ।
ध्यान दिनुपर्ने कुरा: पदयात्रा गन्तव्य लामो दुरीको भएको हुनाले बिहान सबेरै निस्कने। पदयात्रा गर्दा समयको ख्याल गरेर हिड्ने नभए बेलुकी ढिलो हुन्छ।
पदयात्रा गर्न उपयुक्त समय: सामान्यत झरना पदयात्रा मनसुनमै उपयुक्त हुन्छ। अरुबेलामा झरनामा पानी कम हुन्छ। मनसुनमा स- साना झरना पनि मनमोहक देखिन्छन्। तर मनसुनमा पानी परेर बाटो चिप्लो हुने, पैरो जाने, बाटो बिग्रने भएकाले जानू अगाडि बाटोको अवस्था राम्रो बुझेर मात्र यात्रा गर्ने। जादा सावधानी अपनाउने। समयको राम्रो ख्याल राख्ने ।

होमस्टेमा सस्तो प्याकेज

प्रवेश मगर
सञ्चालक, तीनधारा खाना तथा खाजा घर, काफलडाँडा
लकडाउनदेखि घुमन्तेहरू तीनधारे झरनामा आउन थालेका हुन्। हाम्रो परिवारले यहाँ होमस्टे चलाएको तीन वर्ष भयो। हामी १२ सय रुपैयाँको प्याकेजमा बेड, डिनर र ब्रेकफास्ट सुबिधा दिन्छौं। हाम्रोमा ३६ जनासम्म बास बस्न सक्छन्।
म एक वर्ष मलेसियामा बसेर फर्केको हुँ। आफ्नै ठाउँमा केही हुन्छ कि भनेर होमस्टे चलाएको छु। यहाँ बास नबस्नेहरूका लागि खाना र खाजा मात्र पनि खुवाउँछौं। मनुसनका बेलामा बाटो बिग्रन सक्छ, त्यसैले राम्रोसँग बुझेर र पहिल्यै खबर गरेर आउनुस् है ।
सम्पर्क: ९८६६२८७५८०

सुझाब
- होहल्ला नगर्ने। शान्त भएर हिँड्ने। सुरक्षित ठाउँमा उभिएर झरना अवलोकन गर्ने।
- फोटो खिच्दा ध्यान पु¥याउने। देख्नेलाई अप्ठेरो हुने किसिमले नुहाउने वा तस्बिर खिच्ने काम नर्गर्ने।
- मनसुनमा गोरेटो चिप्लो हुन्छ, ख्याल गरेर हिँड्ने। छाता वा बर्सादी अनिबार्य बोक्ने।
- मोटर वा मोटरबाइक ध्यानपूर्वक चलाउने। आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुन प्रेरित गर्ने।
- झोलामा दुई लिटर पिउने पानी बोकेर यात्रा गर्ने। बेलाबेलामा पानी पिउँदै हिँड्ने।
- खाना तथा बासका लागि होमस्टे वा खाजाघरमा पहिल्यै बुकिङ गर्ने।
- फर्कंदा स्थानीय उत्पादन किनेर ल्याउने। यसबाट गाउँलेलाई फाइदा पुग्छ।
- दाप्चादेखि काफलडाँडासम्म ठाउँठाउँमा तीनधारे झरनाको संकेत बोर्ड राखिदिँदा पर्यटकलाई धेरै सुबिधा हुन्छ।

नमोबुद्ध



दाप्चामा भजन

दाप्चा

दाप्चा बुढा भिमसेन




पिपलटार





राेशी खाेला


काफ्लडाँडा

काफलडाँडा





नारायणटार

गहते गाउँ

गहतेकाे शिरमा गुरु रिम्पाेचे
