डोल्पा जिल्लाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्दछ फोक्सुन्डो ताल। छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल । बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा सजिन्छ। काञ्जिरोवा हिमालको काखमा शे–फोक्सुन्डो गाउँपालिका–८, मा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ। यसको अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर। ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ।
फोक्सुन्डोमा वर्षैभरि घुमफिर गर्न सकिन्छ। हरेक मौसमको सौन्दर्य फरकफरक हुन्छ। मनसुनमा चारैतिर हरियाली र भुइँफुल हुन्छ। प्राकृतिक फूलको बगैंचामा रमाउन पाइन्छ।
फोक्सुन्डो खोला र फोक्सुन्डो झरनामा पनि पानीको मात्रा बढी हुन्छ। त्यस्तै ताल पनि हरियो देखिन्छ। तालमा नुहाउन, पौडी खेल्न र लुगा धुन पाइँदैन। डुंगा चढ्ने सुविधा पनि छैन। आँखा नझिम्क्याई हेरिरहन पाइन्छ। जति हेरे पनि आँखा थाक्दैनन्। आँखाभरि, मनभरि सजाइरहन मन लाग्छ। ताललाई छोडेर फर्कन मन लाग्दैन।
तालबाट अढाई घन्टा पदयात्रा गरेर भ्यु पोइन्टमा पुगिन्छ। त्यहाँबाट तालको पुरै रुप देखिन्छ। फोक्सुन्डो क्षेत्रमा प्राचीन बोन गुम्बा, जडीबुटीसहितका जंगल, हिमाली चरा आदिको अध्ययन गर्न पाइन्छ।
यति सुन्दर ताल पुग्न डोल्पाको सदरमुकाम दुनै बजार नजिकै सुलिगाडबाट पदयात्रा गर्नुपर्छ। सुलिगाडदेखि २७ किलोमिटर दुरीमा छ, फोक्सुन्डो ताल। दुई दिनमा सजिलै तालमा पुग्न सकिन्छ। पदमार्गका सबैतिर होटल तथा टि हाउस सुबिधा छ। ताल किनारको रिग्मो गाउँमा पनि आधुनिक होटल तथा होमस्टे सुबिधा छ।
यतिबेला फोक्सुन्डो तालभन्दा माथि शे गुम्बामा ६७ औं १२ वर्षे शेल्री डुग्ड्रा मेला पनि लाग्दैछ। यही भदौ १६ गतेदेखि धुमधामसँग मेला सुरु हुँदैछ। मेलाको अबसरमा सबैलाई शुभकामना !
फोक्सुन्डोबाट शे गुम्बामा जानेहरूका लागि ठाउँठाउँमा अस्थायी टि हाउस पनि खोलिएको छ। उचाइमा जानु पर्ने भएकाले राम्रोसँग तयारी गरेर पदयात्रा गर्न अनुरोध गर्दछु।
त्यसैले एक्लै होइन, समूहमा पदयात्रा गर्दा सजिलो हुन्छ। हेर्नुहोस् केही तस्बिरहरू :