काठमाडौं। पदयात्रा पर्यटनमा समर्पित व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन भदौ १७ गते काठमाडौंमा हुँदैछ। करिब २४ सय सदस्य रहेको टानमा प्रत्यक दुई वर्षमा निर्वाचन हुन्छ। यसपाली व्यवसायीका दुइवटा समूह प्रतिस्पर्धामा उत्रिएका छन्।
अन्य संस्थालाई जस्तै टानलाई पनि राजनीतिले गाँजेको छ। माओवादी निकट सागर पाण्डेको नेतृत्वमा एउटा समूह छ भने एमाले निकट राजेन्द्र सापकोटाको नेतृत्वमा अर्को समूह। दुबैले आआफ्नो प्यानललाई व्यवसायिक भएको दाबी गरेका छन्।
दुबै प्यानलमा काँग्रेस निकट व्यवसायीको उम्मेदवारी देखिन्छ। उनीहरू दुईतिर बाँडिएकाले चुनाव रोचक हुने सम्भावना छ।
सापकोटाको प्यानलबाट वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्ष सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिन्जी जाग्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा छन्। सदस्यहरूमा महिलातर्फ पवित्रा तामाङ र पुरुषतर्फ सागर राई छन्। खुल्ला सदस्यमा विश्व दाहाल, दिनेश तिमल्सिना, राजु गुरुङ, छेपेट लामा, भुवनबहादुर खड्का र दावा ग्याल्जेन लामा छन्।
पाण्डेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारी उम्मेदवार छन्। त्यस्तै सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङ छन्।
अध्यक्ष पदका दुबै उम्मेदवार पर्वतीय पर्यटनमा तीन दशकभन्दा लामो समयदेखि क्रियाशील छन्। गोरखाका पाण्डे टानका पूर्व महासचिव हुन् भने धादिङका सापकोटा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी समिति सदस्य।
हामीले दुबै उम्मेदवारसँग कुराकानी गरेका छौं।
मजदुर र व्यवसायीको हितमा काम गर्नेछु
पर्यटन क्षेत्रको मेरुदण्ड ‘पदयात्रा पर्यटन’ हो। आज व्यवसाय संकट उन्मुख छ। विकासका नाममा विश्वविख्यात पदमार्ग बिगारिएका छन्। प्रत्येक वर्ष ७० हजारभन्दा बढी पर्यटक अन्नपुर्ण घुम्छन्। अहिले पदमार्ग छोटिएको छ। यसले गर्दा हामीले लामो दुरीको पदयात्रा गर्ने पर्यटक गुमायौं भने स्थानीयले आयआर्जनका साथै रोजगारी समेत गुमाएका छन्।
विकासका नाममा पदमार्ग मास्ने कामलाई रोक्न हामीले खबरदारी गर्नुपर्छ। भएका पदमार्ग जोगाउन र नयाँ वैकल्पिक पदमार्ग निर्माण गर्ने दायित्व हाम्रो काँधमा छ।
मजदुरको हितमा कल्याणकारी कोषलाई प्रभावकारी बनाउने एजेन्डामा हामी अडिग छौं। कोभिड महामारीका कारण कति व्यवसायी व्यापार डुबेर डिप्रेसनमा पुगेका छन्। विरामी भएर मर्ने अबस्था छ। त्यसैले व्यवसायीका लागि समेत स्वास्थ्य उपचार कोष स्थापना गर्नेछौं।
हामी विकासका बिरोधी होइनौं, तर भइरहेका पदमार्ग भत्काउँदा वैकल्पिक पदमार्ग खोज्नु पर्दैन ? पदमार्ग जोगाएर अर्कै ठाउँबाट सडक निर्माण गर्न सकिँदैन ?
वैकल्पिक पदमार्ग नबनाई चल्तिका पदमार्ग बिर्गान पाइन्न। यसमा नीतिगत सुधार आवश्यक छ। हामी नेपाल सरकारसँग समन्वय गर्छौ। खबरदारी गर्छौं। पर्यटन समृद्धिको आधार भएकाले विकासका नाममा डोजर कुदाउने भास्यलाई चिर्न चाहन्छौं।
टानले सरकार र स्थानीयमा चेतना जगाउन आबश्यक छ। माध्यमिक तहको पाठ्यक्रममा पदयात्रा पर्यटन समावेश हुनुपर्छ। यसको महत्व र चुनौतिका बारेमा आउने पुस्तालाई पढाउनु पर्छ।
हामी भइरहेका पदमार्गलाई ‘राष्ट्रिय पदमार्ग’का रुपमा घोषणा गराउन सरकारसँग माग गर्छौं। कुनै पदमार्ग भत्काउनु अघि पर्यटन मन्त्रालयबाट स्विकृती लिएर मात्र कार्यान्वयन गराउने व्यवस्था मिलाउने छौं। अर्को समस्या छ, भ्याट सम्बन्धी। हामीले पर्यटकले पदमार्ग वा हिमालमा खर्च गरेको विल देखाउन नपाउने, अनि भ्याट कताबाट तिर्ने? यसरी भ्याट मात्र तिर्दैै जाने हो भने व्यवसाय डुब्छ।
त्यसै पनि कोभिड महामारीले कैयौं पर्यटन व्यवसायी विस्थापित भए। हामी राज्यसँग समन्वय गरी विभेदकारी भ्याट रोक्ने छौं। टिम्सको मुख्य उद्देश्य पदमार्गमा अवैध पदयात्रा रोक्नु हो। हामी अबैधानिक पदयात्रामा रोक लगाउने छौं। राज्यले टिम्सलाई व्यवस्थित गर्नै पर्छ।
अवैध सञ्चालन नियन्त्रण गरी, ट्रेकिङ कम्पनीले मात्र टिम्स जारी गर्ने र अनिवार्य रुपमा मजदुर लिएर जाने व्यवस्था गर्ने हाम्रो मुख्य दायित्व हो।
मजदुर र व्यवसायी एक सिक्काका दुई पाटा हुन। टिम्सबाट मजदुर कल्याणकारी कोष निर्माण गरेका छौ दश प्रतिशत मजदुर कल्याणकारी कोषमा जाने सम्झौता गरेका थियौं। मजदुर घाइते हुँदा, उद्दार गर्दा यही कोषबाट प्रयोग गर्ने एजेन्डामा हामी अडिग छौं।
हामी वर्षको एकपटक ट्राभल मार्ट पनि गर्नेछौं। अन्तर्राष्ट्रिय पर्यटक बोलाउनेछौं र प्रवर्द्धन गर्छौ। कोभिड महामारीका कारण कति व्यवसायी व्यापार डुबेर डिप्रेसनमा पुगेका छन्। विरामी भएर मर्ने अबस्था छ। त्यसैले व्यवसायीका लागि समेत हुने गरी स्वास्थ्य उपचार कोष स्थापना गर्नेछौं। कुनै पनि कम्पनीका सञ्चालक २–४ लाख रुपैयाँको अभावमा मर्नु नपरोस्। उनीहरूको जीवन सुरक्षित गर्ने काममा हामी लाग्छौं।
अग्रजहरूको विरासतले पदयात्रा पर्यटन यहाँसम्म आइपुगेको हो। हामी उहाँहरूलाई भुल्दैनौं। हामी डाक्टर हर्क गुरुङजस्ता व्यक्तित्व भुल्दैनौं, बरु उहाँको सपना पुरा गर्नेछौं।
ट्रेकिङमा आकर्षण घट्दो छ। हाम्रा हजारौ युवा विदेसिएका छन्। उनीहरूलाई रोक्न पहल गर्नेछौ। अग्रज, हाम्रो पुस्ता र युवा पुस्ताका बीचमा हामी पुल बन्ने छौं। यो व्यवसायमा सबैको भविश्य होस् भन्ने कार्यदिशा अपनाउँछौं। भविश्यमा हाम्रा छोरानातीलाई हामीले व्यवसाय हस्तान्तरण गर्न सकौं । राज्यलाई यो बाटोमा लाग्न र अर्थतन्त्र सृदृढ गर्दै युवालाई स्वदेशमै रोजगारी सृजना गर्न म पहल गर्नेछु। टानलाई सबैको साझा मञ्च बनाउने कोसिस गर्नेछु।
मर्यादित पदयात्राका लागि भिजनसहितको नेतृत्व
पदयात्रामा लाग्ने मजदुर र व्यसायीको हितमा काम गर्न प्रखर नेतृत्व आबश्यक छ। म टानको महासचिव भैसकेको मान्छे, अब व्यवसायिक र संस्थागत अनुभवका आधारमा काम गर्नेछु। व्यवसायसँग जोडिएका समस्या पहिल्याएर समाधानका लागि सबैसँग पहल गर्नेछु। भिजनसहितको नेतृत्वले संस्थालाई गति दिन सक्छ। समन्वयकारी भूमिका निवार्ह गरी हाम्रो पदयात्रालाई व्यवस्थित बनाउनु आवश्यक छ।
टान स्थापना भएदेखि आजसम्म मजदुर र व्यवसायीका बीचमा समस्या रहँदै आएको छ। समस्या हल हुन सकेको छैन। हामी व्यवसायी र मजदुर दुबैका आत्मसम्मान बढाउँदै सुखदुःखमा एउटै परिवार हौं भन्ने अनुभूति गराउने छौं।
कायक्षेत्रमा मजदुरको मृत्यु भयो भने के हुन्छ त ? न राज्यले क्षतिपूर्ति दिने हो न व्यवसायीले। इन्सुरेन्स हुन्छ। हाम्रो कानूनी व्यवस्थालाई हेर्दा ५ लाखको बीमा हुन्छ। यता परिवारको आर्जन गर्ने व्यक्ति मरेको हुन्छ। हामी ५ लाखको कुरा गरिराख्या हुन्छौं अनि त्यो इश्यु कहाँ आउँछ भन्दा व्यवसायीमा आउँछ ? अब व्यवसायीले कति दिने अनि त्यो वर्षौंसम्म डिवेट चलिरहन्छ। आजसम्म त्यो किन समाधान हुन सकेन ? त्यो टान आफैंले गर्न सक्ने काम हो।
आज सबै वर्ग, क्षेत्र, समूदाय र व्यक्तिले अधिकार खोजिरहेको अवस्था छ। त्यसैले पर्यटनबाट आउने प्रतिफल पनि समानुपातिक रुपमा वितरण गर्न सकेनौं भने त्यो मान्य हुँदैन। र, टिम्स पनि लागु गर्न सक्दैनौं।
हामीले टिम्सबाट त्यत्रो पैसा बनायौं। तर, त्यसलाई व्यवस्थापन गर्न कन सकेनौं ? फेरि लिडरसिप भनेको त व्यवस्थापन कला पनि त हो। टिम्सबाट यत्रो पैसा आइरहेको छ भने समस्या किन जस्ताको तस्तै छन् ?
हामी पैसा उठाउँछौं र अरुले खर्च गरिरहेको अवस्था छ। अब टिम्सको विकल्प खोज्ने कि ? टिम्स लागु गर्ने हो भने स्थानीय निकायसँग जोडिनु प¥यो।
टिम्स लागु गर्दा हिजो स्थानीय निकाय थिएन, आज स्थानीय निकाय छन्। त्यही स्थानीय क्षेत्र भएर हाम्रो पदयात्रा चल्छ। आज सबै वर्ग, क्षेत्र, समूदाय र व्यक्तिले अधिकार खोजिरहेको अवस्था छ। त्यसैले पर्यटनबाट आउने प्रतिफल पनि हामीले समानुपातिक रुपमा वितरण गर्न सकेनौं भने त्यो मान्य हुँदैन। र, टिम्स पनि लागु गर्न सक्दैनौं। टिम्सबाट प्रत्यक्ष फाइदा व्यवसायी र मजदुरलाई हुनु प¥यो तर, आज हामीले पर्यटन बोर्डबाट भिख मागेको जस्तो अबस्था छ। पुरा बजेट पनि आउन सकेको छैन।
यी कुरा प्राविधिक छन्। कि यसलाई खारेज गरौं कि यस्तो व्यवस्था गर्न जरुरी छ जसले गर्दा हाम्रो पर्यटन पनि दीर्घकालीन होस्।
हाम्रो प्रोडक्टको मूल्य तलतल गइरहेको छ। त्यसले हाम्रो व्यवसाय सस्टेनेबल छैन। हामीले व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन। मूल्य तल जानेवित्तिकै स्तर घट्छ। मजदुरको पे घट्छ। गाइडको पे घट्छ। हामीले समयसापेक्ष गुणस्तरमा एड गर्न सक्दैनौ। भ्यालु एड गर्न नसक्ने बित्तिकै के हुन्छ भने जुन अनुभवका लागि विदेशी आउने हुन्छ त्यो हुँदैन्। त्यसो भएकाले हामीले गुणस्तर र संख्यालाई सन्तुलन गरेर पर्यटन विकासको अवधारणा ल्याएनौं भने समस्या हुन्छ।
अर्काे पर्यटन नीतिको कुरा छ, हाम्रो पर्यटन ऐन तथा नीतिलाई समयअनुकुल परिमार्जन गर्नु पर्छ। हामीले रिभ्यू गर्ने भनेको पाँचपाँच वर्षमा हो। समयानुकुल पर्यटन नीति अँगाल्न सके मात्र पर्यटन क्षेत्रबाट पाइने प्रतिफल सबैले पाउने अबस्था हुन्छ।
पर्यटन बढाउन राष्ट्रिय ध्वजाबाहक हवाईजहाजलाई बलियो बनाउनु पर्छ। विदेशीलाई डाइरेक्ट फ्लाइट नेपालमा हुनेवित्तिकै सस्तो हुन्छ। सबैभन्दा पहिला नेपाल वायुसेवा निगमलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखौं।
हाम्रो मूल्य घट्दो अवस्थामा छ। हामीले पर्यटन विकासका लागि एउटा योजना बनाउनु छ। हामी सगरमाथा जस्तो प्रोडक्ट हजार डलरमा बेचिरहेका छौं। अब राम्रो मूल्यमा बेच्ने वातावरण बनाउनु पर्छ। यो फिक्स कसले गर्छ त ? भिजन सहितको नेतृत्वले गर्छ। त्यसैका लागि उम्मेदवारी दिएको हुँ।