म्याग्दी। प्राकृतिक सौन्दर्यले भरिपूर्ण म्याग्दी जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा खुल्ला फोटो प्रतियोगिता–२०२४ को आयोजना हुने भएको छ। यो प्रतियोगिता मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत सञ्चालन गरिनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमशः रु १,००,०००, रु ५०,००० र रु २५,००० नगद पुरस्कारका साथै सम्मान, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।
प्रतियोगितामा नेपालभरका नेपाली नागरिकहरूले भाग लिन सक्नेछन्। फोटोहरू म्याग्दी जिल्लाको पर्यटकीय स्थल, धार्मिक स्थल, दैनिक जीवन, संस्कृति, उत्सव लगायतका विषयमा केन्द्रित हुनुपर्नेछ। प्रत्येक फोटोसँग ५०० शब्दको नेपाली भाषामा वर्णन समावेश गर्नुपर्नेछ।
प्रतियोगीहरूले आफ्नो फोटो र विवरण मोना अष्ट्रेलियाको फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्नेछ। योग्य ठहरिएका फोटोहरूलाई प्रतियोगी नम्बर सहित एडमिनले पेजमा पोस्ट गर्नेछन्।
फोटो प्रतियोगिताको नतिजा फेसबुक इनसाइट डाटाको आधारमा निर्धारण गरिनेछ। सबैभन्दा बढी लाइक, शेयर, कमेन्ट र रिच भएका फोटोहरूलाई पुरस्कृत गरिनेछ।
प्रतियोगिता भाद्र १५ गतेदेखि असोज १५ गते साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। अन्तिम नतिजा असोज १९ गते प्रकाशन गरिने र विजेताहरूलाई बेनीमा आयोजना गरिने फोटो प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रममा सम्मानित गरिनेछ।
यस प्रतियोगिताले म्याग्दी जिल्लाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको विश्वास रहेको छ।