काठमाडौं। रुप्से होलिडेज परिवारले नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान बढाउने उद्देश्यले दुई नयाँ चार्टर उडानको घोषणा गरेको छ। दशैं पर्वलगत्तै शुरु हुने यी उडानहरूले दुई देशबीचको पर्यटन सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
असोज ३० ९अक्टोबर १६० देखि ५ दिनका लागि सञ्चालन हुने यी उडानहरूमा भियतनामी पर्यटकहरूलाई नेपालका प्रमुख स्थलहरू जस्तै भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भु र बौद्धनाथमा भ्रमण गराइने छ। त्यसैगरी, नेपाली पर्यटकहरूका लागि हानोई, निन बिन टापु र हा लोङ बे सहितका भियतनामी गन्तव्यहरूको भ्रमण कार्यक्रम तय गरिएको छ।
भियतनाम भ्रमण प्याकेजको मूल्य रु १ लाख ९ हजार ९ सय ९९ तोकिएको छ, जसमा दुईतर्फी हवाई टिकट, भिसा, होटल, स्थानीय यातायात र गाइड सेवा लगायत सबै खर्च समावेश गरिएको छ। यात्रुहरूका लागि एकमुष्ट भुक्तानीको साथै १२, १८ वा २४ महिनाको किस्ताबन्दीको विकल्प पनि उपलब्ध गराइएको छ।
रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले भने, ‘सिधा उडान नभएका यी दुई देशबीच पर्यटक आवागमन सहज बनाउन यो पहल गरिएको हो। यसले दुवै देशका पर्यटकहरूलाई कम खर्चमा एक अर्काको देश भ्रमण गर्ने अवसर प्रदान गर्नेछ।’
यो नयाँ पहलले नेपाल र भियतनामबीचको पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र दुवै देशको पर्यटन क्षेत्रलाई फाइदा पुग्ने विश्वास गरिएको छ। कम्पनीले इच्छुक यात्रुहरूलाई चाँडै नै आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेको छ। यी चार्टर उडानहरूले दुई देशबीचको सांस्कृतिक र आर्थिक सम्बन्ध अझै प्रगाढ बनाउने अपेक्षा गरिएको छ।