खुले आम छाडा छन् मात्तिएका साण्ड यहाँ
सोच्यो भने फनफनी घुम्छ है ब्रम्हाण्ड यहाँ
जम्मा काण्ड आठ भनी रामायणमा पढेको थेँ
वर्षैपिच्छे कति हुन् नयाँ काण्डैकाण्ड यहाँ ।
♦♦♦♦♦♦♦♦♦
समृद्ध बहारमा रोजेथेँ एक फूल मात्रै
कहाँ हुन्छ र सबथोक आफ्नो अनुकूल मात्रै ?
तिमी गुज्रिसकेको निष्ठुर समय जस्तो
म त गोरेटोभरि उड्दै गरेको धूल मात्रै ।
♦♦♦♦♦♦♦♦♦
घाम बदल्नुपर्छ, सके जून बदल्नुपर्छ
एउटै राग के अलाप्नु, धुन बदल्नुपर्छ
लुकीचोरी गर भन्नु अपराध नै होइन र ?
जरुरी नै हो भने कानुन बदल्नुपर्छ ।
♦♦♦♦♦♦♦♦♦
नयनको रित्तो खाडलमा हरदम केही हराएकै हुन्छ
हृदय सागरमा यादको आँधीले लहर उठाएकै हुन्छ
म उनलाई हरपल आफ्नो छातीभित्र छाम्ने गर्छु
फेरि पनि उनको अभावले मुटु त जलाएकै हुन्छु ।
♦♦♦♦♦♦♦♦♦
फूल छाम्दा काँडा बिझ्छन्, फेरि पनि म छामिरहेकै छु
ओठहरूले गिज्याइराख्छन्, फेरि पनि म हाँसिरहेकै छु
यता हेर्छु प्रतिरोध केवल, उता हेर्छु प्रतिशोध केवल
देख्नेहरू त उपहास गर्छन्, फेरि पनि म नाचिरहेकै छु ।
♦♦♦♦♦♦♦♦♦
धेरथोर दामसम्म कमाउनु त पर्ला
भोको पेटलाई मामसम्म कमाउनु त पर्ला
जति दौडे पनि यहाँ इन्द्रासन भेटिन्न
जिन्दगीमा नामसम्म कमाउनु त पर्ला ।
♦♦♦♦♦♦♦♦♦
प्रथम प्रेमको निशानीझैं प्राचीन पोस्टकार्ड हुँ म
तिम्रो सर्वाङ्ग रक्षा गर्ने आज्ञाकारी गार्ड हुँ म
भेट्न चाह्यो भने यहाँ भेट्ने हजार बहाना छन्
बिरामी बनेर आऊ, इमर्जेन्सी वार्ड हुँ म ।
♦♦♦♦♦♦♦♦♦
कस्ताकस्ता अनुहार आज अगाडि आउँदैछन्
हाँस्दैछन् तर खुकरी–खुँडा पनि उध्याउँदैछन्
इतिहासले ती नाइकेहरूलाई कसरी माफ गर्ला
स्वार्थवश जो साम्प्रदायिक दङ्गा फैलाउँदैछन् ?
♦♦♦♦♦♦♦♦♦♦
सारा मागका वृक्षहरू समूल सबीज सुकेपछि
अभिलाषामाथि जल्ने दियोमा तेल सुकेपछि
हृदयको शिखरसँग मेघ ठोकिई बर्सात् भयो
आँगनीमा प्रकाश नाच्यो, अग्लो पहाड झुकेपछि ।
♦♦♦♦♦♦♦♦♦♦
सबै जन्ती, सबै रमिते, बाँच्ने आधार खोइ ?
यत्रो संहार हुँदा राष्ट्र सङ्घको अन्वार खोइ ?
तिम्रो विकास भन्नु केवल मान्छे मार्नु रहेछ
कुरामात्रै ठूला गर्ने मानव अधिकार खोइ ?
♦♦♦♦♦♦♦♦♦♦
हरेक असफलता सफलताका लागि मलखाद हुन्छ
समय अनुकूल चलेका बेला गाली पनि प्रसाद हुन्छ
पङ्खको क्षमता तौलेर मात्र गन्तव्यतर्फ उडान भर्नू
असम्भव उद्देश्यका कारण पनि व्यक्ति बर्बाद हुन्छ ।
♦♦♦♦♦♦♦♦♦♦
बादलले आखिर बनेर झरी धर्तीमै बर्सिन पाउनुपर्छ
भर्खरका शिशु कोपिलाहरू उन्मुक्त फक्रिन पाउनुपर्छ
कन्दरा डुल्यो हुरीमा झुल्यो, स्वच्छन्द उडान अनन्त थकान
वनवन घुम्ने चरीले साँझ गुँडमा फर्किन पाउनुपर्छ ।
♦♦♦♦♦♦♦♦♦♦
(सुदूरपश्चिम प्रदेशको धनगढीमा बसेर साहित्य साधना गर्दै आएका कृष्णसिंह पेला लोकप्रिय गीतकार, गजलकार र मुक्तककार हुन्। उनी तीन दशकभन्दा लामो सयमदेखि नेपाली साहित्यको श्रीबृद्धिमा क्रियाशील छन्। प्रस्तुत रचना उनको मुक्तकसङ्ग्रह ‘फूलको प्रहार’बाट साभार गरिएको हो।)