काठमाडौं, चैत २८
सगरमाथा आरोहणको मुख्य स्प्रिङ सिजन अर्थात् वसन्त ऋतु। नेपालमा हिमाल आरोहण गर्ने दुई प्रमुख सिजन हुन्– शरद र वसन्त ऋतु। अप्रिल, मे र अक्टोबर महिना हिमाल आरोहणको प्रमुख महिना हो। हिमाल आरोहणको सामान्य नियमअनुसार शरद ऋतुभन्दा वसन्तमा अनुकूल हुन्छ।
मे महिनामा सगरमाथा चढ्नेहरूकाे ठूलो भीड हुन्छ। वसन्त ऋतु लागेसँगै सगरमाथा चढ्न विदेशी हिमाल आरोही पर्यटकहरू धमाधम नेपाल आउन थालेकाे पर्यटन व्यवासायीहरू बताउँछन्। काेराेना महामारीले महिनाैं थलिएकाे पर्यटन व्यवसायी पछिल्लाे चरण पर्यटकहरूकाे आगमनसँगै विस्तारै माथि उठ्न थालेकाे छ। व्यवसायीहरू थप उत्साहित देखिन्छन्।
आइस्फल डाक्टरको टोलीले वेसक्याम्पवाट क्याम्प–२ सम्म रूट खोल्न सुरू गरिसकेको बताइन्छ। क्याम्प–२ वाट माथी भने नेपाली पर्वतीय गाइडहरूले खुलाउने गर्छन्।
यो सिजनको सगरमाथा आराेहणकाे रूट खुलाउनेदेखि डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य टोलीको नेतृत्व कामिरिताले गर्दैछन्। एक दुई दिन भित्र लुक्ला तर्फ उड्ने उनले बताएका छन्।
उनको टोलीले रूट खोलेर डोरी नटाँगेसम्म आरोहण टोली क्याम्प–२ बाट अगाडि बढ्दैन्। र, हिमाल चढ्न पनि सक्दैन्। उनको टोलीमा ८ जना सदस्य छन्। ‘तर रूट खोल्न र डोरी टाँग्न १२ जना जतिको श्रम जनशक्ति आवश्यक पर्छ,’ उनले भने। उनको टोलीले क्याम्प–२ देखि सगरमाथाको शिखरसम्म बाटो खोल्नेदेखि डोरी टाग्ने कार्य गर्नेछन्।
‘यो कार्य जोखिपुर्ण छ। लामो जाडो मौसममा हिउँले पुरै भरिएको हुन्छ। हिमालको बाटो सबै पुरिएको हुन्छ। अघिल्लो वर्षको क्लाईम्विङ रूटको नाम निशाना हुँदैन,’ उनले भने।
हिमाली क्षेत्रमा जन्मे–हुर्केको शेर्पाहरू हिमाल आरोहण क्षेत्रमा विश्वभर कहलिएका छन्। माइनस डिग्री तापक्रममा बाक्लो हिउँ पहिल्याउँदै, रूट पहिचान गर्दै डोरी टाँग्ने जोखिमपुर्ण कार्यमा यी सहासिक नेपाली पर्वतीय गाइडहरूले प्रत्येक वर्ष ज्यानको जोखिम लिएर खटिन्छन्।
हिमालमा सधै जोखिम हुन्छ। प्रत्येक पाइलामा मृत्यु र जीवनको झिनो रेखा हुन्छ। लेक लाग्ने, हिमपहिरो खस्ने, हात खुट्टा भाँचिने गएदेखि फर्किन्जेल जोखिम नै जोखिम हुन्छ। तर उनी आफ्नो कामप्रति सधै प्रतिवद्ध र इमान्दार छन्।