काठमाडौं। पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म चेसिङ दी ड्रिम भारतको इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ। सो फिल्म फेस्टिवल हिमान्चल प्रदेशमा अगस्ट १४ देखि १६ सम्म हुने तीन सम्म संचालन हुनेछ।
फेस्टिवल डाइरेक्टर पुस्पराज ठाकुरका अनुसार यसपालि हुन लागेको फिल्म फेस्टिवलको १० औं संस्करण हो। यस संस्करणमा नेपाल, भारत, अमेरिका, बेलायत, न्युजल्याण्ड, फ्रान्स, कोरिया, इरान, टुर्की, ग्रीस, पोर्चुगल, इजिप्ट लगायत दर्जनौ देशका एक सय २३ वटा फिल्म, डकुमेन्ट्री तथा सर्ट फिल्म देखाइने छ। फेस्टिवलमा विश्वभरिबाट सयौँ फिल्म तथा डकुमेन्ट्रीको आवेदन परेको थियो।
प्रदीप पोखरेलको यस डकुमेन्ट्रीमा लामो समय विदेशमा बसेर गाउँ फर्केका लाक्पा ढन्डप लामाको कथा समेटिएको छ। उत्तरी गोरखाको चुमनुप्री गाउँपालिकाको नामरुङ गाउँका लाक्पा सानै उमेरमा अवरसरको खोजीमा काठमाडौं आएका थिए। केही वर्ष काठमाडौंमा बसेर उनी समुद्रपार व्यापारको सिलसिलामा सिंगापुर पुगे। झण्डै १७ वर्ष त्यही बिताए। सिंगापुरलाई आधार बनाएर काम थालेका लाक्पालाई कामको सिलसिलामा ५० भन्दा बढी देशमा पुग्ने अवसर मिल्यो। केही नगद कमाए पनि।
दुई दशक पछि उनी गाउँ फर्कन्छन्। गाउँको दुःख देखेर उनी विदेश नफर्कने निस्कर्षमा पुग्छन्। २७ दिन लगाएर सम्भाव्यता अध्ययन गर्छन्। गाउँमै बसेर गाउँको पर्यटन प्रवर्धन गर्ने अभियान चलाउँछन्। ढकुमेन्ट्रीको कथा यसरी नै अघि बढ्छ।
याे पनि: मनास्लु पदमार्गकै नमुना रिसोर्ट चलाउने लाहुरे
हाल उनले गाउँमा ३ सय रोपनीमा स्याउ खेती लगाएका छन्। स्याउ उत्पादन हुन थालेको छ। उनको स्याउबारी पर्यटकको आकर्षक गन्तब्य बनेको छ। यहाँ स्याउको ब्रान्डीदेखि बिभिन्न परिकार उत्पादन हुन थालेको छ। दर्जनौं मानिसले रोजगारी पनि पाएका छन्। आफू जन्मेको गाउँमा नुप्री फोर सिजन रिसोर्ट संचालन गरेर पर्यटनको सेवामा जुटेका छन्। मनास्लु संरक्षण क्षेत्रको सुविधा सम्पन्न रिसोर्ट नै यही हो। उनले आफ्नै गाउँमा संग्राहलय पनि बनाउँदै गरेका छन्। यस्तै कथाहरु डकुमेन्ट्रीमा देखाइएको निर्देशक प्रदीपले जानकारी दिए।
यस अगाडि उनका एक दर्जन डकुमेन्ट्री बिभिन्न फिल्म फेस्टिवलमा छनोट भइसकेका छन्। निर्देशक प्रदीप पोखरेलले सन् २०१६ को वेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड जितेका थिए। सन् २०१७ मा कोरियाको विश्वप्रसिद्ध डकुमेन्ट्री फिल्म फेस्टिवल डिएमजेडमा उनको डकुमेन्ट्री अ सङ फर बारपाक छनोट भएको थियो।
यस फेस्टिवलमा त्यस अगाडि नेपाली डकुमेन्ट्री छनोट भएका थिएनन्। उनले निर्देशन गरेको पहिलो डकुमेन्ट्री इन गर्डस् हार्ट ल्याण्ड सन् २००९ मा काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिवल (किम्फ) मा वल्र्ड प्रिमियर भएको थियो। सोही फेस्टिवलमा स्नो–लेपर्ड स्काउट २०१४ मा छनोट भएको थियो। २०१५ मा उनको राइजिङ फर इपिसेन्टरले अवार्ड जितेको थियो। यसबाहेक उनका दर्जनौ फिल्म युरोप र एशियाका दर्जनौ फिल्म फेस्टिवलमा छनोट भएका छन्। केहीले अवार्ड समेत जितेका छन्।