धनगढी। जीवनभर अध्ययन जारी रहन्छ। पढेर र परेर मान्छेले धेरै कुरा सिक्दछ। जो धेरै पढ्छ, ऊ ज्ञानले समृद्ध बन्छ। जिन्दगीमा पढ्नुपर्ने धेरै विषय छन्। त्यसैले जति पढ्यो उति पढुँपढुँ लाग्छ। हामीले समाज पढ्नु पर्छ। किताब पढ्नु पर्छ। यसरी पढेर निरन्तर समीक्षा लेखिरहेका अध्येता हुन्, गड्सेरी माइला।
उनी आफूले पढेका पुस्तकहरूका विषयमा संक्षिप्त टिप्पणी लेखेर फेसवुकमा पोस्ट गर्छन्। समसामयिक विषयमा उनले पस्किने विचार पनि चर्चित बन्छन्।
अहिले उनी बुद्धिसागरको संस्मरणात्मक कृति ‘उसले दिएको उमेर’ पढिरहेका छन्। भन्छन्, ‘अध्ययनले ऊर्जा बढाउँछ। ज्ञानको दायरा बढ्छ। साथमा बौद्धिक मनोरञ्जन पनि मिल्छ।’
उनी आफूले पढेका पुस्तकहरूका विषयमा संक्षिप्त टिप्पणी फेसवुकमा पोस्ट गर्छन्। समसामयिक विषयमा उनले पस्किने विचार पनि चर्चित बन्छन्। उनी धनगढीमा बस्छन्। एन्डिपथ, चौराहा नजिकै उनको घरमा किताबको चाङ छ। मन परेका किताब किन्छन्। साथीसँगी र पुस्तकालयबाट लिएर पनि पढ्छन्।
उनलाई आख्यान बढी मन पर्छ। कविता पनि पढ्छन्। बेलाबेलामा कविता लेख्छन्। मिडियामा उनले धेरै पुस्तकका समीक्षा र लेखहरू लेखिसके। सामाजिक सञ्जाल फेसवुक आएदेखि भने उनी फेसवुकमै पोस्ट गर्छन्।
जीवनमा मन परेका पुस्तक धेरै छन्। तिनमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, लक्ष्मी निबन्ध संग्रह, लक्ष्मी कथा संग्रह, बी.पी. कोइरालाका मोदिआइन र सुम्निमा, मदनमणि दिक्षितको मेरी निलिमा र शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याज कृति हुन्। लामिछानेको कृति त तेहे¥याएर पढिसकेको उनी सुनाउँछन्।
बुधबार बिहान सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवश र गड्सेरी माइला धनगढीको गोठालो चियाघरमा चियाको चुस्कि लिँदै साहित्य र संस्कृतिका विषयमा गफिँदै थिए। ‘कला, साहित्य र संस्कृतिका हिसाबले सुदूरपश्चिम समृद्ध छ। यहाँका विषयमा धेरै कुरा लेखिन बाँकी छ’, उनले भने।
सानैदेखि साहित्य अध्ययनमा उनको टक बस्यो। विद्यालयका पाठ्यपुस्तकमा भन्दा साहित्यका किताब अध्ययनमा उनी समय बिताउँथे। बुद्धिसागरको किताब पढिसकेपछि उनी कुमार नगरकोटी र निलम कार्कीका पुस्तक पढ्नेछन्।
भविश्यका योजना केके छन् त ?
‘प्रकाशित लेखहरूको सँगालो पुस्तकका रुपमा प्रकाशन गर्ने रहर छ’, उनी भन्छन्, ‘बाँचुञ्जेल अध्ययन त जारी नै रहन्छ।’
उनी ५९ वर्षमा हिँडिरहेका छन्। ६ महिना मात्र भयो, सरकारी जागिरबाट बिदा लिएको। उनले ३९ वर्ष सरकारी सेवामा विताए। सुन्दर सुदूरपश्चिम प्रदेश, डोटी जिल्लाको गड्सेरामा जन्मेहुर्केकाले उनले आफ्नो नाम गड्सेरी माइला राखेका। खास नाम तीर्थराज ओझा हो।
अध्येता गड्सेरी माइलालाई धेरैधेरै शुभकामना !