भिरपाखामा आफैं उम्रने गाँजा एक प्रकारको जडीबुटी हो। यसबाट करिब १ सय ९१ भन्दा बढी किसिमका औषधी बनाइने आयुर्वेदमा उल्लेख छ। गाँजाको तेलले मालिस गर्दा शरीरको दुखाइ पनि कम गर्छ।
गाँजाको रेसाबाट बनाइने कपडा पनि स्वास्थ्यवद्र्धक मानिन्छ। यस्ता कपडा लगाउँदा शरीरमा इन्फेक्सन हुँदैन। गर्मीमा शीतल हुन्छ भने जाडोमा न्यानो। यसले पसिना सोस्छ। शरीर गनाउँदैन। त्यसैले विकसित देशमा यस्ता कपडाको माग बढ्दो छ।
गाँजाको रेसाबाट बनाइएको कपडा स्वास्थ्यवद्र्धक मानिन्छ। सुदूरपश्चिमका गणेश ऐडीले काठमाडौंमा सञ्चालन गरेको ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’का उत्पादन नेपालको कोसेलीका रुपमा विश्वका ७१ देशमा बिक्री हुँदै आएको छ।
नेपालमा भने गाँजा प्रतिबन्धित छ। हिप्पी युगमा अमेरिकी सरकारको दबाबका कारण संयुक्त राष्ट्रसंघको ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गर्न नेपाल बाध्य बन्यो। अनि लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी गरी गाँजालाई लागुऔषधको दर्जामा राखियो।
सन् २०२० मा राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ‘हानिकारक समूह’बाट हटाइसक्यो। यतिवेला नेपालमा गाँजाको खेती, प्रशोधन, बिक्रीवितरण र उपभोगलाई कानुनी मान्यता दिने विषयमा बहस चलिरहेको छ। सरकारले पनि भर्खरै औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्ने घोषणा गरेको छ। त्यसका लागि कानुन बनाउन भने बाँकी छ।
एक अध्ययनअनुसार नेपालमा ११ प्रजातिका गाँजा पाइन्छ। गाउँघरमा सदियौंदेखि गाँजाको रेसाबाट कपडा बनाउँदै गरेको पाइन्छ। सहरी भेकमा पनि गाँजाबाट कपडा बनाउने केही उद्योग छन्। गाँजा तथा भाङका रेसाबाट बनाइने कपडा सुतीको भन्दा टिकाउ र सस्तो पनि हुन्छ।
यस्तै कपडा उत्पादन गर्ने अगुवा हुन्, गणेश ऐडी। उनले २०५२ सालबाट व्यवसाय सुरु गरेका। वि.सं. २०६४ मा उद्योग दर्ता गरे। त्यसको नाम हो, फरेस्ट्री हेम्प ब्याग उद्योग। उनले नेपालका ५१ जिल्लाबाट गाँजाको रेसा ल्याएर कपडासहित पहिरनका विभिन्न सामान बनाउँदै आएका छन्।
पहाडी भेगका गाँजाको रेसा र कटन धागोबाट बनाइएका कपडाबाट उनी विभिन्न सामान बनाउँछन्। सामूहिक रूपमा जङ्गलबाट गाँजा टिपेर ल्याइन्छ। त्यसबाट रेसा निकालिन्छ। त्यस्तो रेसालाई धागो बनाएर काठमाडौं ल्याइन्छ। अनि कारखानामा कपडाको रुप दिइन्छ।
त्यही कपडाबाट ब्याग, कोट, चप्पल, जुत्ता, ह्याट, मोजा, वालेट, साइड ब्याग, मफलर, पाइन्ट, सर्ट, टावल, टिसर्ट, कमिज, सुरुवाल, ट्राउजर, तन्ना, गम्छा आदि बनाइन्छ। उनको उद्योगमा १०२ किसिमका सामान तयार हुन्छ। कोट, दौरा, सुरुवाल, मोजा, बेड सिट, ब्याग, सर्ट आदिको बढी माग छ। विशेषतः हातबुना कपडा धेरेलै रुचाउँछन्।
उनीहरूको उत्पादनको तिस प्रतिशत नेपालमा खपत हुन्छ भने बाँकी विदेशमा । अमेरिका, क्यानडा, बेलायत, अस्टे«लिया, जापान र कोरियासहित ७१ देशमा पु¥याइन्छ। उनकोमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ११४ जनाले रोजगारी पाएका छन्। उनलाई परिवारको राम्रो सहयोग छ।
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको सुनिकोटमा जन्मेहुर्केका गणेशले सुरुका दिनमा गाउँबाटै कपडा ल्याएर काठमाडौंमा बेचे। पछि आफैंले उद्योग चलाए। उनी गाँजाका कपडा प्रवद्र्धन गर्ने अभियन्ता हुन्। उनकै नेतृत्वमा २०५७ सालमा ‘राष्ट्रिय अल्लो उद्यमी संघ’ गठन गरिएको थियो। आज मुलुकमा ४४७ ओटा यस्ता उद्योग सञ्चालित छन्।आधुनिक मेसिन थपेर अझै गुणस्तरीय सामान बनाउने उनको योजना छ ।
‘नेपालमा व्यावसायिक गाँजा खेती सुरु भैसक्यो’
खाने प्रयोजनका लागि गाँजा उत्पादन र बिक्री वितरण गर्न पाइँदैन। तर, लागुपदार्थ नभएको भागको सदुपयोग गरी कपडा उत्पादन गर्न पाइन्छ।
नेपालमा गाँजाको अबस्था के छ ?
हाम्रो देशमा १ लाख ८० हजार हेक्टर जमिनमा जङ्गली गाँजा उम्रिने गरेको भेटिन्छ। तर, करिब २० प्रतिशत मात्र उपयोग भैरहेको छ। बाँकी त्यत्तिकै खेर जान्छ । सरकारले हालैको बजेट भाषण मार्फत् औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्ने घोषणा गरेको छ। अब वातावरण सहज बन्छ कि ! नेपालमा गाँजाको रेशाबाट कपडा उत्पादन गर्ने ४४७ ओटा उद्योग सञ्चालित छन्।
नेपालमा गाँजा खेती गर्न पाइन्छ ?
नेपालमा लागुऔषधका रुपमा गाँजाको प्रयोग गर्न पाइन्न। कपडा उत्पादन र फलबाट अचार बनाउन औधोगिक उत्पादनका लागि गाँजा खेतीलाई बैधानिक बनाउन स्थानीय निकायले लागुऔषध नियन्त्रण समिति गठन गरेका छन्। यसमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि १, गाउँपालिकाका प्रतिनिधि १, गाउँपालिकाका कृषि शाखा प्रतिनिधि १, सम्बन्धित वडापालिका अध्यक्ष १ जना, खेती गरिने गाउँको समाजसेवी १ र १ जना उद्यमी रहनेछन्।
समितिले गाँजा खेतीको अनुमति दिनुका साथै अुनगमन गर्छ। अहिलेसम्म नेपालका ३० ओटा गाउँपालिकाले यस्तो समिति बनाएर गाँजा खेती गर्न दिएका छन्। यस्ता उद्योगबाट गाउँपालिकाले राजस्व संकलन गरी निकासी, पैठारी र व्यापार गर्न अनुमति दिन सक्ने व्यवस्था छ। रोल्पा, बझाङ, बाजुरा, म्याग्दी र दार्चुलामा गाँजा खेती सुरु भैसकेका छ।
खाने प्रयोजनका लागि गाँजा उत्पादन र बिक्री वितरण गर्न पाइँदैन। तर, यसबाट लागुपदार्थ नभएको भागको सदुपयोग गर्न लागुऔषध नियन्त्रण समितिले विशेष भूमिका खेल्छ।
गाउँघरमा गाँजाको प्रयोग कत्तिको भइरहेको छ ?
गाउँघरमा परम्परागत प्रविधि र शैलीबाट गाँजाको धागो बनाएर कपडा बनाउँदै आएका छन्। यसबाट जिविकोपार्जन गरिरहेका छन्। नेपाली धागो विश्वमै उत्कृष्ट छ। यसबाट कार्पेट, कपडा र घरेलु सजावटका सामान बनाइन्छ। अहिले वर्षेनी ४ अर्ब रुपैयाँभन्दा बढीको धागो गाउँबाट सहरतिर निकासी भएको देखिन्छ। विशेष गरेर यसमा ९० प्रतिशत मगर समुदायका महिलाले उत्पादन गर्दछन्।
नेपालमा सञ्चालित उद्योगहरूको अबस्था के छ ?
नेपालमा सञ्चालित उद्योगहरू ४ किसिमका छन्। ती सबै घरेलु उद्योग हुन्। पहिलो पारिवारीक उद्योग, दोस्रो महिला समूहले चलाएको उद्योग, तेस्रो जिल्ला सदरमुकाममा गरिने उद्योग र चौंथो चाहिँ प्राइभेट लिमिटेडमा दर्ता गरेर गरिने उद्योग। यसरी हेर्दा पहिलो र दोस्रो उद्योग दर्ता भएको देखिँदैन।
पहिलो, दोस्रो र तेस्रो खाले उद्योगहरू ढुलमुल रुपमा चलिरहेका छन्। प्रविधि, लगानी र वातावरण तीन कुराको कमिले यी उद्योग फस्टाउन नसकेका हुन्।
बजारको अबस्था के छ ?
हाम्रो अध्ययनअनुसार नेपालमा ६ प्रतिशत नागरिकलाई मात्र औधोगिक गाँजाको बारेमा जानकारी छ। बाँकी ठुलो संख्याले यसको महत्व बुझेका छैनन्। विदेशमा वर्षेनी ५ अर्बभन्दा बढी रुपैयाँको कपडा निर्यात भइरहेको छ। चालु उद्योगका उत्पादनले बजारको माग पूर्ति गर्न सकेको छैन।
सम्पर्क
फरेस्ट्री हेम्प ब्याग उद्योग
बुढानीलकण्ठ, काठमाडौं
फोन: ९८५११५१३६६, ९८६०४११६९९