रसुवा, चैत २७
पटक-पटकको हिमपातले गोसाइँकुण्ड पुरिएको छ।
धार्मिक रुपले मात्र होईन रसुवाको गोसाईकुण्ड प्राकृतिक सुन्दरताले पनि भरीपूर्ण छ। गोसाईकुण्ड केन्द्रीय राजधानीदेखि नजिकै भएर पनि सहजै पुग्न सकिदैन तर केही समय यता अहिले हिउँदको समय पनी गोसाईकुण्ड सहज भएको छ। मौसम सफा भएकाले पैदलयात्राबाट कुण्ड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन्।
गोसाइँकुण्ड पदमार्गबाट मनास्लु, गणेश हिमाल, लाङटाङग हिमाल लगायतका थुप्रै हिउँ चुचुराहरू देख्न सकिन्छ। कतिपय पैदल यात्रीहरू सुन्दरीजल, हेलम्बुबाट पनि गोसाइकुण्ड दर्शन गर्न जान्छन्।
फर्कंदा भने ट्रेकिङका यात्रीहरू हेलम्बु भएर जान रुचाउँछन्। हेलम्बु प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिने भएकोले पनि पैदलयात्रीको लागि रोजाइको विषय हुन सक्छ। गोसाइँकुण्ड धार्मिक र पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण छ।
गोसाइँकुण्ड समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ। यो प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ। पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानववीच समुन्द्र मन्थन हुँदा उत्पन्न कालकुट विष सेवन गरेका शिव शंकरले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई उक्त धाराको पानीबाट गोसाइँकुण्डको बनेको किम्बदन्ती छ।
कुण्डमा स्नान गरी भगवान् शिव शंकरको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। त्यसैले बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नानका लागि पुग्छन्। धार्मिक पर्यटनका हिसाबले गोसाइँकुण्ड स्वदेश तथा विदेशमा समेत प्रख्यात छ। यी तीर्थस्थल रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ। गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र साउन शुक्ल पूर्णिमा अर्थात् (जनैपूर्णिमा) गरी वर्षको २ पटक विषेश मेला लाग्छ।
विशेष गरी आन्तरिक पर्यटकको रोजाईमा रहेको स्थानलाई लक्षीत गरेर बिभिन्न ट्राभल कम्पनीले प्याकेज ल्याएका छन्।
अहिले प्रतिव्यक्ति गोसाईकुण्ड हेलीमा जानका लागि १९ हजारदेखि माथि रहेको छ। अहिले विशेष गरी गोसाईकुण्डमा पारिवारीक तथा साथीभाइ मिलेर जानेको संख्या अत्यधिक छ। व्यक्तिगत रूपमा पनि मानिसहरू गोसाइकुण्ड जाने गरेका छन्। ।
काठमाडौंदेखि गोसाईकुण्डलगाएत अन्य कुनै पनि गन्तव्य हेलीमा गएका पर्यटकले ३० देखि ४५ मिनेट समय खर्चिन पाउनेछन्।
केही समयअगाडि बेलायती पर्यटक निक र अमेरिकन प्याट्रिक सँग रसुवा ट्रेकका अप्रेशन म्यानगेर गगन राज न्यौपानेले गरेको गोसाइँकुण्ड ट्रेकका केही तस्बिरहरू।