मनसुनी झरनामा पानी धेरै हुन्छ। जब झरनाको बाफ उड्दैउड्दै नाकमा आएर ठोकिन्छ, तब रोमाञ्चक अनुभूति हुन्छ। दुधे झरना देख्दा एकातिर आँखा रमाउँछन् भने अर्कातिर पानीको स्पर्शले प्रकृतिको अँगालोमा बेरिएको अनुभूति हुन्छ। यसरी झरनाको फेदीमा पुग्दा तन र मन दुबै रिचार्ज हुन्छन्। काठमाडौं उपत्यका वरिपरि थुप्रे झरना पदमार्ग छन्। यहाँ उपत्यका नजिकैका १० ओटा झरनाको चर्चा गरिएको छ।
हेल्लो मनसुन
मनसुन भन्नेवित्तिकै झमझम पानीमा छाता ओढेर हरियालीमा पदयात्रा गरेको सम्झना आउँछ। झमझम पानी, कलकल खोलाको आवाज, हरियो पछ्यौरी ओढेकी प्रकृति, सेतो बादलको तलाउ, रंगीन इन्द्रधनुष अनि भुइँकुहिरो मनसुनका विशेषता। त्यसैगरी असारे भाकामा गीत गाउँदै खेतमा छुपुछुपु धान रोप्दै गरेका किसान। माटोको सुवास दिने मनसुन।
पानी परेर खहरे खोला ठूलो देखिन्छ भने दुधे झरना समेत आकर्षक देखिन्छन्। मनसुनमा छाता ओढेर हरिया फाँट हेर्दै अनि भुइँकुहिरोमा लुकामारी खेल्दै झरना पदयात्रा गर्न सकिन्छ। यहाँ काठमाडौ वरपरका केही झरनाको चर्चा गरिएको छ।
फुङफुङ झरना
अग्लो चट्टानबाट फुङफुङ गर्दै बगेको पानी। बेजोडले झरिरहेको। घामको स्पर्शमा इन्द्रेनी परेको। टाढैसम्म पानीको बाफ। हेरिरहुँझैं लाग्ने। सय मिटरभन्दा अग्लो झरना। झरना मुन्तिर भिर। भिरमा हरियाली।
फुङफुङ नजिकै छहरे खोला झर्ना पनि छ। फुङफुङमा साहसिक खेल क्यानोनिङ पनि गर्न सकिन्छ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं ४ धन्सारमा पर्छ, फुङफुङ झरना। वर्षैभरि पानी हुन्छ तर वर्षामा पानीको मात्रा बढेर झरना निकै मनमोहक देखिन्छ। त्यसैले झरनाको चिसोमा रमाउन, पोखरीमा पौडी खेल्न र प्रकृतिको काखमा रमाउनेहरूको भिड लाग्छ।
ह्याकुले खोलाको झरना यहाँको प्रमुख आकर्षण। आकाश खुलेका बेला धन्सारबाट हिमालको लामो लर्कन देखिन्छ। अन्नपूर्ण, मनास्लु, गणेश र लाङटाङ हिमसृङ्खलाको दृश्य।
झरनासँग रोचक किंवदन्ती जोडिएको छ। परापूर्वकालमा वरपरका गाउँघरमा कुनै कार्यक्रम हुँदा चाहिने भाँडावर्तनका लागि झरनामा पुगेर विन्ति गरिन्थ्यो। झरनाले तामाका भाँडा दिन्थ्यो। प्रयोग गरेपछि भाँडावर्तन फेरि झरनामै बुझाइन्थ्यो। एक पटक जुठै भाँडा फिर्ता लगिदिएपछि झरनालाई रिस उठ्यो। त्यो बेलादेखि झरनाले सामान दिन छोड्यो।
फुङफुङ झर्ना नजिकै छहरे खोला झर्ना पनि छ। फुङफुङमा साहसिक खेल क्यानोनिङ पनि गर्न सकिन्छ। यहाँ नेपाल क्यानोनिङ संघको सहयोगमा परिचयात्मक क्यानोनिङ गाइड तालिम भैसकेको छ।
झरना क्षेत्रको उचाई करिब १३५० मिटर छ। यहाँ सधैं चिसो हुन्छ। झरना क्षेत्रमा सिंढी निर्माण, कपडा फेर्ने कक्षलगायत संरचना बनाइएको छ। यस क्षेत्रमा बर्ड वाचिङको सम्भावना पनि छ। ‘समृद्ध ककनीको आधार, कृषि पर्यटन र दिगो पुर्वाधार’ भन्ने नारा बोकेको स्थानीय गाउँपालिकाले झरनाको प्रचारप्रसारमा ध्यान पु¥याउनु पर्ने देखिन्छ।
झरनाबाट नजिकै खारे, ३५ किलो बजार, निगाले, रानीपौवा, धन्सारलगायत गाउँ छन्। झरनाभन्दा माथि धन्सारमा होमस्टे सुबिधा छ जहाँ खाना र बास पाइन्छ। त्यसैगरी रानीपौवा बजारमा थुप्रै होटल, लज र रेस्टुराँ छन्। नजिकैको ककनीमा पनि होटल तथा रिसोर्ट छन्।
कसरी पुग्ने ?
गाडीः काठमाडौंबाट बालाजु वाइपास, तीनपिप्ले, ककनी हुँदै रानीपौवासम्म ३२ किलोमिटर। रानीपौवाबाट ५ किलोमिटर ओरालो झरेपछि धन्सार पुगिन्छ। जिप र बाइक धन्सारसम्मै जान्छ। समय, २–३ घण्टा। धन्सारबाट करिब ७ मिनेट सिँढीको बाटो ओरालो झरेमा फुङफुङ झरना।
पदमार्गः पदयात्रा भने ककनीको काउलेबाट सुरु गर्ने। काउलेबाट बायाँ लाग्ने। काउले–झरना करिब ७ किलोमिटर। गएकै बाटो फकर्ने वा रानीपौवासम्म पदयात्रा ५ किलोमिटर।
पदयात्रा दुरीः १२ किलोमिटर।
समयः करिब ५ घण्टा।
सम्पर्क
सुबास तामाङ– ९८४६६६११२४
तीनतले झरना
महाभारत पर्वत शृङ्खलाको खोंचबाट छङछङ बगेको झरना। तीन ओटा खण्ड भएकाले तीनतले झरना भनिएको। बेथानचोक गाउँपालिका–१, काभ्रेपलाञ्चोकमा पर्ने ठोट्ने खोलाबाट बनेको झरना। च्याम्राङबेँसीको च्यालम तथा फाइमराङका बिचमा झरना। झरना मुन्तिर पौडी पोखरी। गर्मी छल्न उपयुक्त गन्तव्य।
च्याम्राङबेँसीको च्यालम तथा फाइमराङका बिचमा झरना। झरना मुन्तिर पौडी पोखरी। गर्मी छल्न उपयुक्त गन्तव्य।
बेथानचोकको नारायणथान, ठोट्ने खोलाको मुहान। भित्रभित्रै बगेर आएको छ, झर्नाभन्दा माथि मात्र देखिन्छ खोला। यहाँको पानीमा नुहाएमा शरीर शुद्ध हुने जनविश्वास छ। पोखरीको कञ्चन पानीमा नुहाउन र पौडी खेल्न पाइन्छ। झरनामा शिव र बुद्धको आकृति पनि देखिन्छ।
शान्त एवम् मनमोहक ठाउँ। मनसुनमा भुइँकुहिरोको सौन्दर्य। चैतवैशाखमा लालीगुराँसको उज्यालो। प्रकृतिको सुन्दर उपहार अर्थात् तीनतले झरना। झरनाको उचाई नापिएको छैन। यहाँ साहसिक खेल क्यानोनिङको प्रचुर सम्भावना देखिन्छ। झरना क्षेत्रलाई व्यबस्थित बनाउने प्रयास गरिएको छ। केही वर्षयता काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुरका पर्यटक आउने गरेका छन्।
झरना सेरोफेरोमा पवित्र तिर्थस्थल छन्। चक्रेश्वर महादेव र महाँकालथान। झरना नजिकै फाइमराङ, बेसीबजार, तामरुपा र च्यालमलगायतका गाउँ छन्। झरना नजिकै सामान्य खाजा पसल छ। झरना घुमेर फर्कंदा स्थानीय उत्पादनहरू तरकारी, खुवा र मह कोसेली किनेर ल्याउन पाइन्छ।
कसरी पुग्ने ?
गाडीः काठमाडौंबाट बनेपा हुँदै ३३ किलोमिटरमा पनौती बजार, समय डेढ घण्टा। पनौतीबाट २६ किलोमिटरमा झरना करिब १ घण्टा। पनौतीबाट १३ किलोमिटर ढुङ्खर्क बजारसम्म पक्कि सडक छ। त्यहाँबाट कच्चि सडक। बस, जिप वा बाइकमा जान सकिन्छ। झरना क्षेत्रमा भने जिप र बाइक मात्र जान्छ। ललितपुरको गोटीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै पनि च्याम्राङबेसी आउन सकिन्छ।
पदमार्ग: बस्तीबाट हिँडेर जाँदा २.५ किलोमिटर ओरालो झरेमा भरना र त्यही बाटो बस्तीसम्म पदयात्रा।
पदयात्रा दुरी: आउन र जान ५ किलोमिटर।
समयः २ घण्टा पुग्न र फर्कन।
सम्पर्क
मधुसुदन तिमिल्सिना–९८४१६९९०७४
वडाध्यक्ष
लखिनश्वरी झरना
बेगले झरेको लामो छाँगा, आँख नझिम्क्याई हेरिरहुँझैं लाग्ने। तल पौडी खेल्न मिल्ने पोखरी। नजिक पुग्दा उड्दै आएको झरनाको चिसो पानीको स्पर्शले सितल बनाइदिन्छ। बाटैमा पर्छ झरना। शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ, लखिनश्वरी झरना।
झरना नजिकै लखिनश्वरी महादेव मन्दिर पनि छ, जहाँ फागु पूर्णिमाका दिन मेला लाग्छ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को सीमामा पर्ने सिक्रे गाउँमा छ झरना। नजिकै लखिनश्वरी महादेव मन्दिर पनि छ, जहाँ फागु पूर्णिमाका दिन मेला लाग्छ। झरनामा वर्षैभरि पानी हुन्छ। मनसुनमा भने बढी सुन्दर देखिन्छन् झरना। लखिनश्वरी क्षेत्रमा साना तथा ठुला अरु धेरै झरना पनि छन्।
लखिनश्वरी नजिकै सिक्रे गाउँमा गुरुङ समुदायको बसोबास छ। यहाँ ग्रामीण जीवनशैलीको सुवास मग्मगाउँछ। झरना नजिकै खाजा पसल छैन तर झरना वरपर बस्तीका खाजाघरमा खाना तथा खाजा सुविधा पाइन्छ। यहाँ होमस्टे पर्यटनको सम्भावना देखिन्छ।
लखिनश्वरी पदयात्रा गर्दा खोलेगाउँबाट सुरु गर्ने। खोलेगाउँबाट दायाँ लाग्ने। पदमार्गमा दर्जनौ झरनाहरूको अवलोकन गर्दै हिँड्न पाइन्छ भने हरियाली गाउँबस्ती हेर्दै हिँड्दा मनमा ऊर्जा बढ्छ।
गाउँबाट मौसमी तरकारी र फलफूल कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्ने ?
गाडीः काठमाडौंको सामाखुसी चोकबाट खोलेगाउँसम्म गाडीमा ३२ किलोमिटर। खोलेगाउँबाट बायाँ लाग्ने। मोटरबाइक वा जिप झरनासम्मै पुग्छन्। तर पानी परेर बाटो चिप्लो हुने भएकाले होसपूर्वक चलाउनु पर्छ। काठमाडौंको सामाखुसी चोकबाट भने २६ किलोमिटर दुरीमा छ, लखिनश्वरी झरना। सामाखुसी चोकबाट गुर्जेभन्ज्याङ हुँदै चौकी पुगेपछि दाहिने मोडिएर पाटी हुँदै पुगिन्छ, झरनामा।
पदमार्ग: खोलेगाउँ गुरुङ बस्ती, सिक्रे, लखिनश्वरी झरना ७ किलोमिटर। फर्कदा गएकै बाटो खोलेगाउँसम्म पदयात्रा।
पदयात्रा दुरीः १४ किलोमिटर।
समयः ५–६ घण्टा ।
सम्पर्क
चन्द्रबहादुर गुरुङ–९८५१११२०२३
वडाध्यक्ष, शिवपुरी गाउँपालिका–४, नुवाकोट
तीनछाँगे झरना
एकै ठाउँमा पहरोबाट झरेका तीन ओटा छाँगा। भुइँमा स्यानो तलाउ। झलक्क हेर्दा आँखा रमाउने। थली, गुर्दुम र लिखु खोला नै झरनामा बग्ने पानीको मुहान।
काठमाडौंसँग सिमा जोडिएको धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–७ मा पर्दछ, तीनछाँगे झरना। चारैतिर हरियाली वातावरण। वरपर तामाङ बस्ती। ग्रामीण जीवनशैली। गज्जब छ, तीनछाँगे क्षेत्र। झरनाको सौन्दर्यमा वर्षैभरि रमाउन सकिन्छ। मनसुनमा पानीको मात्रा धेरै हुन्छ।
नौबिसेबाट ४ किलोमिटरमा पर्दछ झरना। झरनाको फेदीसम्मै सडक ट्रयाक खुलिसकेको छ।
झरनाको नाप नक्सा बनाएर यहाँ साहसिक खेल क्यानोनिङ सञ्चालन गर्न सकिन्छ। झरना भएकै ठाउँमा बस्ती छैन। करिब दश मिनेट वर केही पसल छन्, जहाँ अर्डरअनुसार खाजा र खाना पाइन्छ। बासका लागि नौबिसे वा खानीखोलामा होटल सुबिधा छ। झरनाको फेदीसम्मै सडक ट्रयाक खुलिसकेको छ तर बाटो अफ रोड छ।
कसरी पुग्ने ?
गाडीः काठमाडौंबाट पृथ्वी राजमार्गको नौबिसेसम्म २६ किलोमिटर डेढ घण्टा। नौबिसेबाट ४ किलोमिटरमा तीनछाँगे झरना। नौविसेबाट ३ किलोमिटरमा पर्ने दोभानसम्म ट्याक्सी वा अन्य गाडीमा जान सकिन्छ। दोभानबाट १ किलोमिटर भने हिँड्नै पर्छ। झरनासम्म मोटरबाइक लान पनि मिल्छ।
पदमार्ग १: नौबिसे–दोभान–झरना ।
पदयात्रा दुरी: ८ किलोमिटर (आउन र जान) ।
समय: २ घण्टा ।
पदमार्ग २–खानीखोला–सिम्लेचौर–दोभान–झरना
पदयात्रा दुरी: ७ किलोमिटर (एकतर्फी)
समय: २.५ घण्टा ।
सम्पर्क
बिशाल तामाङ–९७४५६५६२९८
खाजाघर सञ्चालक
महभिर झरना
खोंचमा मनमोहक झरना। भुइँमा दुई ओटा तलाउ। वरपर ठुलठुला ढुङ्गा। मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ मा पर्दछ, महभिर झरना। ठाडो खोलाको पानी झरनाको स्रोत।
पहिलापहिला झरना नजिकै ढुङ्गे पहरामा भिरमौरी बस्दथे। तिनको मह काढिन्थ्यो। मह पाइने भिर भएकाले यस ठाउँलाई ‘महभिर’ भनिएको। अचेल भिरमौरी भने छैनन्।
सबैलाई मोहित पार्ने झरना भएकाले यसलाई घुमन्तेहरूले ‘मोहिनी’ झरनाको उपमा दिएका। झरना क्षेत्रलाई व्यवस्थित बनाइएको छ। प्रवेशका लागि शुल्क तिर्नु पर्दछ। झरना नजिकै ठाडो खोला गाउँ छ, जहाँ मगर समुदायको बसोबास छ। बस्तीमा खाना र खाजा पाइन्छ। साथमा सामान्य बास सुविधा पनि।
झरनामा साहसिक खेल ‘क्यानोनिङ’को सम्भावना छ। महभिर झरनाको यात्रामा इन्द्रसरोवरमा डुङ्गा सयर र नजिकैको बाख्रा फारम र चित्लाङ बस्ती भ्रमण गर्न पनि सकिन्छ। पदयात्रा गर्दा चिल्लाङको बाख्रा फारमबाट सुरु गर्ने। फारमबाट मार्खु इन्द्रसरोबरको झोलुङ्गे पुल तरेर साइकल ट्रायाक लाग्ने। तलाउको तिरैतिर अनि हरियो जंगल विचको बाटो निकै रोमाञ्चक छ।
कसरी पुग्ने ?
गाडीः काठमाडौंको थानकोटबाट चन्द्रागिरि हुँदै मकवानपुरको मार्खुसम्म ३६ किलोमिटर गाडीमा। मार्खुबाट ५ किलोमिटरमा झरना क्षेत्र। झरना नजिकैसम्म सडक पुगेको छ तर कच्ची।
पदयात्रा दुरीः बाख्रा फारम–इन्द्रसरोबर ३ किलोमिटर। इन्द्रसरोवर–झरना ३ किलोमिटर उकालो। गएकै बाटो फर्कने। जम्मा पदयात्रा दुरी १२ किलोमिटर।
समयः ५ घण्टा।
सम्पर्क
माइला दाइ–९८०८२३९१६१
खाजाघर सञ्चालक
लप्से झरना
वर्षैभरि पानी हुने सुन्दर झरना हो, लप्से। बाह्रै महिना पदयात्रा गर्न सकिन्छ। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६, मोहरथोकमा पर्दछ झरना। खोलेगाउँ बस्तीभन्दा तल खोंचमा छ, झरना। गाउँलेले यसलाई ‘ठुलो भिरको छाँगा’ भन्ने गरेका छन्।
छाँगाको शिर र पुछारमा ढुङ्गाबाट बनेका प्राकृतिक पोखरी पनि छन्। खोलेगाउँमा हेर्नलायक अरु झरना पनि छन्।
छाँगाको शिर र पुछारमा ढुङ्गाबाट बनेका प्राकृतिक पोखरी पनि छन्। खोलेगाउँमा लप्सेसहित छोङछोङ र टुनी खोला झरना पनि छन्।
खोलेगाउँ आफैंमा विभिन्न जातजातिको सुन्दर फूलबारी हो। तामाङ जातिको बाहुल्य रहेको गाउँमा बाहुन, नेवार, गुरुङलगायतको बसोबास छ। गाउँलेको मुख्य पेसा कृषि हो। खाना र बासका लागि खोलेगाउँमा शिवपुरी अर्गानिक होमस्टे सञ्चालित छ।
खोलेगाउँबाट मौसमी तरकारीसहित मह, घिउ, डोको, नाम्लो, बेसार, भोगटे, दुनाटपरीलगायत स्थानीय उत्पादन कोसेली ल्याउन पाइन्छ।
पदयात्रा चौकी भन्ज्याङभन्दा तल अर्खौलेबाट सुरु गर्ने। अर्खौलेबाट बायाँ लागेर गाउँबस्ती खेतबाली हुँदै वडा कार्यालय र त्यहाँबाट खोलेगाउँ भएर झरनामा पुगिन्छ। पदमार्गमा गाउँले बस्तीहरू र लिखु खोलाको दृष्य हेर्दै हिँड्न सकिन्छ।
कसरी पुग्ने ?
गाडीः काठमाडौंको सामाखुसी चोकबाट ग्रान्डी अस्पताल, गुर्जेभन्ज्याङ, पुलिसचौकी ह्ुँदै खोलेगाउँसम्म २१ किलोमिटर पक्की सडक र त्यहाँबाट १ किलोमिटर कच्ची सडकमा खोलेगाउँ होमस्टेसम्म, गाडीमा २ घण्टा। होमस्टेबाट आधा घण्टा पदयात्रामै झरना पुग्न सकिन्छ।
पदमार्ग: अर्खौले–वडा कार्यालय ८ किलोमिटर। वडा कार्यालय–खोलेगाउँ होमस्टे ३ किलोमिटर, होमस्टे–झरना १.५ किलोमिटर। गएकै बाटो होमस्टे हुँदै खोलेगाउँ सम्म २.५ किलोमिटर र खोलेगाउँबाट मानेडाँडासम्म २ किलोमिटर।
पदयात्रा दुरी: १७ किलोमिटर।
समयः ६ घण्टा।
सम्पर्क
विष्णु श्रेष्ठ–९८५११५५१५८
वडाध्यक्ष, शिवपुरी गाउँपालिका–६, नुवाकोट
पञ्चकन्या झरना
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–१२ मा अवस्थित ‘पञ्चकन्या झरना’ मनमोहक छ। डाँडाबाट वेगले झरेको पानी। झरनाको फेदीमा तलाउ।
पञ्चकन्या झरना घुमफिरमा निस्कँदा सांस्कृतिक नगरी पनौती र पौराणिक भालेश्वर मन्दिर दर्शन गर्न छुटाउनु हुँदैन।
झरना नजिकै पञ्चकन्या मन्दिर पनि छ। यिनै देवीको नामबाट झरनाको नामकरण गरिएको छ। झरनामा वर्षैैभरि पानी हुन्छ, यात्रा गर्न सकिन्छ।
पञ्चकन्या झरना घुमफिरमा निस्कँदा सांस्कृतिक नगरी पनौती र भालेश्वर मन्दिर दर्शन गर्न बिर्सनु हुँदैन। पौराणिक भालेश्वर मन्दिर नजिकै पानीघट्ट पनि छ। घट्टमा पिँधिएको स्थानीय मकै र गहुँको पिठो किन्न पाइन्छ।
खाना र बासका लागि झरना क्षेत्रमा ‘पञ्चकन्या ट्राउट एन्ड मिनी रिसोर्ट’ सञ्चालित छ। स्थानीय युवाहरू निर्पन कार्की, जीवन के.सी., विशाल के.सी र विजय के.सीले निर्माण गरेका हुन्, रिसोर्ट।
कसरी पुग्ने ?
गाडीः काठमाडौंबाट बनेपा हुँदै पनौतीबजार ३३ किलोमिटर। पनौतीबाट ७ किलोमिटरमा झरना क्षेत्र। जिप, बस वा मोटरबाइकमा जान सकिन्छ। त्यहाँबाट ५ मिनेट पदयात्रामा पञ्चकन्या झरना।
पदमार्ग: पौराणिक भालेश्वरबाट पदयात्रा सुरु गरेर झरनामा पुगेर भालेश्वरसम्मै पदयात्रा गर्ने।
पदयात्रा दुरी: ८ किलोमिटर (भालेश्वर–झरना–भालेश्वर)
समय: ३ घण्टा
सम्पर्क
पञ्चकन्या ट्राउट रिसोर्ट–९८५११५६३२४
तिप्चे झरना
कोन्ज्योसोम गाउँपालिका–१, ललितपुरमा प्रकृतिको एउटा सुन्दर उपहार छ, तिप्चे झरना। नापजाँच त भएको छैन, झलक्क हेर्दा झरना करिब २० मिटर अग्लो छ। यसको सेरोफेरोमा अरु झरना पनि छन्।
बाह्रै महिना पानी हुन्छ झरनामा। वर्षातमा भने पानी बढी हुन्छ, हिउँदमा कम। तिप्चे झरनाको पानी ठोस्ने खोलामा गएर मिसिन्छ।
झरना क्षेत्रमा कुनै होटल, पसल वा रेस्टुराँ छैन। सिंगन भन्ज्याङमा होटल तथा रिसोर्ट सुबिधा छ।
झरना वरपरका गाउँमा तामाङ समुदायको बसोबास छ। उनीहरू तिप्चे खोलालाई ‘तिप्चे स्योङ्’ भन्छन्। तामाङ भाषाको शब्द ‘स्योङ’को अर्थ हुन्छ, खोला। तिप्चे खोलाबाट बनेकाले तिप्चे झरना भनिएको।
सरकारले साविकका पाँच गाविस नल्लु, भारदेऊ, चौघरे, शंखु र दलचोकीलाई समेटेर कोन्ज्योसोम गाउँपालिका बनाएको हो। तामाङ जातिको बाहुल्य छ गाउँपालिकामा। तामाङ भाषामा ‘कोन्ज्यो’ को अर्थ ‘भगवान’ र ‘सोम’ को अर्थ ‘तीन’ हो। तीन भगवानको समूहलाई कोन्ज्योसोम भनिन्छ।
चौघरेमा पर्दछ झरना। चार घरबाट चौघरे नाम रहन गएको भनाइ छ। उहिले यहाँ चार मात्र घर थिए। पछि बस्ती बढ्यो। त्यसैगरी जौको खेती बढी हुने भएकाले जौघरे भन्दाभन्दै चौघरे बन्न गएको भनाइ पनि छ।
यहाँ तामाङ समुदायको बसोबास छ। गाउँलेहरू पशुपालन र कृषि कर्ममा निर्भर छन्। यहाँ मकै, फापर, जौ, गहुँ, तोरी, केराउ, आलु, सागसब्जी, काउली, बन्दा आदि उत्पादन हुन्छ। झरना क्षेत्रमा कुनै होटल, पसल वा रेस्टुराँ छैन। सिंगन भन्ज्याङमा होटल तथा रिसोर्ट सुबिधा छ। पदयात्रा सिंगन भन्ज्याङबाट सुरु गर्ने।
कसरी पुग्ने ?
गाडीः ललितपुरको लगनखेलबाट भारदेऊ हुँदै सिंगन भन्ज्याङसम्म २६ किलोमिटर गाडीमा २ घण्टा। भन्ज्याङबाट आधा घण्टा ओरालो झरेमा झरना। झरनाबाट करिब १ घण्टा उकालो चढेमा सिंगन भन्ज्याङ।
पदमार्ग: सिंगन भन्ज्याङदेखि ओरालो झरेर तिप्चे खोला हुँदै तिप्चे झरना पुग्ने पुग्ने। झरनाबाट गएकै बाटो सिंगन भन्ज्याङसम्म उकालो। त्यहाँबाट चौघरे बाघभैरव, लाँकुरे भन्ज्याङ, तल्लो फेदी हुँदै नल्लु खोलासम्म पदयात्रा।
पदयात्रा दुरीः सिंगन भन्ज्याङ–तिप्चे झरना ३ किलोमिटर ओरालो। झरना–सिंगन भन्ज्याङ ३ किलोमिटर ठाडो उकालो, भन्ज्याङ– बाघभैरब– लाँकुरी भन्ज्याङ–नल्लु खोला १० किलोमिटर। जम्मा पदयात्रा दुरी १६ किलोमिटर।
समय: करिब ६ घण्टा ।
सम्पर्कः
पासाङ लामा– ९८६००९९८७९
झोर झरना
काठमाडौंको प्राचीन नेवार बस्ती टोखा नजिकै झोरमा दुई ओटा झरना छन्। बरुणेश्वर संरक्षण समितिका अनुसार एउटा झरना २८ मिटर र अर्को ३६ मिटर लामो छ। बर्खामा सुन्दर देखिन्छन् झरना।
यहाँको जल पवित्र मानिन्छ। काठमाडौंका युवा यहाँ आएर नुहाउँछन्। लुगा लगाएरै नुहाउने चलन छ। यसरी नुहाउँदा चर्म रोग पखालिने जनविश्वास छ।
झरना क्षेत्र धार्मिक तिर्थस्थल पनि हो। यहाँ बरुणेश्वर गुफा छ। गुफाभित्र महादेव बसेका छन्।
चट्टानमा रहेको झरनामा क्यानोनिङको सम्भावना छ। हिउँदमा चाहिँ झरनाको पानी सुक्छ। त्यतिबेला यहाँको पानी खाने प्रयोजनका लागि अन्यत्र लगिन्छ।
झरना क्षेत्र धार्मिक तिर्थस्थल पनि हो। यहाँ बरुणेश्वर गुफा छ। गुफाभित्र महादेव बसेका छन्। गुफा बाहिर पनि महादेव, गणेश र बिष्णुका मूर्ति छन्। नेपाल भाषामा यसलाई ‘गुँ महादेव’ भनिन्छ।
खोंचमा छन् श्रीकृष्ण बरूणेश्वर गुफा र झरना छन्। गुफा करिब २५ मिटर लामो छ। गुफाको दायाँ नारायण र लक्ष्मीका मूर्ति छन्।
जनबोलीमा बरुणेश्वरलाई ‘बौंडेश्वर’ भनिन्छ। श्रीस्वस्थानी ब्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा यहाँ उनको बायाँ स्तन पतन भएको थियो। पछि यहीँ आएर श्रीकृष्णले तपस्या गरेका थिए।
अर्को किंवदन्तीअनुसार भष्मासुरले महादेवलाई लखेट्दै जाँदा महादेव भाग्दैभाग्दै यही गुफामा आएर बसेका थिए। त्यसैगरी पाँच पाण्डव पनि यही बाटो भएर गएको भनाई छ। सानो पोखरीमा पाण्डव बसेको भनाई छ। यहाँका चट्टानमा मृग र सीताको पाइलाका आकार पनि देखिन्छ।
झोरबाट टोखा बस्ती र काठमाडौंको दृश्य राम्रो देखिन्छ। गुफा क्षेत्रमा रेस्टुराँ तथा होटल छन्। झरनामा जाँदा टोखा बजार पनि घुम्नु बेस हुन्छ। चाकु उत्पादनका लागि टोखा प्रख्यात छ। यहाँ चण्डेश्वरी, बज्रयोगिनी, भिमसेन, सपनतीर्थ, मसाकाली, संकटामाई लगायत तिर्थस्थल पनि छन्। टोखाबाट गुर्जे भन्ज्याङ जाने सडक मुन्तिर खोंचमा छन् महादेव।
कसरी पुग्ने ?
गाडी: काठमाडौंको सुन्धाराबाट सामाखुसी, टोखा हुँदै झोरसम्म १३ किलोमिटर गाडी यात्रा। टोखा–झोर ४ किलोमिटर। गाडी झरना नजिकसम्म पुग्छ। गाडीबाट ७ मिनेट ओरालो झरेमा झरना।
पदमार्गः टोखासम्म गाडीमा। टोखा नगरी भ्रमण गरेर सपन तिर्थ हुँदै झोर ४ किलोमिटर। पुरै बाटो पिच बाटो।
समय: १ घण्टा ।
पदयात्रा दुरी: ४ किलोमिटर ।
टुडी झरना
टुडी झरना नगरकोटको बास्तोला गाउँमा पर्ने खोले खेतमा अवस्थित छ। झरना करिब २५ मिटर अग्लो छ। झरना मुनि पोखरी छ। यहाँ नुहाउन र पौडी खेल्न पाइँदैन।
झरनाबाट २ किलोमिटर दुरीको बास्तोला गाउँमा बाहुन समुदायले होमस्टे सञ्चालन गरेको छ।
झरनामा वर्षैभरि पानी हुन्छ। मनसुनमा पानीको मात्रा बढेर झरना झनै आकर्षक देखिन्छ। राणा कालदेखि नै नगरकोट र भक्तपुरमा पानी पिउन प्रयोग गरिएको पानीको स्रोत नै टुडी झरना हो। अचेल पनि प्रयोग भैरहेको छ।
नगरकोट टावरमुन्तिरको महादेव पोखरी नै झरनाको मुख्य मुहान। यहाँ गरुडले घुँडा धसेको ढुङ्गा पनि छ। समुद्री सतहबाट करिब १६०० मिटर उचाइमा रहेको झरना क्षेत्रमा वर्षैभरि पदयात्रा गर्न सकिन्छ।
गाउँ नजिकै रानीझुला (पुल) छ। झरनाबाट २ किलोमिटर दुरीको बास्तोला गाउँमा बाहुन समुदायले होमस्टे सञ्चालन गरेको छ।
बास्तोला होमस्टेमा खाना, खाजा र बासको राम्रो सुविधा छ। होमस्टेमा खबर गरेर गएमा स्थानीयले घुमाउँछन्।
कसरी पुग्ने ?
गाडीः काठमाडौबाट मुहानपोखरीसम्म १५ किलोमिटर गाडीमा १ घण्टा। अथवा बास्तोला बस्तीसम्म २२ किलोमिटर गाडीमा। बास्तोला होमस्टेबाट २ किलोमिटर अर्थात् आधा घण्टा पदयात्रामा टुडी झरना।
पदमार्ग
१. मुहानपोखरीबाट रानीझुला, टुडी झरना, बास्तोला होमस्टे, जाल्पादेवी, तेलकोट, पञ्चमहालक्ष्मी मन्दिरसम्म पदयात्रा।
पदयात्रा दुरीः मुहानपोखरी रानीभुला २ किलोमिटर, रानीझुला टुडी झरना २ किलोमिटर। झरनाबाट बास्तोला होमस्टे २ किलोमिटर। होमस्टे–जाल्पादेवी–तेलकोट–पञ्चमहालक्ष्मी ६ किलोमिटर। जम्मा १२ किलोमिटर।
समयः ६ घण्टा।
२.बास्तोला होमस्टेसम्म गाडीमा। त्यहाँबाट टुडी झरना, रानीझुला हुँदै जिपलाइन, बोझिनी ड्याम, महादेव पोखरी, नगरकोट टावर।
पदयात्रा दुरीः करिब १० किलोमिटर। पुरै बाटो ठाडो उकालो।
समयः ४ घण्टा।
सम्पर्क
सुरज बाँस्तोला–९८४१२११५९७
होमस्टे सञ्चालक
अन्त्यमा
यसका साथै काठमाडौ वरपर अरु पनि झरना पदमार्ग छन्। मनसुनी पदयात्रा निकै रोमाञ्चक हुन्छ। तर मनसुनमा बाटो हिलो हुने, कतै बिग्रने र पैरो जाने भएकाले पदयात्रा गर्दा धेरै कुरामा ध्यान दिनु पर्छ।
मनसुन यात्रामा ध्यान दिनुपर्ने कुरा :
- मनसुन यात्रामा निस्कनुअघि जहाँ जाँदै हुनुहुन्छ त्यस ठाउँका स्थानीय सरोकारवालासँग बाटोको अवस्थाबारे राम्रोसँग जानकारी लिने। सकेसम्म नचिप्लने फराकिलो बाटो रोज्ने।
- पानी परेर खोला ठुला हुने भएकाले खोला छेउ वा पैरो जाने जोखिम भएका ठाउँमा पदयात्रा नगर्ने वा धेरै सावधानी अपनाउने।
- यात्रा गर्दा छाता, बर्सादी, ट्रेकिङ स्टिक अनिवार्य बोक्ने।
- नचिप्लने स्पोर्ट जुत्ता लगाउने। झोलामा आफ्नो लागि पानी र फलफूल बोक्ने।
- बर्खामा बाटो चिप्लो हुन्छ, ख्याल गर्ने। तस्बिर खिच्दा होस पु¥याउने। झरनातिर सकेसम्म पौडी नखेल्ने। पौडी खेल्दा धेरै ध्यान पु¥याएर खेल्ने।
- मनसुनमा मोटरबाइक वा गाडी चलाउँदा बाटोको ख्याल गरेर चलाउने। होहल्ला गरेर मनलाग्दो तरिकाले नचलाउने। आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुन प्रेरित गर्ने। मोटरबाइक, गाडी पुग्छ भन्ने सुनेको भरमा मात्र नजाने। राम्रोसँग बाटोको अवस्था बुझेर मात्र जाने र साबधानीपूर्वक चलाउने।
- पानीमा धेरै भिजेर नहिँड्ने। लामो समयसम्म पौडी खेल्ने काम नगर्ने।
- मनसुनमा झरनातिर पदयात्रा गर्दा जगेडा कपडा र विन्डसिटर अनिवार्य बोक्ने।
- मनसुनमा जुका वा अन्य किराबाट बच्ने। झारपात छुने वा लेउ लागेको ठाउँबाट नहिँड्ने। जुका वा अन्य किराबाट बच्न सन्चो वा अन्य साबधानी अपनाउने।
- गाउँघरतिर घुम्न जाँदा ताजा तरकारी वा हस्तकलाका सामान किनेर ल्याउने। यसबाट स्थानीयको उद्यमशीलता विकासमा सहयोग पुग्छ।
- झरनाका तस्बिर, भिडियो र जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेर ती ठाउँको प्रवद्र्धनमा टेवा पुर्याउने।
- सकेसम्म एक्लै पदयात्रा नगर्ने। सुरक्षाका लागि ५–१० जनाको समूह बनाएर हिँड्ने।
(हाइकिङविज्ञ राम देवी महर्जन 'हाइकिङ काठमाडाैं' पुस्तककी लेखक हुन् ।)