चकलेट प्रायः हरेक उमेरका व्यक्तिलाई मनपर्छ। चकलेटमा झन् आफ्नै नाम लेखिएको भए कस्तो लाग्ला? वा, कसैसँग माफी माग्न चकलेटमा 'आई एम सरी' लेखेर दिए उताबाट कस्तो प्रतिक्रिया आउला?
तीन वर्षअघि काठमाडौंकी शैली डंगोललाई यस्तै विचार आएको थियो।
उनले आफ्नो सोचलाई कल्पनामा सीमित राखिनन्। व्यवसाय बनाउने ठानिन्। व्यवसायको नाम राखिन्- चोकोमरी।
नेपाल भाषामा 'मरी' भनेको रोटी वा मिठाइलाई भनिन्छ। यसैमा चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री चोको नाम जोडेर शैलीले व्यवसायको नाम चोकोमरी राखेकी हुन्।
'चकलेटसम्बन्धी काम भएर यो नाम उपयुक्त लाग्यो। यो नाम सम्झिन पनि सजिलो छ,' ३१ वर्षीया शैलीले भनिन्।
चोकोमरीमार्फत् उनले ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइनमा चकलेट बनाउँछिन्। नरिवल, कारामेल, दूध, सुन्तला, स्ट्रबेरी लगायत थुप्रै स्वादसँगै डार्क चकलेट पनि यहाँ पाइन्छ।
.jpg)

ग्राहकले बार, क्यान्डीदेखि गोलो, तारा, गोलो, मुटु, फूल आकार लगायत आफूले खोजेका-रोजेका डिजाइनमा चकलेट बनाउन सक्छन्। त्यस्तै चकलेटको खोल पनि कस्टमाइज गरेर बनाउन सकिन्छ। अझ विशेष, आफूले कसैलाई भन्न चाहेका भावना चकलेटमै उतार्न सकिन्छ।
'आई लभ यू', 'आई एम सरी', 'ह्यापी मदर्स-फादर्स डे', 'ह्याप्पी वेडिङ'- जे लेखाए पनि भयो। यी चकलेटको स्वाद पनि ग्राहक आफैंले रोज्न सक्छन्।
'चोकोमरीमार्फत् आफ्नो भावना पनि पोख्न सकिन्छ। आफूलाई मनलागेको सन्देश चकलेटमा लेखेर दिँदा कसको पो मन पग्लिँदैन,' चोकोमरी सञ्चालक शैली भन्छिन्, 'भावना साटासाट गर्ने यो राम्रो माध्यम बन्न सक्छ भन्ने सोचमा चोकोमरी सुरू गरेकी हुँ।'
धेरै ग्राहकले चकलेट पाउने व्यक्ति दंग परेको खबर सुनाउँदा शैलीलाई आफ्नो मेहनत साकार भएको अनुभव हुन्छ।
शैली यो व्यवसायमा लाग्नुअघि बैंकिङ क्षेत्रमा जागिरे थिइन्। उनले इन्टेन्सिभ इन्टरनेसनल कलेजबाट व्यापार व्यवस्थापनमा स्नातक सकेकी छन्। स्नातक सकेलगत्तै काम थालिन्। २०७१ सालमा बिहे गरिन्, दुई वर्षपछि उनकी छोरी जन्मिन्। यसपछि शैलीलाई घर र जागिर सम्हाल्न मुस्किल पर्यो।
.jpg)
.jpg)
'जागिरमा कामअनुसारको तलब पनि नहुने। त्यसैले जागिर छाडेँ,' उनले भनिन्।
तर शैली लामो समय घरभित्रै सीमित हुन सकिनन्। यही बेला हो उनलाई चोकोमरीको आइडिया आएको। काम सुरू गर्नुअघि उनले परिवार र साथीहरूको सहयोगमा केही समय बजार बुझिन्। झन्डै तीन महिना चकलेट बनाउन सिकिन्।
अनि २०७५ साल, माघ १ गतेदेखि आधिकारिक रूपमा चोकोमरी सञ्चालन भएको हो। उनले जम्मा दस हजार रूपैयाँको कच्चा सामग्री किनेर व्यवसाय थालेकी थिइन्। बाफलमा कार्यालय स्थापना, चकलेट बनाउने मेसिन र अन्य सामग्री किनमेल गर्दा अहिले यहाँ झन्डै ५ लाख लगानी भएको शैली बताउँछिन्। चोकोमरीमा शैलीसहित चार जना काम गर्छन्।
बजारमा पाइने चकलेट र चोकोमरीमा निकै भिन्नता हुने शैलीको भनाइ छ।
'चोकोमरी ताजा त हुन्छ नै, यसलाई ग्राहकले चाहेअनुसारको बनाउन सकिन्छ। सन्देश लेख्न सकिन्छ,' उनी भन्छिन्।
सुरूआती दिनमा शैलीले निकै समय व्यवसायमा खर्चिन्। उत्पादन बजारसम्म पुर्याउन सामाजिक सञ्जालको प्रयोग बढाइन्। केही समयपछि विभिन्न कर्पोरेट हाउस र व्यक्तिगत हिसाबबाट चकलेट अर्डर आउन थाल्यो। विस्तारै चोकोमरीको माग बढ्दै गयो।
.jpg)
.jpg)
'सुरूका दिनमा चकलेटमा सन्देश लेखेर दिन सकिने वा यसलाई उपहारका रूपमा प्रयोग गर्न सकिने भन्ने कुरामै प्रश्न उठ्थ्यो। तर अहिले धेरैले बुझ्नुभयो,' शैली भन्छिन्, 'हालसम्म ग्राहक प्रतिक्रिया सकारात्मक छ। त्यसैले पनि ग्राहकको विश्वास जित्यौं भन्ने लाग्छ।'
ग्राहकले चोकोमरीमा पाँच सयदेखि दुई हजार रूपैयाँसम्मका चकलेट बनाउन सक्छन्। चकलेटको आकार र स्वादअनुसार मूल्य फरक पर्छ।
हाल चोकोमरीले दैनिक १५ वटासम्म अर्डर लिँदैछ। तर विशेष दिनहरू जस्तै, मातातीर्थ औंसी, कुशे औंसी, रक्षाबन्धन, विवाहको सिजन लगायतमा बढी अर्डर आउँछ।
अनलाइनमा आधारित चोकोमरीको व्यवसाय फस्टाउँदैछ। सँगै बजारमा प्रतिस्पर्धा बढ्दो छ। विभिन्न ब्रान्डले यही आइडियामा काम गरेको पाइन्छ। यसमा शैली भन्छिन्, 'प्रतिस्पर्धा बढ्दो हुनाले आफ्नो ब्रान्ड धेरै समूहमाझ चिनाउन चुनौतीपूर्ण छ। हामी बजार व्यवस्थानमा विशेष ध्यान पुर्याउँदै छौं। तर यसलाई स्वस्थ प्रतिस्पर्धाका रूपमा लिन्छौं।'
चोकोमरीका चकलेटको बाहिरी जिल्ला र विदेशबाट पनि माग आउँछ। प्रायः बाहिर रहेका नेपालीले नेपालमा भएका आफन्तलाई उपहारका रूपमा दिने शैली बताउँछिन्।
.jpg)
.jpg)
हाल डेलिभरी भने उपत्यकाभित्र सीमित छ। डेलिभरीका लागि छुट्टै कर्मचारी भए पनि फुर्सदमा शैली आफैं पुग्छिन। यसबाट ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न सकिने उनको भनाइ छ।
चोकोमरीमा अहिले विभिन्न स्वादको परीक्षण पनि हुँदैछ। साथै भविष्यमा सुगर-फ्री (चिनीरहित) चकलेट र पुष्टकारी बनाउने योजना पनि छ।
'नेपालमा बनेको चकलेट, पुष्टकारी र अन्य मिठाइ बाहिरी मुलुकमा निर्यात गर्न सकिन्छ भन्ने विश्वास र योजनासहित चोकोमरीको काम हुँदैछ,' शैली आफ्नो योजना सुनाउँदै भन्छिन्, 'विदेशबाट नेपाल फर्किनेले कोसेलीका रूपमा चकलेट ल्याइदिने एक किसिमको परम्परा छ। विदेसिनेहरूले पनि नेपाली चकलेटलाई कोसेली बनाएर लैजाऊन् भन्ने हाम्रो दीर्घकालीन लक्ष्य हो।'
.jpg)
(चोकोमरीको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८६९०००००१)
जुना श्रेष्ठ/सेतोपाटी