काठमाडौं। उपल्लो डोल्पाको शे गुम्बामा हरेक १२ वर्षमा लाग्दै आएको ‘शेल्री रिवो डुग्ड्र«ा मेला’को ६७ औं संस्करण आगामी भदौ १६ देखि २१ गतेसम्म धुमधामका साथ मनाइने भएको छ। मेलामा सहभागी हुन डोल्पालीले सबैलाई निम्तो बाँडेका छन्।
नेपाल पर्यटन बोर्डमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरूले सार्बजनिक निम्तो बाँडेका हुन्। शे फोक्सुन्डो गाउँपालिका वडा नं ३ शेल सुम्दो गुम्बामा मेला लाग्नेछ।
‘दर्शन शेल रिवो डुग्ड्र«ाको, आर्जन विश्व शान्तिको’ भन्ने मूल नाराका साथ मेलामा विभिन्न कार्यक्रम गरिनेछ। डोल्पोको प्राकृतिक, सांस्कृतिक र धार्मिक अबस्था बुझ्न मेला उपयुक्त अबसर बन्न सक्छ।
मेलामा शेल रिवो डुग्ड्र«ाको परिक्रमा, बौद्ध धर्म गुरुहरूबाट अध्यात्म र वातावरण सम्बन्धी प्रवचन, अभिषेक र जीवन सशक्तिकरण सम्बन्धी कार्यक्रम हुनेछ। विभिन्न गुम्बाका मुखौटा र सांस्कृतिक नृत्यहरू प्रदर्शन गरिनेछ। त्यसैगरी वृत्तचित्र, परम्परागत कला र परिकारको प्रदर्शनी समेत हुनेछ।
घोडा दौड र तिरन्दाजी खेलहरू अवलोकन गर्न पाइनेछ। साथै अन्तरविद्यालय खेल प्रतियोगिता पनि गरिनेछ। पत्रकार सम्मेलनमा मेला मूल आयोजक समितिका संयोजक धावा सम्डुक गुरुङ, गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ र नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिकमत सिंह ऐरलगायतले शे मेलाको महत्वबारे प्रकाश पारेका थिए।
आयोजकको अनुमान अनुसार करिब १५ हजार तिर्थालुले मेला भर्नेछन्। मेला सम्पन्न गर्न ४ करोड रुपैयाँ भन्दा बढी खर्च हुनेछ। सम्मेलनमा सङ्घीय संसदकी उपाध्यक्ष इन्दिरा राना मगरले फोक्सुन्डो घुमफिर अनुभव सुनाएकी थिइन्।