काठमाडौं। तनहुँ जिल्लाको व्यास नगरपालिका–८ स्थित पुलिमराङलाई ‘सहिदका गाउँ’ पनि भनिन्छ। वि.सं. २००७ र वि.सं. २०१८ को क्रान्तिमा यहाँका ६ जना गुरुङ युवाले सहादत प्राप्त गरेका थिए। ती योद्धाहरू हुन्, लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भारत गुरुङ, धर्मध्वज गुरुङ, सर्बसिंह गुरुङ र हस्तवीर गुरुङ।
इतिहासको गर्तमा हराउन लागिसकेका पात्रहरूका विषयमा गहिरो खोज तथा अनुसन्धान गरी लेखकद्वयले पुस्तक लेखेका हुन्।
प्रजातन्त्रका लागि उनीहरूले पु¥याएको योगदान स्तुत्य छ। यिनै सहिदहरूका जीवनीका विभिन्न पाटाहरू उजागर गरेर भर्खरै एउटा पुस्तक प्रकाशित भएको छ, पुलिमराङको अलिखित इतिहास।
व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई पुस्तक हस्तान्तरण गर्दै लेखक युवराज तमु
युवाद्वय माया कोन्मे तमु र युवराज तमुले उनीहरूको सङ्घर्षका कथा खोजबिन गरेर पुस्तकको रुप दिएका हुन्। इतिहासको गर्तमा हराउन लागिसकेका पात्रहरूका विषयमा गहिरो खोज तथा अनुसन्धान गरी लेखकद्वयले पुस्तक लेखेका हुन्।
प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको विषयमा जानकारी लिन तथा खोज एवम् अनुसन्धान गर्न चाहनेका लागि यो पुस्तक उपयुक्त छ। यी योद्धाको स्मृतिमा गाउँमा सहिद स्मारक पनि बनाइएको छ।
बुलबुल पब्लिकेसनले प्रकाशन गरेको पुस्तक गत जेठ १५ गते पुलिमराङमै सार्बजनिक गरिएको थियो।
यसकारण लेखियो पुस्तक

माया कोन्मे तमु
वि.सं. २००७ र वि.संं. २०१८ सालमा मेरै गाउँका आधा दर्जन व्यक्तिहरूलाई सेनाले (राज्य तर्फबाट) निर्मतापूर्वक यातना दिएर हत्या गरेका रहेछन्। जसमा मेरो आफ्नै बाजे भारत गुरुङ पनि एक हुनुहुन्छ। यी कुराहरू सुनिरहँदा मन एक तमासको उकुसमुकुस भैरह्यो। बाल मस्तिष्कमा यो कुराको नराम्रो छाप परिरह्यो। समय र परिपक्वतासँगै यी घटनाहरूले झन बिझाउन थाले। यसैकारण जन्मियो, ‘ पुलिमराङको अलिखित इतिहास’।