काठमाडौं। व्यस्त शहरी जीवनमा मन चञ्चल बन्छ। यस्तो बेला जीवनमा ऊर्जा बढाउन घुमफिरमा निस्कनु पर्छ। जति बढी प्रकृतिको नजिक पुग्यो, उति आनन्द मिल्छ। यस्तै शान्त वातावरण पाइन्छ, सिन्धुपाल्चोकको हैबुङस्थित ‘प्रकृति रिर्सोट एण्ड अर्गानिक फार्म’मा।
काठमाडौको गर्मी छल्न सिन्धुपाल्चोकको हैबुङस्थित ‘प्रकृति रिर्सोट एण्ड अर्गानिक फार्म’ उपयुक्त गन्तव्य बन्न सक्छ।
फार्मको बीचमा रिसोर्ट। रंगविरंगका फूलले सजिएको। गाउँले शैलीका कटेज। बेडबाटै हिमाल र सूर्यास्त दर्शन। रिसोर्टबाट १५ मिनेटमै धापताल पुगिने। वरपर तामाङ बस्ती घुम्न पनि सकिने।
यहाँबाट गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, मकालु र मनास्लु हिमालसम्म देखिन्छन्। यहाँ दुई रात बसेर सेरोफेरोमा घुम्नु बेस हुन्छ। यसलाई ‘हाइकिङ प्याराडाइज’ भन्न मिल्छ। हैबुङलाई केन्द्रमा राखेर धेरैतिर पदयात्रा गर्न सकिन्छ।
शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको फार्म करिब सय रोपनीमा फैलिएको छ। यहाँ अट्याच बाथरुमसहितका १८ कटेज छन्। टेन्टेड क्याम्प पनि छ। ६० जना क्षमताको सेमिनार हल पनि छ। एकै पटक सय जना बास बस्न सक्छन्।
रिसोर्टमा विशेषतः नेपाली खाना ढिँडो, कालिज, ट्राउट माछा पाइन्छ। साथमा भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पनि। पाहुनाले सिजनअनुसार फार्ममा तरकारी तथा फलफूल टिप्न, गोडमेल गर्न पाउँछन्। बगैंचामा किवि, कागती, स्याउ, स्ट्रबेरी, सुन्तला, ओखर आदि रोपिएको छ। च्याउ र सागसब्जी पनि फलाइन्छ। रिसोर्टमा खान मात्र होइन, फर्कंदा मौसमी फलफूल र तरकारी कोसेली ल्याउन पनि पाइन्छ।
रिसोर्टलाई सहकारी मोडलमा चलाइएको छ। यहाँ २५ जना प्रत्यक्ष रोजगार छन्। यसको व्यवस्थापन पर्यटनकर्मी अरुण श्रेष्ठले सम्हाल्दै आएका छन्।
काठमाडौंको सुन्दरीजलबाट ११ किलोमिटर हाइकिङ वा १६ किलोमिटर अफरोड राइडिङमा रिसोर्ट पुग्न सकिन्छ। अर्को विकल्प, साँखु मास्तिरको जहरसिंह पौवाबाट मेलम्चीमार्ग हुँदै २६ किलोमिटर सडक यात्रामा पुगिन्छ। यतिबेला रिसोर्टमा पुग्दा बेग्लै आनन्द मिल्छ। प्रकृति रिसोर्ट क्षेत्रको मनसुनी दृश्य निकै मनमोहक देखिन्छ।
सम्पर्क
प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्म
फोन: ९८०१०४१८९७
प्रकृतिमैत्री
शहर नजिकै शान्त, रमणिय र स्वस्थ वातावरणमा रमाउने ठाउँ बनाउने प्रयत्न गरेका हौं। हाम्रो रिसोर्टले प्रकृतिमैत्री भएर बाँच्न सिकाउँछ।