हरियो डाँडा (१,९०० मिटर)को थाप्लोमा स्यानो फराकिलो ठाउँ जहाँ त्रिशुलहरू गाडिएका। सामुन्नेमा शिव र पार्वतीका शिला। सरर चलिरहने सितल बतास। वरपर फर्फराइरहेका बौद्ध मन्त्र अंकित लुङदार र धज्र्यू। अनि हरपल मडारिरहने भुइँकुहिरो र छिनमै कुहिरो फाटेर देखिने दृष्यले सबैलाई आकर्षित गर्छ। डाँडाको थाप्लो मुन्तिर गुफा। गुफामा शिवजीको मूर्ति।
भीमफेदी गाउँपालिका–८, मकवानपुरमा पर्दछ लटारम्भेश्वर मन्दिर। हिन्दूहरूका पौराणिक ६४ शिवलिङ्गमध्ये लटारम्भेश्वर एक हुन्। हिमवत् खण्डको १०४ औं अध्यायमा लटारम्भेश्वरको चर्चा गरिएको छ।
श्रीस्वस्थानी व्रतकथाअनुसार मृत सतिदेवीको शवलाई बोकेर महादेव विभिन्न ठाउँमा पुगेका थिए। यहाँ आइपुग्दा उनको शिरका जटा अर्थात् कपाल पतन भयो। त्यसैले यसलाई लटारम्भेश्वर भनिएको। पछि यहाँ महादेव उत्पन्न भए।
लटारम्भेश्वरलाई नटारम्भेश्वर पनि भनिन्छ। शिव ताण्डव नृत्यसँग पनि यो ठाउँ जोडिएको छ। महादेवले लोकमा ताण्डव नृत्यको प्रचार गर्न भनेर तण्डु ऋषिलाई आदेश दिए। त्यसभन्दा पहिला यहाँ उनले तण्डुलाई ताण्डव नृत्य सिकाएका थिए। यहाँ वैशाख १ गते र माघे सङ्क्रान्तिका दिन विशेष मेला लाग्छ। मेला भर्न मकवानपुरका साथै ललितपुर, काठमाडौं र भक्तपुरदेखिका तिर्थालु आउँछन्।
धार्मिक हिसाबले मात्र होइन, प्राकृतिक रुपले समेत लटारम्भेश्वर आकर्षक छ। यहाँबाट नागबेली परेका डाँडापाखा, बेंसीका खेतीबाली र बस्तीको मनमोहक दृश्य देखिन्छ। साथै मौसम खुलेका बेला उत्तरतिर हिमाल टलक्क टल्किन्छन्। मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पादेखि गौरीशंकर हिमालसम्म।
डाँडामा थरिथरिका चराको चिरबिर सुनिन्छ। जंगलको गोरेटामा उकालो लाग्दा जङ्गली जनाबरसँग जम्काभेट हुन सक्छ। जङ्गलका रुखमा सुनाखरी फूल्छ। चैतवैशाखमा गुराँस मुस्कुराउँछ। तल महादेवटारबाट हेर्दा अंग्रेजी अक्षर डब्लु जस्तो देखिन्छ। यही डब्लुडाँडामा महादेवको बास छ। डाँडामा चिसो हावा लागिरहन्छ। चिसो लाग्ने भएकाले यहाँ धेरैबेर बस्नु हुँदैन।
डाँडामा बस्ती छैन। तर लटारम्भेश्वरको आधार शिविरमा भने सामान्य खाजा पसल छ। त्यो पनि बिदाका दिनमा मात्र राखिन्छ। अरु बेलामा त्यो पसल बन्द हुन्छ। डाँडाबाट करिब १ घण्टा तल चिलाउने डाँडामा भने ‘स्याङ्तान बा’ले होमस्टे चलाएका छन्। होमस्टेमा खाना, खाजा र बासको सुविधा छ। जाँदा सम्पर्क गरेर जानु उत्तम हुन्छ।
पानी, फलफूल र खाजा आदि लिएर यात्रा गर्नुपर्छ। पदमार्ग साहसिक र रोमाञ्चक छ। कतैकतै सिँढी पनि बनाइएको छ। ध्यानपूर्वक समयको ख्याल गरेर हिँड्नु पर्छ। महादेवटारबाट पुरै बाटो ठाडै उकालो र झर्दा पुरै ओरालो। अहिले चिलाउने डाँडा होमस्टे भएको ठाउँसम्म मोटरबाटो छ। त्यहाँबाट २ घण्टा उकालो चढेमा लटारम्भेश्वर। मोटरबाइक चलाउँदा भने धेरै ख्याल गरेर चलाउनु पर्छ। पुरै बाटो अफरोड छ। पानी पर्दा हिलोले चिप्लिने हुन्छ। धेरै साबधानीपूर्वक चलाउनु पर्छ। पदयात्रा गर्ने हो भने सैनिक व्यारेक वा महादेवटारबाट गर्न सकिन्छ।
यही पावन भूमि लटारम्भेश्वरमा प्रकृतिप्रेमी समूहले वि.सं. २०८१ जेठ २६ गते शनिबार हाइकिङ गराएको थियो। सस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार स्वास्थ्यवद्र्धक हाइकिङ गराउँदै आएको छ। हाइकिङमा जंकफुड, फास्टफुड, मदिरा तथा नशाजन्य पदार्थहरू निषेध छ।
कसरी पुग्ने ?
ललितपुरको लगनखेलबाट चापागाउँ, टीकाभैरब हुँदै कान्ति राजपथको तीनपाने भञ्ज्याङ, छपेली भएर बागमती पुलसम्म ४२ किलोमिटर। पुलबाट ३ किलोमिटर माथि महादेवटारसम्म जम्मा ४५ कि.मि.गाडीमा, समय तीन घण्टा। महादेवटारबाट पदयात्रा। करिब ३ घण्टा उकालो चढेपछि लटारम्भेश्वर मन्दिर पुगिन्छ। महादेवटारबाट माथि चिलाउने डाँडासम्म सडक ट्रयाक खुलेको छ, मोटरबाइकमा जान सकिन्छ। तर, मनसुनमा जोखिम हुन्छ। चिलाउने डाँडाबाट २ घण्टामा लटारम्भेश्वर पुगिन्छ।
पदमार्ग: महादेवटार–लटारम्भेश्वर ५ किलोमिटर ।
जम्मा पदयात्रा दुरी: १० कि.मि. ।
पदयात्रा समय: करिब ६ घण्टा ।
गाडी यात्रा: करिब ६ घण्टा ।
होमस्टेमा स्वागतम्
तीन वर्ष भयो हामीले होमस्टे खोलेको। हामी अर्गानिक खाना खुवाउँछौं। खाना र बास बस्न आउने पाहुनाले पहिल्यै खबर गरेर आउँदा सजिलो हुन्छ।
सम्पर्क: ९७६२७९१०१९ र ९८६४५९१५९८
हेर्नुहोस् वि.सं. २०८१ जेठ २६ गते प्रकृतिप्रेमी समूहले आयोजना गरेको हाइकिङका तस्बिरहरू: