भुइँको टिप्न खोज्दा गोजीको झर्न सक्छ
दुइटा नाउमा खुट्टा राख्दा डुबेर मर्न सक्छ
सरुवा रोग र दोधारे चरित्र उस्तै हुन् सायद
एउटाबाट अर्कोमा सजिलै सर्न सक्छ ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
कुन साथ अन्तिम हुन्छ, कसले जानेको छ र ?
कुन बात अन्तिम हुन्छ, कसले जानेको छ र ?
जीवन फगत कर्कलाको पातको पानी त रहेछ
कुन रात अन्तिम हुन्छ, कसले जानेको छ र ?
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
सुकोमल त्यो हृदयमा, प्रेमको अंकुर पलाएपछि
अजम्बरी माया प्रीति, तिमीले अघि बढाएपछि
निस्प्राण होइन मेरो मुटु, धड्किदिन्छ तिम्रै निम्ति
ढुङ्गो पनि भगवान बन्छ, फूल अबिर चढाएपछि ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
त्यो मुटुमा सामिप्य, बढाउँ जस्तो लाग्छ
मनैदेखि श्रद्धाको फूल, चढाउँ जस्तो लाग्छ
समुद्रझैं निश्छल, तिम्रा नयनभित्र
सपना बनी आफैंलाई सजाउँ जस्तो लाग्छ ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
चन्द्रमाको सितल बोकी यही धरामा झरूँ
धानका सुनौला बाला भई गरागरामा भरूँ
मीठो बोल्ने सबै यहाँ मित्र हुँदैनन् हजुर,
पारिलो घाम बनी दुखीहरूको टहरामा परूँ ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦