सोलुखुम्बु जिल्लाका वाकु, काँकु, बासा र जुभिङ गाविसका २, ३, ४ र ६ नम्बर वडा मिलेर ‘माप्य दुधकोशी गाउँपालिका’ बनाइएको हो। गाउँपालिका अध्यक्षका रुपमा बुद्धिकिरण राईको दोस्रो कार्यकाल चलिरहेको छ। उनले पर्यटन र कृषिमा जोड दिएका छन्। यसै सिलसिलामा उनीसँग एभरेस्ट पेडियाका अमृत भादगाउँलेले गरेको कुराकानी: ः
तपाईको गाउँपालिकामा पर्यटकीय सम्भावनाहरू के के छन् ?
हाम्रोमा प्राकृतिक, सांस्कृतिक र पुरातात्विक महत्वका धरै सम्पदा छन्। प्राकृतिक सम्पदाको कुरा गर्ने हो भने सिलगुडी डाँडाबाट सगरमाथा, कञ्चनजंघा, मेरा पिकसहित तीन दर्जनभन्दा बढी हिमाल देखिन्छन्। यस क्षेत्रमा लालीगुराँसको बंगैचा छ। यहाँ मनमोहक झरना पनि छन्। त्यसैगरी साहसिक पर्यटनका लागि सरिमा महभिरमा रक क्लाइम्बिङ सुबिधा छ। दुधकोशी नदी पनि यहाँको आकर्षण हो।
सांस्कृतिक हिसाबले यहाँ पुराना गुम्बा र मन्दिर पनि छन्। शिव मन्दिर, जलेश्वरी मन्दिर, भूमेथान, महादेव मन्दिर आदि। यहाँ शेर्पा, तामाङ, राई, मगर, क्षेत्री, बाहुन आदि जातजातिको बसोबास छ। हाम्रो गाउँपालिकाको जुभिङमा प्राचिन जुबे गुम्बा पनि छ।
हामी धमाधम पर्यटकीय सम्पदाहरूको प्रवद्र्धनात्मक सामाग्री उत्पादन गरिरहेका छौं। डिजिटल मार्केटिङमा जोड दिँदैछौं। मिडिया र सामाजिक सञ्जाल मार्फत् निरन्तर प्रवद्र्धन गरिरहने छौं।
हाम्रोमा हनी हन्टिङ गरिन्छ। त्यस्तै एभरेस्ट भ्यु टे«ल म्याराथन र साइक्लिङ पनि थप आकर्षण हुन्। अरु धेरै कुरा छन्, त्यसैले हाम्रो गाउँपालिकामा पर्यटनको अथाह सम्भावना छ। माप्य दुधकोशीको पर्यटकीय भबिश्य सुनौलो छ।
तपाईंहरूले ‘एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ भनेर ब्रान्डिङ गर्नु भएको छ, यसका बारेमा बताइदिनुस् न ?
काठमाडौंबाट सडक सञ्जालबाट सोझै जोडिने पदमार्ग हो। करिब ८ घण्टा गाडी यात्रापछि पदमार्गमा पुग्न सकिन्छ। हाई हल्टिच्युडमा पुगेर सगरमाथा हेर्न नसक्नेहरूका लागि लो अल्टिच्युडबाटै सगरमाथा हेर्न सकिने उत्कृष्ट गन्तव्य हो।
अर्को कुरा, गुराँसे बंगैचामा हिँड्न पाइने। चराको चिरबिर सुन्न पाइने। बौद्धमार्गीको सांस्कृतिमा रम्न पाइने। खालिङको जीवनशैली बुझ्न सकिने। शान्त अनि भर्जिन गन्तव्यका रुपमा हामीले यसलाई ब्रान्डिङ गरेका हौं। सोलुखुम्बुको सदरमुकाम नजिकै सिलगुडीबाट पदयात्रा सुरु गर्न सकिन्छ। यसमा ५ दिनदेखि ८ दिनसम्म हिँड्न पाइन्छ।
नयाँ पदमार्गमा पर्यटकीय पूर्वाधारको अबस्था के छ ?
पदयात्रीलाई खाना र बासका लागि होटल, होमस्टे र सेल्टरको सुबिधा छ। काठमाडौंबाट आएको पहिलो दिन नै सिलगुडीमा बस्न सकिन्छ। भोलिपल्ट घुम्ने मेरामा होमस्टे र गुम्बामा बास। तेस्रो दिन कुधमडाँडा हुँदै योतेल्म्यमा बास, चौैथो दिन जुभिङ, खाली वा खास्तामा बस्न सकिन्छ। जुभिङबाट हिल हुँदै शिबुजे, मेरा पिक वा सगरमाथातिर पनि जान सकिन्छ। र, हिलबाट सोलावन, देउराली, देलवयमा पनि बास बस्न सकिन्छ। हिलबाट वाकु वा दुधकोशी कायाखेतमा पनि बास बस्न सकिन्छ। र, काठमाडौं फर्कन मिल्छ। पर्यटकले चाहेअनुसार यात्रा गर्न पाउँछन्। हामीले ठाउँठाउँमा साइन पोस्ट पनि राखेका छौं।
महभिरलाई रक क्लाइम्बिङ गन्तव्य बनाउन के गरिरहनु भएको छ ?
माउन्टेन गाइड एसोसियसन अफ नेपाल (मोगान) र टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को प्राबिधिक सहयोग लिएर हामीले वडा नं. ५ को महभिरमा रक क्लाइम्बिङ सुरु गरिसकेका छौं। कीर्तिमानी आरोही कामीरिता शेर्पासहितको उपश्थितिमा उद्घाटन गरेका थियौं। साथै यसलाई दीगो बनाउन गाउँपालिकास्तरीय तालिम समेत सञ्चालन गरिसकेका छौं। यसलाई थप व्यवस्थित गर्न बजेट विनियोजन पनि गरेका छौं। विज्ञहरूले यसलाई उत्कृष्ट अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ केन्द्र बनाउन सकिने बताएका छन्।
‘एभरेस्ट भ्यु ट्रेल ल म्याराथन’ पनि आयोजना गर्नु भयो होइन ?
हामीले ब्रान्डिङ गरेको ‘एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को प्रवद्र्धन गर्न म्याराथन आयोजना गरेका हौं। हामीले गत वैशाख दोस्रो हप्ता म्याराथन आयोजना गरेका थियौं। धावकहरूले व्यवस्थित एवम् उत्कृष्ट पदमार्ग भनेर तारिफ गरेका छन्। अर्को वर्षदेखि मेरा पिकसँग जोड्ने गरी जुभिङ र वाकुलाई पनि समेटेर म्याराथन गर्नेछौं।
समग्र माप्य दुधकोशीमा पर्यटक आगमनको अबस्था कस्तो छ ?
नयाँ पदमार्गमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढीरहेको छ। हामी उत्साहित छौं। पदमार्गको शुभारम्भ विन्दु सिलगुडीसम्म मात्र जानेहरूको संख्या पनि ठुलो छ। सिलगुडी हिलस्टेसनका रुपमा चम्किँदैछ। यहाँ व्यवस्थित बासस्थल पनि छ। त्यसबाहेक घुम्ने मेरा, कुधम डाँडा, योतेल्म्य, जुभिङ, शिबुजे, आरनडाँडा, देउराली र वाकुमा पनि चहलपहल बढेको छ।
पर्यटन बजारमा माप्य दुधकोशी क्षेत्रको मार्केटिङका लागि तपाईंका योजना केके छन् ?
हामी धमाधम पर्यटकीय सम्पदाहरूको प्रवद्र्धनात्मक सामाग्री उत्पादन गरिरहेका छौं। डिजिटल मार्केटिङमा जोड दिँदैछौं। मिडिया र सामाजिक सञ्जाल मार्फत् निरन्तर प्रवद्र्धन गरिरहने छौं। राम्राराम्रा भिडियोसहितका सामाग्री बनाउँदैछौं।
तपाईहरूले पर्यटन विकासमा भोग्नु परेका प्रमुख समस्या केके हुन् ?
पर्यटनमा काम गर्न अनुभवी विज्ञ समूह चाहिन्छ। यसमा हामीलाई त्यति ज्ञान छैन। सिक्दै गर्दै छौं। अर्को कुरा, पर्याप्त बजेट पनि छैन। प्रकृति र संस्कृतिले साथ दिएको छ। बजेट भए धेरै काम गर्न सकिन्छ।