काठमाडौं। नेपालमा हाइकिङ जागरण गराउँदै आएको अग्रणी संस्था प्रकृतिप्रेमी समूहले शनिबार काठमाडौंको तारकेश्वर क्षेत्रमा हाइकिङ गराएको छ। शुक्रबार रातीदेखि नै पानी परिरहेको थियो। त्यसैले शनिबार हाइकर्सहरूले बर्सादी लगाएर र छाता ओढेर हाइकिङ गरेका हुन्।
समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा पाँचमानेको वेस क्याम्पबाट हाइकिङ गराएको हो। उनीहरू पासाङल्हामू राजमार्गबाट पाँचमाने भएर तारकेश्वर मन्दिर पुगेका हुन्। पहरामा बसेका तारकेश्वर दर्शनपछि उनीहरू भुवनेश्वरी मन्दिर हुँदै तीनपिप्लेसम्म हिँडे। यसरी १० किलोमिटर पदयात्रा गराइएको थियो।
शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको तारकेश्वरको ठुलो धार्मिक महत्व छ। श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई च्यापेर हिँड्दा उनको दाहिने तिघ्रा पतन भएको ठाउँ तारकेश्वर हो। यहाँ पछि महादेव उत्पन्न भएका। तिनैलाई तारेकेश्वर महादेव भनिन्छ।
त्यसैगरी तीनपिप्ले मास्तिर कलात्मक भुवनेश्वरी मन्दिर छ। श्याम बाबाले बनाएको भव्य मन्दिर। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका हाइकर्सहरूले ठाउँठाउँमा नारा लगाएका थिए, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’।
तीनपिप्लेमा खाना खाएर सबैजना समूहको कार्यालय निरोगधाम फर्के। स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्दै आएको समूहको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेधित छ। स्वास्थ्यबद्र्धक फलफूल र शाकाहारी खाना मात्र खुवाइन्छ।
समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। असारको चौंथो शनिबार अर्थात् २२ गते नुवाकोटको फुङफुङ झरनामा हाइकिङ गराउने योजना थियो। तर, रातभरको पानीले सडक बिग्रिएकाले गाडी रानीपौवातिर जान नसकेकाले हाइकिङ रुट परिवर्तन गरिएको हो। समूहको अर्को हाइकिङ साउनको दोस्रो शनिबार फरक गन्तव्यमा हुनेछ।