नेपाली सेनामा १७ वर्ष विताएका कवि प्रकाश रम्घालीको पहिलो कृति ‘साँझको सङ्गत’ छापिएको ९ महिना भयो। सेनामा छँदै उनी कविता लेख्थे। वेदका ऋचाहरू जस्ता सूक्तिमय शैलीका कविता उनका विशेषता। उनको कवितामा कलापक्ष सघन छ। प्रेमिल भाव पनि उत्तिकै पाइन्छ। भानु नगरपालिका–५, बारीफाँट, तनहुँका कवि रम्घाली अचेल काठमाडौंमा बसोबास गर्छन्। उनीसँग एभरेस्ट पेडियाले गरेको कुराकानी :
कविता लेखनमा कहिलेदेखि लाग्नुभयो? कृति त ढिलो छापियो नि?
सानैदेखि कविताप्रति मेरो रुचि थियो। सेनामा हुँदा पनि निरन्तर लेखिरहें। वि.सं. २०५९ सालदेखि पत्रपत्रिकामा प्रकाशन हुन थाल्यो। पाण्डुलिपि त पहिल्यै तयार थियो, तर पाठकलाई धोका नदिउँ, राम्रो पुस्तक दिउँ भन्दै जाँदा ढिलै भयो।
‘साँझको सङ्गत’को राम्रै चर्चा भइरहेको छ। तपाईंले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
मैले सोचेभन्दा राम्रै प्रतिक्रिया पाइरहेको छु। राम्रो र असल कृति पाठकलाई दिन सक्यौं भने राम्रै प्रतिक्रिया पाइँदो रहेछ।
पाठकले अर्को कविताकृति कहिले पढ्न पाउँछन् ?
अहिले म कवितामा भन्दा पनि एउटा उपन्यास माथि काम गरिरहेको छु। अझै दुई तीन वर्ष लाग्न सक्छ। त्यसपछि म कवितामै फर्कनेछु।
उपन्यासको विषयबस्तुबारे बताइदिनुस् न ?
पैंतालिस वर्षको उमेरसम्म आइपुग्दा निकै उतारचढाव भोगियो। देश, राजनीति र समाजलाई पढियो। एउटा सुदूर गाउँको युवाले भोगेको जीवनकथालाई उपन्यासमा ल्याउने प्रयास गरेको छु।
लेखन बाहेक समय कसरी विताउँदै हुनुहुन्छ ?
लेखन बाहेक मुभि हेर्नु, गीत सुन्नु, फोटोग्राफी गर्नु र घुमघाम गर्नु मेरो रुचिका विषय हुन्। म फुर्सदको समय यिनै कुरामा व्यस्त हुन्छु।
पुस्तक चाहिँ कत्तिको पढ्नु हुन्छ नि ?
एकदमै चुनिएका पुस्तक पढ्ने गर्छु। छानेर राम्रा पुस्तक मात्र पढ्दा समय र पैसा खेर जाँदैन। र, ती किताबबाट ज्ञान र आनन्द पनि प्राप्त हुन्छ।
तपाईंलाई मन परेका पुस्तकहरू कुन कुन हुन् ?
मलाई कवितामा रुचि भएकाले कविताकृति नै बढी पढ्छु। मलाई मन परेका पुस्तकहरूमा मञ्जुलको ‘सिद्धिचरणहरू’, श्यामलको ‘हतारमा यात्रा’, रमेश क्षितिजको ‘घर फर्किरहेको मानिस’ र सुधीर छेत्रीको ‘फेरि अर्को अनुष्टुप’ लगायत छन्।