‘पोखरा पर्यटन परिषद’ पोखराका पर्यटनकर्मीहरूको छाता सङ्गठन हो। गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुर्याउन यसले विभिन्न गतिविधि गर्छ। यसैक्रममा असार १५ गते रोपाईं महोत्सव मनाउँदै आएको छ। १९ औं रोपाइँ महोत्सवका संयोजक एवम् परिषद्का बरिष्ठ उपाध्यक्ष तारानाथ पहारीसँगको कुराकानी:
पोखरा पर्यटन परिषद्ले १९ औं पटक आयोजना गरेको रोपाई महोत्सव कस्तो भयो?
हामीले असार १५ गते धुमधामसँग रोपाइँ गर्यौं। गोरु नारेर, हिलो खेलेर, रोपो रोपेर साङ्गीतिक वातावरणमा महोत्सव मनायौं। यसपाली चार सय जना त विदेशी नै सहभागी थिए। त्यसैगरी अन्य सयौंको जमघट थियो।
रोपाइँमा सहभागी हुन पाउँदा पर्यटक रमाउँछन्। नयाँ पुस्ता पनि परम्परागत कृषि प्रणालीसँग परिचित हुन पाएको छ।
महोत्सवमा विदेशीको प्रतिक्रिया कस्तो पाउनु भयो ?
आधुनिकीकरणको अभ्यास गरिरहेका विदेशीहरूले हाम्रो परम्परागत रोपाईं शैलीलाई चाखपूवर्क अवलोकन गरे। हिलो खेले। डोरी तानातानमा रमाए। रोपाईं गरे। उनीहरूले निकै चाख लिए। खुसी भए।
रोपाई महोत्सवका उपलब्धि के के हुन् ?
‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ मनसुनमा पनि पोखरा घुम्न सकिन्छ भन्ने सन्देश दिन हामीले रोपाइँ महोत्सव सुरु गरेका थियौं। यसले पर्यटकको बसाई लम्ब्याउन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे परिचित गराउन मद्धत गरेको छ। मनसुन टुरिजमका लागि रोपाइँ महोत्सव आकर्षक पर्यटकीय प्रोडक्ट बनिसक्यो।
यसपालीको महोत्सवमा कति खर्च भयो ? खर्चको व्यवस्थापन कसरी गर्नु भयो ?
खर्च करिब १५ लाख रुपैयाँ हो। गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र परिषदका शुभेच्छुकहरूको सहयोगमा हामीले कार्यक्रम सफल बनायौं।
आजका दिनमा मनसुन पर्यटनको अबस्था के छ ?
यस्ता मेलामहोत्सवले आन्तरिक तथा बाह्य पर्यटक बढाउने काम गरिरहेका छन्। मनसुनमा पनि पर्यटकको चहलपहल बढ्दै गएको छ। पहिलेको भन्दा विदेशीको संख्या पनि बढेको छ। हामी आशावादी छौं।