काठमाडौं। मुलुकभित्र घुमफिर गर्दा अब बजेटअनुसार बासस्थान रोज्न सजिलो भएको छ। मोबाइल एप ‘बसियो’ मार्फत् विभिन्न सहर तथा गाउँका होटल, रिसोर्ट, होमस्टे, अपार्टमेन्ट र क्याम्पसाइट बुकिङ गर्न सकिन्छ। यसका लागि मोबाइल एप बसियो डाउनलोड गर्नुपर्छ। अनि आइएमई पे वा खल्ती वालेटबाट बुकिङ रकम भुक्तानी गर्न सकिन्छ।
घुमन्तेहरूले आफू जाने गन्तव्यमा रहेका बासस्थानहरू रोज्न सक्छन्। चाहेको सेवा, सुविधा र मूल्यअनुसारका कोठा बुकिङ गर्न दुई विकल्प दिइएको हुन्छ, पहिलो २० प्रतिशत रकम तिर्ने र दोस्रो शतप्रतिशत।
यसमा अहिलेसम्म २५० ओटा बासस्थान जोडिइसकेका छन्। पोखरा, काठमाडौं, चितवन र भैरहवाका। आउँदो दसैंसम्म मुस्ताङ, अन्नपूर्ण क्षेत्र, लाङटाङ, बर्दिया र विराटनगरलाई पनि समेट्ने योजना छ। बिस्तारै मुलुकभरका गन्तव्य यसमा अटाउनेछन्। ‘लजिकर्भ टेक्नोलोजिज् प्रा.लि’ले डेढ वर्षको मिहिनेतपछि यो एप सञ्चालनमा ल्याएको हो। यसमा ९ जना युवा सदस्य छन्।
‘अहिलेका लागि स्वदेश र विदेशमा बस्ने नेपालीले यसको प्रयोग गर्न सक्छन्’, एपका सञ्चालक दीपक पौडेल भन्छन्, ‘हामी नेपाल बाहिरबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउँदैछौं।’ एप मार्फत् बुकिङ गरेका ग्राहकको रकम पाहुनाले चेक इन गरेको २४ घण्टापछि कम्पनीले सम्बन्धित होटल वा होमस्टेको बैंक खातामा जम्मा गरिदिन्छ। ‘यसरी बुकिङ प्लाटफर्म बनाएस्वरुप हामीले व्यवसायीबाट प्रति बुकिङ १२ प्रतिशत सेवा शुल्क लिन्छौं’, पौडेल भन्छन्, ‘भ्याट र अन्य कर यसमै पर्दछ।’
उनका अनुसार सजिलै बुकिङ क्यान्सिल र रकम रिफन्ड गर्न सकिन्छ। अर्को महत्वपूर्ण कुरा, यसमा भ्याट बिल प्रयोग हुने भएकाले राज्यलाई पनि ठुलो सहयोग पुग्छ।
एपमा कसरी सूचीकृत हुने त ?
कुनै पनि होटल, रिसोर्ट, अपार्टमेन्ट वा होमस्टेका सञ्चालकले आफ्नो सेवासुविधालाई आफैं एपमा राख्न सक्छन्। त्यसका लागि बसियो डट्कम वा एपको होस्टिङ मोडको सहयोग लिनुपर्छ। प्राथमिकतापूर्वक फिचर गर्न भने एप सञ्चालकसँग सहकार्य गर्नु पर्दछ।
केही विशेष बासस्थानहरूलाई दुई खण्डमा बाँडिएको छ, प्रिमियम र इको फ्रेन्डली। यो काम भने एप सञ्चालकले नै गर्दछन्। व्यवसायिका लागि पाहुनाको बुकिङको लेखाजोखा एपले नै दिन्छ। उनीहरूले छुट सुविधा र मूल्यको थपघट आफैं गर्न सक्छन्।
एप डाउनलोड गर्ने तरीका:
प्लेस्टोरबाट डाउनलोड गर्न यहाँ किल्क गर्नुहाेस ।
एपस्टोरबाट डाउनलोड गर्न यहाँ किल्क गर्नुहाेस ।
घुमन्ते, व्यवसायी र राज्यलाई फाइदा
हामी डिजिटल युगमा छौं। त्यसैले घुमन्ते, व्यवसायी र राज्य सबैलाई फाइदा पुग्ने गरी हामीले होलिडे रेन्टल प्लाटफर्म ‘बसियो’ ल्याएका हौं। यसबाट घुमफिर गर्नेहरूले सजिलै रोजेको बासस्थान पाउनेछन् भने व्यवसायीले पनि कुनै झन्झबिना पाहुना पाउँछन्। व्यवसायीको व्यापार प्रवद्र्धनमा पनि यसले टेवा पु¥याउँछ।
अर्को कुरा, विदेशी बुकिङ प्लाटफर्मले आफूले लिने सेवासुबिधाको कर तिर्दैनन्। हामी भने भ्याट बिल दिन्छौं। यसले राज्यलाई पनि फाइदा पुग्छ। हामी विदेशीले पनि भुक्तानी गर्न मिल्ने वातावरण बनाउँदैछौं। यसरी हामीले घुमन्ते र व्यवसायीका बीचमा डिजिटल पुल हाल्ने काम गरेका हौ।