काठमाडाैं। म्याग्दी खोला र कालीगण्डकी नदीको दोभानमा छ, बेनीबजार। बजारको हुलाकचोकमा कृष्णबहादुर खत्रीको ‘खत्री इलेक्ट्रोनिक्स’ छ, जहाँ बसेर श्रीमती, भाइ र मिस्त्रीसँग मिलेर उनी रेडियो, टिभी, एसी, फ्रिज, जेनेरेटर, इन्जिन आदि मर्मत गर्छन्।
कृष्णबहादुर खत्रीले बालखमै बेनीबजारका व्यापारीको घरमा बसेर मजदुरी गर्नुपर्यो। आज उनी बेनीमै ‘खत्री इलेक्ट्रोनिक्स’ चलाउँछन् जहाँ उनले केहीलाई रोजगारी दिएका छन्।
त्यति मात्र होइन, बजार नजिकैको मङ्गलाघाटको ग्यारेजबाट कृषियन्त्रहरू मिनी टेलर, थ्रेसरलगायत कृषि उपकरण पनि बेच्छन्। तिनको ममर्त गर्छन्। अचेल हुलाकचोकबाट इलेक्ट्रिक स्कुटर पनि बेच्न थालेका छन्। ‘हामी समयअनुसार चल्नुपर्छ’, इलेक्ट्रिक सामान उपयोगमा जोड दिँदै उनी भन्छन्, ‘पाटपुर्जा ल्याएर बेनीमै इलेक्ट्रिक स्कुटर एसेम्बल गर्ने, मर्मत गर्ने र चार्जिङ स्टेसन खोल्ने योजनामा छु।’
उनी आफू त काम गर्छन् नै, भाइहरु कल्याण र मौसमलाई पनि निपुण मिस्त्री बनाउन भ्याइसके। सँगै काम गर्छन्। साथमा श्रीमती रीता र अन्य तीन जना मिस्त्रीलाई पनि रोजगारी दिएका छन्।
अथक सङ्घर्ष गर्दागर्दै कृष्णबहादुर सफल उद्यमी बन्न पुगे। सर्वसाधारण उनलाई ‘वैज्ञानिक’ भन्छन्। उनले स्वचालित सडकबत्ती, वाटर लिफ्टिङ मेसिन, ह्याचिङ मेसिन, चरा धपाउने यन्त्रलगायत बनाइसके। गाउँगाउँमा उनको वाटर लिफ्टिङ प्रविधि उपयोग हुन थालेको छ।
खासमा उनी प्राविधिक हुन्, वैज्ञानिकले सिर्जना गरेका सामान बनाउन जान्ने सिपालु । जीवनयात्रामा खाडी मुलुक कतारमा बस्दा उनले मेकानिकल काम सिके। गाडीको वायरिङ गर्नेदेखि चक्का मर्मत गर्ने र इन्जिन खोलेर बनाउनेसम्म काम। त्यही सिपले स्वदेशमा गुजारा चलेको छ।
त्यसो त सानैदेखि उनको दिमाग तेज थियो। १४ वर्षको उमेरमै हाउस वायरिङ सिकेर काम गर्थे। कमाएर परिवारलाई सुखी बनाउन उनी सन् १९९९ मा कतार पुगे। त्यहाँ करिब ४ वर्ष काम गरे। उताबाट फर्केपछि विवाह बन्धनमा बाँधिए।
बिहेपछि विदेसिने चाहना थियो। तर, काम जाने पनि उनीसँग औपचारिक प्रमाणपत्र थिएन। त्यसैले पोखरा झरेर ट्रेनिङ इन्स्टिच्युटमा ९ महिने इलेक्ट्रिकल तालिम लिए। सिटिइभिटीको स्किल टेस्ट पनि उत्तीर्ण गरे। उनी अमेरिका वा कोरिया जाने दौडमा होमिए। तर, सफलता मिलेन। अन्त्यमा आफ्नै मुलुकमा पसिना चुहाउने टुङ्गोमा पुगे। अनि वि.सं. २०६५ मा वर्कसप खोले। वर्कसप खोलेपछि फर्केर हेर्नुपरेको छैन।
उनी बेलाबेलामा नयाँनयाँ सिर्जना गर्छन्। प्रविधिको प्रयोगले समाजलाई सजिलो बनाउँदै छन्। उनको उत्पादन विदेशीभन्दा सस्तो छ। हाम्रो मुलुक जलस्रोतमा धनी छ। त्यसैले हामीले विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्छ। सरकारले पनि यस्ता सामग्रीलाई सहुलियत दिनुपर्ने उनको सुझाब छ।
फर्केर हेर्दा उनलाई आफ्नै जीवन अनौठो लाग्छ। गरिबी र अभावका कारण उनले कक्षा ८ भन्दा माथि पढ्न पाएनन्। बालखमै बजारका व्यापारीको घरमा बसेर मजदुरी गर्नुप¥यो। त्यतिबेला उनलाई लाग्थ्यो, ‘पैसाबिना जीवन चल्दो रहेनछ। पैसाकै लागि सङ्घर्ष गर्नुपर्दो रहेछ।’
त्यही बुझाइले उनलाई कतारसम्म पु¥यायो। मिहिनेती बनायो। आज उनी उदाहरणीय युवा बनेका छन्। उनको जीवनकथा उधिन्यो भने एउटा पुस्तक नै बन्छ। उनी आफ्नो व्यावहारिक ज्ञान विद्यार्थीलाई बाँड्न चाहन्छन्। त्यसका लागि टेक्निकल इन्स्टिच्युट सञ्चालन गर्ने उनको योजना छ।