पोखरा। पोखरा अर्थात् लाहुरेको सहर। पोखरा नजिकैको तामागी गाउँमा जन्मेहुर्केका विजय गुरुङले पनि लाहुरे बन्ने सपना देखे। तीनतीन पटक भर्तीको प्रयास गरे। तर सफल भएनन्।
कोरियाबाट फर्केर मातृभूमिमा उद्यमशीलताको खुट्किला चढ्दै गरेका उद्यमी हुन् पोखराका विजय गुरुङ। आफ्नै बलबुतामा सङ्घर्ष गरिरहेको गुरुङ परिवारको जीवनसङ्घर्ष प्रेरणादायी छ।
त्यतिबेला कोरिया जाने लहर चलेको थियो। उनी पनि कोरिया पुगे। पटकपटक गरेर त्यहाँ १० वर्ष विताए। कोरियामा छँदा जुत्ताको सोल बनाउने कम्पनीमा काम गरे। कोरिया बसाइले उनलाई समयको मूल्य चिनायो। मिहिनेत गर्न सिकायो। पैसाको महत्त्व बुझायो।
अब स्वदेशमै केही गर्ने भनेर उनी सन् २००४ मा नेपाल फर्के। यता आउँदा घरघरमा खाना डेलिभरी गर्ने कम्पनी चलाउनु पर्छ भन्ने मनमा थियो। तर, उनले साइबर क्याफेमा सम्भावना देखे। र, पोखरामा सुरु गरे, साइबर क्याफे। ट्राभल कम्पनी पनि चलाए।
नेपाली फ्लेबरको स्वाद पाइने भएकैले विजय गुरुङको ‘पोखरा पिज्जा हाउस’ लोकप्रिय बन्यो। लेकसाइड, पोखराका साथै काठमाडौंका धुमबाराही र कुपन्डोलमा उनी पिज्जा बेच्छन्। उनकोमा २२ जना रोजगार छन्।
पर्यटकीय सहर भएकाले पोखराको लेकसाइडमा संसारभरिको स्वादिला परिकार पाक्छ। त्यतिबेला पनि पाक्थ्यो। पिज्जा त पाक्थ्यो नै तर ओभनमा। ओभनमा पकाइएकोभन्दा दाउरा बालेर पकाइएको पिज्जा मिठो हुन्छ।
पिज्जा भन्नेबित्तिकै महँगो परिकार मानिन्थ्यो। उनले ११ वर्षअघि लेकसाइडमा ‘पोखरा पिज्जा हाउस’ खोले। अनि १५० रुपैयाँमा दाउराको आगोमा पकाइएको पिज्जा बेच्न थाले। बिस्तारै उनको पिज्जा लोकप्रिय बन्दै गयो। नेपाली फ्लेबरको स्वाद पाइने भएकैले ‘पोखरा पिज्जा हाउस’ ब्रान्डका रुपमा स्थापित बन्यो।
उनका मुख्य ग्राहक नेपाली। घुम्न वा कामका सिलसिलामा पोखरा पुगेर पिज्जा चाख्नेहरूले उनलाई काठमाडौंमा पनि शाखा खोल्न हुटहुटी बढाए। उनको सपनाको आयतन पनि बढ्दै गयो। त्यसैले ७ वर्षअघि काठमाडौंको धुम्बाराहीमा र डेढ वर्षअघि कुपन्डोलमा शाखा विस्तार गरे।
लेकसाइडको रेस्टुराँ श्रीमती कमलाले हेर्छिन् भने धुम्बाराही र कुपन्डोल चाहिँ छोरीहरु क्रमशः रोज्मा र रोबिकाले सम्हाल्छन्। ‘श्रीमती र छोरीहरुकै बलमा सफलता मिलेको हो’, विजय भन्छन्, ‘परिवारको सक्रिय सहयोगबिना जीवनमा सफल बन्न सकिँदैन।’
तीन ओटै शाखामा गरेर २२ जना रोजगार छन्। चाँडै नै कुरिनटार, चितवनमा शाखा विस्तार गर्ने उनको योजना छ। ‘फ्रेन्चाइज चाहियो भनेर आउने पनि थुप्रै छन्’, उनले सुनाए, ‘धरान, बिर्तामोड र हेटौंडातिरबाट बढी माग आएको छ।’
त्यसो त पिज्जा हाउसमा पिज्जा मात्र होइन, अन्य परिकार पनि पाइन्छ। खाना व्यवसाय संवेदनशील मानिन्छ।
एकपटक गुणस्तर खस्कियो भने सधैंका लागि ग्राहक भड्किन्छन्। त्यसैले रेस्टुराँमा पाक्ने सबै परिकारको गुणस्तरमा एकरुपता ल्याउन र ग्राहकका अनुहार खुसी बनाउन उनी निरन्तर खटिन्छन्। बरोबर ग्राहकको फिडब्याक पनि लिइरहन्छन्।
विजय समग्र व्यवस्थापनको काम हेर्छन्। उद्यमशीलताका खुट्किला चढिरहेको उनको परिवार सामाजिक काममा पनि क्रियाशील छ। परिवारकै सक्रियता प्रेरणादायी छ।
सम्पर्क
पोखरा पिज्जा हाउस
विजय गुरुङ–९८५६०२०२६७