स्व शब्दसँग केही बर्ष पहिलेदेखि मेरो प्रत्यक्ष उठबस छ। उसो त जन्मँदै स्व कै वरिपरि हिँडडुल हुन्छ। कोहि गर्छ तथापि भौतिक शरिर र आध्यात्मिक बाटो हुदै को यात्रा यतिबेला गरिरहेछु। गुरुदेव श्री श्री रवि शंकर को ध्यान विधि मा उच्चारण हुने शब्द “स्व हंम” सगै मैले स्वयं को यात्रालाइ स्व भनि बुझेकोछु।
स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कला। सुन्दा सरल सुनिने यो शब्द व्यबहारमा उतिकै जटिल र चुनौती पूर्ण छ। के संसारका सबै मानिस यो कलासग अभ्यस्त छन त ? सायद छैनन। मानिसहरु स्व कला को सागर हुन तर उनिहरु आफै भित्रको सागरमा पौडिन जान्दैनन र दुर्घटित भैरहन्छन। स्व उपन्यास यसै वाक्यको वरपर घटित औपन्यासिक कृति हो।
बुकहिल प्रकाशन गृहले उपन्यासकार सरस्वती प्रतीक्षा को नवीन उपन्यास “स्व” हालै बजारमा ल्याएको छ र म त्यसैको वरिपरि छु। स्व शब्द सगको मेरो सम्बन्ध स्व उपन्यास आउनु भन्दा धेरै पहिले देखि निकट भएकाले उपन्यासमा कस्तो कथावस्तु होला भनेर कौतुहल हुनु स्वभाविक थियो नै। मैले आफुले बुझ्दै आएको “स्व” रहस्य भित्रको रहस्य होे। रहस्यलाइ वयान गर्नु आफैमा कठिन काम हो। ध्यानस्थ हुदा जे घटित हुन्छ त्यो अव्यक्त हुन्छ। स्व उपन्यासमा ध्यानस्थ घटनालाई कसरी व्यक्त गरिएको होला भन्ने एक पाठकको उत्सुकता सायद जायज हो।
बुद्द दर्शन अवर्णित छ। अवर्णित सागरमा सप्तम पात्रकोे मनोविज्ञानको टिपोट स्व हो। बुद्द दर्शनको वरपर रहेर स्व उपन्यासको निर्माण भएको मान्नुपर्छ। सप्तम मुल पात्र हो। सप्तम कै वरपर रहेर कथाको अन्त्य हुन्छ। सप्तम समाजको त्यस्तो पात्र हो जसले हरेक पात्रता बोकेर समाजका कथाहरु बोलिरहेछ।
आमाबुबाको खराब सम्बन्ध हुदै गर्दा गर्भमा सप्तमको भ्रूण निर्माण हुन्छ। बिग्रदै गर्दाको सम्बन्धमा जन्मनु र हुर्कनु एक बालकका लागि अभिशाप तुल्य हुन्छ। कथाले यस्तै बोलिरहेछ। जीवन चुनौति र संघर्ष हो। सप्तमको जीवनलाई हेर्दा पाठकले त्यहि महसुस गर्छ। एउटा पात्र जसले जीवनमा अनेक आयाम बाँच्छ। सप्तम त्यहि पात्र हो जसले प्राध्यापक, अधिवक्ता, मोटिभेसनल स्पिकर, जग्गा व्यपारी, लेखक, पत्रकारको जीवन बाचिरहेछ। जीवनमा अनेक पात्रता अलि अलि निर्वाह गरेको सप्तम अत्यास लाग्दो पात्र हो। सबैथोक भएर पनि केहि थोक नभए जस्तो। सबथोक पुर्ण हुनु सबथोक हुनु होइन। सबथोक हुनु केहि थोक नहुनु पनि हो। त्यहि केहि थोक जो मोति समान छ त्यहि नै सायद केहि थोक गुदि हो।
फैलनेमा विश्वास गर्ने सप्तम र गहिरिनुमा विश्वास गर्ने काव्या पात्रको कथानक स्व को जड हो। परिस्थितिले सिर्जना गर्ने घटनाक्रमको सुन्दर परिवर्तन स्व ले निर्माण गर्न खोजेको सेतु हो। तथापि बुद्द दर्शनको नजिक रहेर किन नहोस। आमा अर्थात एक निर्दयीपन ! सप्तमको आमाप्रतिको नजर यो वाक्यले कथामा पूर्ण बोलेको पाइन्छ। अतीत अर्थात एक भीर ! यो वाक्य जसले सप्तमको सिङ्गो जीवनको प्रतिनिधित्व गर्छ।
जसरी एउटा मान्छेले एकसाथ सबैलाई खुसी राख्न सक्दैन, त्यसरी नै धेरै पेशाहरुमा बाँडिदा एउटा पेशालाई न्याय गर्न खोज्दा अर्को पेशालाई अन्याय नगरी सुखै पाउँदैन मान्छेले। जीवन सहज होस भनेर अनेकन पेशाहरुमा बाडिँदा बाडिँदै एक दिन मान्छे तिनै पेशाहरुमा जेलिएर असहज जीवन बाँच्न बाध्य हुन्छ। अनेकन पेशाहरुमा बाडिँदा बाडिँदै पेशागत जटिलताहरुको शृङ्खला सुरु हुन्छ। कालो पर्दा लगाएर स्वयंलाई जति नै लुकाउन खोजे पनि स्वयंको नजरबाट चाहिँ स्वयंको दोगलापन छुप्न सक्दैन। स्व ले बोलेका यि वाक्यहरु सप्तमका जीवन कहानी हुन।
चेतन र अवचेतन मनको द्वन्द स्व उपन्यासको अर्को सुन्दर प्रस्तुति हो। हरियो मसिले लेखिएको शुभचिन्तकको रहस्यमय पत्र अझै जोडदार क्लाइमेक्स हो। नारेश्वरको रुख र चौतारोसग जोडिएका पात्रहरु, गन्धकुटीको सेरोफेरो उपन्यासको अर्को सशक्त पाटो हो। त्यसका लागि स्व उपन्यास अध्ययन गर्न जरुरी छ।
देशनामा उभिएका केहि पात्रहरु जसले जीवनका अनेक आरोह अवरोह भट्याइ रहेकाछन। बुद्द मार्ग यीनै पात्रहरुको वरपर डुलेको छ। उपन्यासको कथा बुनाइमा देशनाका पात्रहरु खास देखिन्छन जसका कारण स्व उपन्यास पूर्णताको बाटोमा हिडेको छ। रहस्यमय कथा बुनाइले गर्दा उपन्यास अझै अब्बल भएको महसुस हुन्छ।
दुःखको कारण अपेक्षा हो। त्यसो हो भने सुखको कारण के त ? अपेक्षा नगर्नु सुख हो। तर मनुष्य अपेक्षा कै वरपर हिडडुल नगरी पार पाउदैन। हामीले निर्माण गरेको संरचना नै उस्तै छ। होइन भने सबै मनुष्य बुद्द बन्ने थिए। आफै भित्रको बुद्द्त्व नजागेको मात्रै हो। आखिर सबै मानिस बुद्द नै हुन।
अपेक्षा सहितको पठनले दुःख निम्त्याउने छ। अपेक्षा विहिन भएर थालिएको पठनमा पाठक भित्रको अर्को पाठकले मृत्यु धारण गर्छ। सहित र विहिनको मध्य मार्ग नै उचित मार्गको गन्तव्य बन्न सक्छ।
उपन्यास पढिरहँदा तपाईलाई कुनै आत्मपरक निवन्ध पढे जस्तो लाग्न सक्छ। कतै कथा पढे जस्तो लाग्न सक्छ। तर यी दुबैको सेतुमा सप्तम पात्र आएको छ जसले कथा र निवन्धको क्याइमेक्समा आफुलाई उभ्याएको छ।
उपन्यास पढिरहदा पाठकले सामान्य ज्ञान सम्बन्धी थुप्रै जानकारी पनि पाउन सक्छ। बुद्द दर्शनका अलावा देश बिदेशका लेखक र दार्शनिकहरुका कोटेसन र पुस्तकको चर्चा सामान्य भन्दा अलि बढि नै स्व उपन्यासमा भेटिन्छ। जब कथानक र पात्रमा लेखक हावी हुन्छ सायद यस्तो घटना दोहोरिन्छ। तथापी केहि कमि कमजोरी त अवश्य नै छन। ती तपाईले अध्ययन गर्नु भयो भने थाहा पाउनु नै हुनेछ।
सप्तम र काव्याको भेट कसरी कहाँ हुन्छ ?
उनीहरुको प्रेम कसरी टुसाउछ ?
उनी दुइको प्रेममा कस्ता अप्ठ्यारा र सजिलाहरु आए त ?
सप्तम र काव्याको प्रेमको सुखद या दुःखद अन्त्य कस्तो छ त ?
स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कलाको सम्योजन बुद्द दर्शनको वरपर कसरी घुम्छ ?
यी यावत प्रश्नको उत्तर स्व उपन्यास अध्ययन पश्चात तपाईले पनि महसुस गर्न सक्नुहुनेछ।
अन्त्यमा लेखक सरस्वती प्रतीक्षालाई आगामी लेखन तथा काव्यायात्राका लागि सतत् शुभकामना।