हामी यो धराका यात्री। आमाको गर्भमा प्रवेश गरेसँग जीवन यात्रामा हुन्छौं। जीवन सफल बनाउन सङ्घर्ष गरिन्छ। त्यही सङ्घर्षले नै मान्छेलाई यात्री बनाउँछ।
विगतमा घरायसी द्वन्द्वका कारण धेरै समस्यामा परेका कतिपय मुलुकले छोटो समयमै काँचुली फेरका छन्। नेपालमा दृढ इच्छाशक्ति भएका एकदुई जना मात्र नेता भए भने हाम्रै जीवनकालमा देशको कायापलट हुन्थ्यो।
मानिसको स्वाभावै घुमन्ते। बसाइँ सर्दैसर्दै यहाँ आइपुग्यौं। आनुवंशिकविदहरु भन्दछन्, हाम्रा पुर्खा प्रगतिको सपनाले ७० हजार वर्ष अघि अफ्रिकाबाट फैलिएका हुन्। धेरै परका कुरा नगरौं, हाम्रा बाआमा अलिकति सुखको खोजीमा कास्कीको अर्मला गाउँबाट चितवन झरेको धेरै वर्ष भएको छैन।
जीवा लामिछाने।
मेरो जन्मथलो पदमपुर। तीनतिर चितवन राष्ट्रिय निकुञ्ज र उत्तरमा राप्ती नदीले घेरिएको छ। चुरे पहाड फेदको एक बस्ती। सानैदेखि ममा घुम्ने ठुलो तृष्णा थियो। मध्यमवर्गीय परिवारमा कामको चटारो हुन्थ्यो। त्यतिबेला आनन्दका लागि घुम्ने संस्कृति थिएनक।
एउटा समुद्र नभए पनि प्रकृतिले त्यसको सट्टा हामीलाई धेरै कुरा दिएको छ! प्राकृतिक विविधता भएको हाम्रो देश कम छैन। यति सानो भूगोलमा ज्यान कठ्याउने चिसो पनि छ, हप्हपाउँदो गर्मी पनि।
तिनताका हाम्रो नजिकको बजार भनेको टाँडी थियो। गाउँबाट साँढे दुई घण्टा हिँडेपछि टाँडी पुगिन्थ्यो। बिचमा राप्ती नदी र अरु ४–५ ओटा खोला तर्नुपथ्र्यो। पहिलोपटक कक्षा ४ मा पढ्दा १० वर्षको उमेरमा आमासँग टाँडीबजार पुगेको थिएँ। त्यहाँ पुग्दा चकित परँे। अहो, गाडी कुदेका! मोटरसाइकल दौडेका! घर पनि पक्की!
-1719657472.jpg)
त्यसभन्दा पहिला गाउँमा एउटा साइकल र ट्र्याक्टर मात्र मैले देखेको थिएँ। गाउँका रुदल मास्टरकोमा मात्र साइकल थियो। आज न्युर्योक जाँदा पनि त्यस्तो हुँदैन, जस्तो उत्साह त्यतिबेला टाँडी बजारमा पुग्दा हुन्थ्यो। हामी सानो छँदा गाउँमा दादुरा फैलियो। घरेलु ओखतीले ठुल्दाइलाई निको भएन। बुबाले डोकोमा बोकेर दाइलाई उपचारका लागि टाँडी लैजानुभयो।
गाउँको सम्झनाले मलाई सधैं चिमोटी रहन्छ। त्यसैले जन्मभूमि र मातापिताको सम्मानलाई चिरस्थायी बनाउन एवम् स्रष्टाको सम्मान गर्न हामीले वि.सं. २०६४ मा ‘खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ स्थापना गरेका छौं।
मनको कुरा भन्दैछु है, मलाई पनि दादुरा आए फेरि टाँडी जान पाइन्थ्यो भन्ने लाग्यो। आमालाई जर्मनी घुमाउन लगेका बेला उहाँले भन्नुभयो, ‘तिमीलाई संसार घुम्न लेखेको रहेछ। टाँडी जान पनि बिरामी हुन पाए हुन्थ्यो भन्थ्यौ त !’ घुमफिरको सिलसिला भने एस्.एल्.सी. पछि तीव्र बन्यो। नेपाल सरकारको छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न सन् १९८६ मा सोभियत सङ्घमा पुगें। त्यहाँ विद्यार्थीलाई जुलाई र अगस्टमा दुई महिना गृष्मकालीन बिदा दिइन्थ्यो।
इन्टरनेसनल स्टुडेन्ट कार्ड भएपछि निक्कै सहुलियत दरमा युरोपभरि युरो रेलमा यात्रा गर्न पाइन्थ्यो। ब्यागप्याक बोकेर यात्रामा निस्कन्थें। दिनभर सहर घुम्थें। राती रेलमा सुतेर यात्रा गर्थें। युरो रेलको एउटै पासले युरोप निर्बाध छिचोल्न पाइन्थ्यो।

पढ्दापढ्दै व्यापारिक चेत पनि पलायो। सन् १९८५ मा सोभियत सङ्घको सत्तामा मिखाइल गोर्बाचोभ आए। उनले खुलापन र पुनर्निर्माणको नीति लिए। बिस्तारै बजार खुला हुन थाल्यो। निजी सम्पत्ति राख्न पाउने, सहकारी पसल चलाउन पाउने व्यवस्था भयो। रुसमा दैनिक उपभोग्य सामान उत्पादन हुन्थ्यो तर जापानीजस्ता राम्रा र बलिया इलेक्ट्रोनिक्स सामान पाइन्नथ्यो।
हामी विदेशी विद्यार्थी बिदामा बर्लिनमा जान्थ्यौं र ब्रान्डेड कपडा, क्यासेट प्लेयर, म्युजिकल सिस्टम डिस्क रेकर्डर, टिभी, डेक आदि ल्याउँथ्यौं। अनि ती सामान महँगोमा बेच्थ्यौं। यसरी व्यापारको सिलसिलामा पनि घुमफिर गरें। सन् १९९१ मा महाशक्ति राष्ट्र सोभियत सङ्घ विघटन भएर १५ ओटा देश बने। सन् १९९२ मा मैले विश्वविद्यालयको औपचारिक शिक्षा पनि सकें। अनि मस्कोमा कम्पनी स्थापना गरेर सिङ्गापुर, दुबई आदि देशबाट जापानी ब्रान्डका सामान आयात गरेर रुसमा व्यवसाय थालें।
अर्को कुरा, गैरआवासीय नेपाली अभियानले पनि धेरै देशमा डुलायो। उपेन्द्र महतोको नेतृत्वमा सन् २००३ देखि विश्वभरिका नेपालीलाई एकै नेटवर्कमा जोड्ने अभियान चलायौं। त्यसका लागि पनि धेरै देशमा पुगियो।
जीवनयात्रा जारी छ। विश्वका सबै महादेशका धेरै देश घुमिसकें। मातृभूमिका पनि अधिकांश जिल्लामा पुगेको छु। कञ्चनपुरको शुक्लाफाँटामा डुल्दा अफ्रिकी सफारीको झल्को आयो। रुख कम भएको घाँसे मैदान। एउटै झुन्डमा सयौं बाह्रसिङ्गे देख्यौं।
सुदूरपश्चिमकै अर्को गन्तव्य, टिकापुर। कर्णाली नदी किनारमा व्यवस्थित पार्क। पार्कमा अवस्थित राजा महेन्द्रको भवन ‘महेन्द्र आरोग्य भवन’ देख्दा होचिमिन्हलाई सम्झें। उता उनी बसेको यस्तै काठको साधारण घरलाई पर्यटकीय प्रोडक्ट बनाइएको छ।

नेपालमा बर्सेनि लाखौं विदेशी पदयात्रा गर्छन्। मलाई पनि हिमाली पदयात्राको भोक छ। समय मिलाउँदै छु। घुमफिरमा मलाई लोकल परिकारले तान्छ। जहाँजहाँ जान्छु, त्यहाँत्यहाँको परिकार चाख्छु। थारु समुदायमा जन्मीहुर्केको मान्छे म। थारु परिकार मनपर्छ। थकाली खानाको स्वादले पनि मोहनी लगाउँछ।
हामीले बुझ्नुपर्छ कि, हरेक ठाउँका आआफ्नै विशेषता हुन्छन्। मरुभूमिको सौन्दर्य अलग्गै हुन्छ। समुद्री किनारको छुट्टै आनन्द छ। यहाँसम्म कि, स्थायी रुपमा मानवबस्ती नभएको अन्टार्कटिक महाद्वीपको पनि आफ्नै सुन्दरता छ!
यात्रामा धेरै अनुभव पाइन्छ। केन्याको मसाइमारा जङ्गलको घाँसे मैदानमा २८ ओटा सिंह एकै ठाउँमा बसेका थिए। अघाएर आराम गरिरहेका बेला मुखमै शिकार आए पनि तिनले झम्टिँदा रहेनछन्! हामी जिपमा थियौं। हाम्रा ड्राइभर जोसेफले भने, ‘मान्छे मात्र यस्तो जात हो कहिल्यै नअघाउने!’

वास्तवमा हामी जहाँ जे छ, त्यसमै रमाउन जान्नुपर्छ। प्रकृतिले कसैलाई पनि अन्याय गरेको छैन। एउटा समुद्र नभए पनि प्रकृतिले त्यसको सट्टा हामीलाई धेरै कुरा दिएको छ! प्राकृतिक विविधता भएको हाम्रो देश कम छैन। यति सानो भूगोलमा ज्यान कठ्याउने चिसो पनि छ, हप्हपाउँदो गर्मी पनि।
म त नेपालमा सम्भावना नै सम्भावना देख्छु। हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटन फस्टाउन सक्छ। विदेशीले आफ्ना सम्पदाको राम्रो उपयोग गरेझैं हामीले पनि गर्नुपर्छ। एउटा सन्दर्भ, हामी पारिवारिक भ्रमणमा क्यारेबियन क्रुजमा गएका थियौं। १८ तले पानी जहाजमा करिब ७ हजार यात्रु थियौं। हामीलाई हैटीको लाबादी टापुमा लगियो। त्यो टापु ५० वर्षका लागि क्यारेबियन क्रुइज कम्पनीले भाडामा लिएको रहेछ। टापुमा केही स्थानीयले रोजगारी पाएका रहेछन्! हामीलाई त्यहाँ लैजाने क्रुइज कम्पनीले एक जना पर्यटकलाई ४ घण्टा लाबादीमा राखेबापत १० डलरका दरले हैटी सरकारलाई कर तिर्नुपर्दो रहेछ। हिसाब गर्दा त्यो एक जहाज त्यहाँ आए बापत मात्रै राज्यले त्यस दिन ७० हजार डलर आम्दानी ग¥यो! मलाई लाग्यो, हामीले पनि कुनै विकट ठाउँ राज्यलाई यदि फाइदा हुन्छ भने निश्चित सर्तका साथ कुनै बहुराष्ट्रिय कम्पनीलाई भाडामा दिए हुँदैन? हामीकहाँ यो निक्कै पेचिलो विषय बन्ला तर कतिपय देशहरुले यस्तो अभ्यास गरेको पनि देखियो!
फेरि घुमफिरकै कुरा, जीवनमा आनन्द लिन, केही कुरा सिक्न र मनमा ऊर्जा बढाउन यात्रा गरिन्छ। कामका सिलसिलामा पनि यात्रा भइराख्छ। यात्रामा जता पुगे पनि प्रकृतिको न्यानो अँगालोमा बेरिन पाइन्छ। मान्छेको आत्मीयता पनि। समग्रमा, सबैतिरका अधिकांश मान्छे सहयोगी छन्। असल मनका।

विगतमा आन्तरिक द्वन्द्वका कारण धेरै समस्यामा परेका कतिपय मुलुकले छोटो समयमै काँचुली फेरिसके। नेपालमा पनि दृढ इच्छाशक्ति भएका एकदुई नेता मात्र हुने हो भने हाम्रै जीवनकालमा देशको कायापलट हुन्थ्यो भन्ने लाग्छ। साँच्चै हाम्रोमा त्यस्ता नेता र राजनीतिक दलको खाँचो देखिन्छ। प्रकृतिले दिएका अनुपम सम्पदा सदुपयोग गरेमा, मिहिनेत र सुशासन भएमा हामी चाँडै समृद्धिपथमा लम्किन सक्छौं।
अन्त्यमा, बालापनका सम्झनाले मलाई हुरुक्कै बनाउँछन्। म जन्मीहुर्केको पदमपुर जहाँको त्यहीँ छ। भूगोल उस्तै छ तर गाउँ बाँकी छैन। चितवन राष्ट्रिय निकुञ्जमा परेको मेरो गाउँलाई अहिले अन्यत्र स्थानान्तरण गरिएको छ। गाउँको सम्झनाले मलाई सधंै चिमोटी रहन्छ। त्यसैले जन्मभूमि र मातापिताको सम्मानलाई चिरस्थायी बनाउन एवम् स्रष्टाको सम्मान गर्न हामीले वि.सं. २०६४ मा ‘खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ स्थापना गरेका छौं। यसबाट हामी हरेक वर्ष उत्कृष्ट नेपाली कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’, वाङ्मयका दीर्घ साधकलाई ‘पद्मश्री साधना सम्मान’ र राष्ट्रिय गौरवका व्यक्तित्वलाई ‘पद्मश्री गौरव पुरस्कार’ अर्पण गर्छौं। पुरस्कार र सम्मानको नामकरण हाम्रै गाउँ ‘पदमपुर’बाट गरेका हौं।
पदमपुर मेरो ढुकढुकीमा छ। त्यही गाउँबाट जीवनयात्रामा निस्केको म एक यायावर। निरन्तर यात्रामै छु। यो वर्षको सुरुमा सपरिवार अन्नपूर्ण बेसक्याम्प पुगें। केही समयअघि सेतो महाद्वीपका रूपमा चिनिने ‘अन्टाकर्Þटिक’ पुगेर आएँ। यो यात्रा कहाँ पुगेर टुङ्गिन्छ, थाहा छैन। जहाँ पुगे पनि गाउँघरका सम्झना भने मनमा सधंै आइरहन्छन!
...
फेसबुकले बनाएको लेखक
घुमघामका अनुभूति बाँडौ भनेर लेखनमा पनि हात हालेको छु। कहिलेकाहीं सञ्चारमाध्यममा लेख्छु। दुई ओटा नियात्रा सङ्ग्रह ‘देश देशावर’ र ‘सरसर्ती संसार’ प्रकाशित भइसके। तेस्रो कृति प्रकाशनको सङ्घारमा छ। त्यसैगरी बाल्यकालका सम्झनाको सँगालो पनि तयारी अवस्थामा छ।
खासमा म ‘एभरेज’ लेखक। साहित्य मेरो रुचिको विषय। मलाई त फेसबुकले लेखक बनाइदियो। सन् २००९ मा फेसबुक आयो। कतै घुम्न जाँदाका अनुभूति फेसबुकमा लेखेर सेयर गर्न थालें। शुभेच्छुकहरुले प्रशंसा गरे। सम्पादकले अलिक लामो बनाउनुस्, हामी छाप्छौं भने। मैले उनीहरुका सद्भाव स्विकारें। यसरी ठट्टैठट्टामा लेखेक बनें। अचेल प्रविधिको विकासले सजिलो छ। मोबाइल फोनमै टिप्न सकिन्छ। डायरी पनि बोक्छु। फुर्सदमा मिलाएर लेख्छु। लेखनबाट सन्तुष्टि मिल्छ।
|
ब्रेकफास्ट विथ् राइनो
मसाइमारा राष्ट्रिय निकुन्ज, केन्याको मारा नदी छेउमा ठुलाठुला गोही घाम तापिरहेका थिए। देख्दै डरलाग्दा! अर्को छेउमा हिप्पो पनि आहालमा बसेका। हिप्पो पनि डरलाग्दा। आहाल बसेका बेला शान्त हुँदा रहेछन्।
हाम्रो अगाडि सुरक्षार्थ भाला लिएर मसाई समुदायका एक युवा बसेका थिए। तैपनि मन ढक्क थियो। आत्तिनु पर्दैन भनेर गाइडले सम्झाए। अनि हामीले तिनलाई हेर्दै ब्रेकफास्ट खायौं। होटलबाटै ब्रेकफास्ट ल्याइएको थियो। उनीहरुले यसलाई ‘ब्रेकफास्ट विथ् हिप्पो’ भनेर ब्रान्डिङ गरेका रहेछन्! अतिरिक्त शुल्क तिरेर पर्यटक त्यहाँ ब्रेकफास्ट गर्न हानथाप नै गर्दा रहेछन। मलाई लाग्यो, के यस्तै ब्रान्डिङको सम्भावना हामीकहाँ छैन? के हामी चितवन र बर्दियामा ‘ब्रेकफास्ट विथ् राइनो’ अनि शुक्लाफाँटामा ‘ब्रेकफास्ट विथ् बाह्रसिङ्गे’ प्याकेज बेच्न सक्दैनौं ?
(साभार: बुद्ध एयरलाइन्सको इन्फ्लाइट म्यागेजिन यात्राबाट।)



