चितवनमा बसेर बहुविधामा कलम चलाउँदै आएका साहित्यकार गणेश श्रमण मूलतः कविता विधामा विशिष्टीकृत प्रतिभा हुन्। काव्यकर्ममा उनको सिर्जनशीलता फस्टाएको देखिन्छ।
देशमा व्याप्त अशिक्षा, अन्धकार, बेथिति र गरिबी हटाउन आगो बोकेर गाउँगाउँमा जान विलम्ब गर्न नहुने कवि गणेश श्रमणको अभिप्राय छ।
कविता र लघुकथाका क्षेत्रमा उनका कृति प्रकाशित छन्। उनको पहिलो पुस्तकाकार कृतिका रूपमा ‘शब्दहरू अविराम यात्रामा’ (२०५७) नामक संयुक्त कविता सङ्ग्रह प्रकाशित छ। यसपछि उनका एकल कविताका कृतिहरू ‘शब्दक्रान्ति’ (२०६६) र ‘आगो लिएर गाउँ गाउँमा’ (२०८०) प्रकाशित छन्।उनको लघुकथाको कृति भने ‘गुलियो काठमाडौँ’ (२०७५) हो। उनी समसामयिक धाराका निरन्तर साधनारत लेखक हुन्।
‘आगो लिएर गाउँ गाउँमा’ कवितासङ्ग्रह बहुलविषय र भाव बोकेका कविताहरूको सञ्चयन हो। यसमा चार ओटा खण्ड छन् । पहिलो खण्डलाई ‘गाउँका कविता’ नाम दिइएको छ। यसमा ६ ओटा कविता छन्। दोस्रो खण्डलाई ‘प्रतिपक्ष’ नामकरण गरिएको छ। यसमा एक्काइस ओटा कविता छन्। त्यस्तै तेस्रो खण्डलाई चाहिँ ‘प्रकृति’ भनिएको छ। यसमा बाह्र ओटा कविता र चौथो खण्ड ‘..र अनन्त’ मा सोह्र ओटा कविताको रसास्वादन गर्न सकिन्छ।
यस कृतिमा पचपन्न ओटा फुटकर कविता छन्। आकारका दृष्टिले हेर्दा कविताहरूले घटीमा एक पृष्ठदेखि बढीमा पाँच पृष्ठसम्मको आयाम लिएका छन्।
कवि गणेश श्रमण
नेपाल गाउँबहुल देश। गाउँ नचिनी देश चिन्न कसरी सकिन्छ र? हो, कवि निकै संवेदित भएर बगेका छन् गाउँका संवेदनासम्म। उनका कविताले गाउँहरूलाई नचिनी देशलाई पढ्न नसकिने भाव सम्प्रेषित गरेका छन्। ग्राम्य बिम्ब प्रयोगमा श्रमण सघन रूपमा देखिएका छन्।
देशको संस्कृति, परम्परा र वैशिष्ट्य बुझ्न पहिला गाउँ नै बुझ्नुपर्छ। हो, गाउँको विम्ब जीवित छ र यसमै हाम्रो परिचय छ। नेपालीपनको सुवास जीवन्त छ। विस्तारै गाउँबाटै गाउँ हराउन थालेको आभास हुन थालेको पीडा कवि श्रमणका कवितामा ध्वनित भएका छन्। यसले भविष्यमा हाम्रो परिचयको सङ्कट नआओस् भन्नेमा उनी संवदनशील देखिन्छन्। पुस्तकको पहिलो खण्ड ‘गाउँका कविता’मा यस्तै भाव प्रतिध्वनित भएका छन्।
‘गाउँको विकास’ शीर्षक कवितामा कविले गाउँका मानिस सहर पलायन हुने क्रम नरोकिएको पीडा पस्केका छन्। यसले गर्दा कुनै दिन गाउँ पुरै रित्तो हुने हो कि भन्ने गम्भीर आशङ्कातर्फ सङ्केत गरेका छन्।
‘मोटर पुगेपछि’ शीर्षक कवितामा कविले आफू निकैपछि गाउँमा जाँदा गाउँको मौलिकतामा कताकता कमी आउन थालेको चित्र भेटिन्छ। ‘गाउँ छाड्ने मान्छे’ कवितामा गाउँ छाडेर जहाँ पुगे पनि अन्यत्र जाने हरेक हृदयबाट गाउँ कहिल्यै ओझेल नपर्ने भावना प्रस्तुत गरिएको छ।
हजुरबा, हजुरआमा, बा, आमा हुने संयुक्त परिवारको सौन्दर्य उजागर गरिएको छ, ‘घर’ शीर्षक कवितामा। अझ सानो बगैँचा, गोठ, खेतीपाती पनि हुँदाको घरेलु संसारको चित्र निकै मिठो लाग्छ।
‘गाउँमा जेल हुँदैन’ शीर्षकको कवितामा कविले ग्रामीण स्वच्छता, दया, धर्म, इमान र विश्वासको सुन्दर चर्चा गरेका छन्।
‘आगो लिएर गाउँ गाउँमा’ कविता निकै प्रतीकात्मक अर्थयुक्त छ। यहाँ आगोलाई चेतनासँग तुलना गरिएको बुझ्न सकिन्छ। देशमा व्याप्त अशिक्षा, अन्धकार र गरिबी हटाउन आगो बोकेर गाउँगाउँमा जान ढिला गर्न नहुने कविको अभिप्राय छ।
यसरी पहिलो खण्डका कविता बलशाली भाव बोकेर देखापरेका छन्। दोस्रो खण्डका कविता प्रतिपक्षीय चेतनाले ओतप्रोत छन्। वर्तमानको बिब्ल्याँटो शासन शैलीप्रति कवि असन्तुष्ट छन्। उनले सत्ताशीन नेताहरूको भ्रष्ट चरित्र पर्दाफास गरेका छन्। देशमा व्याप्त विसङ्गतिको कविले शल्यक्रिया गरेका छन्।
त्यस्तै तेस्रो खण्डका कवितामा प्रकृतिका विम्बहरूको प्रयोग बढी भएको छ। अन्तिम खण्डका कवितामा चाहिँ मृत्युबोध, निर्वाण, आध्यात्मिकता, आत्मचिन्तन, जीवनबोधजस्ता दार्शनिकताको पाटो भेटिन्छ। कविको जीवनानुभूति र प्रौढता दार्शनिकतातर्फ उन्मुख हँदै गएको महसुस हुन्छ।
समकालीन जीवनभोगाइको आरोहअवरोहका काव्यिक रस आस्वादन गर्न चाहने पाठकका लागि ‘आगो लिएर गाउँ गाउँमा’ एक पठनीय काव्यकृति हो। यसले कवि गणेश श्रमणको साधनालाई पनि सफलताको ताज पहिराएको छ।