मुन्दमी सभ्यतासँग जोडिएको छ, पूर्वी नेपालको मुन्दुम पदमार्ग। विशेषतः खोटाङ र भोजपुरको भूगोलमा पदयात्रा गर्न ब्रान्डिङ गरिएको नयाँ पदर्माग। यहाँबाट किरात संस्कृतिका साथै कञ्चनजङ्गा, मकालु, लोत्से, लोत्से सार र चोयुसहित ४५ ओटा हिमाल दर्शन गर्न पाइन्छ। मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रको अगुवाईमा मुन्दुम ट्रेल ब्रान्डिङ गरिएको हो। उसकै नेतृत्वमा मुन्दुम टे«ल भ्रमण वर्ष २०२५ मनाइँदैछ। यसै सन्दर्भमा केन्द्रका अध्यक्ष रमेशकुमार राईसँग गरिएको कुराकानी:
मुन्दुम पदमार्गमा किन पदयात्रा गर्ने ? यसका प्रमुख विशेषताहरू के के हुन् ?
मुन्दुम ट्रेल विशेष गरेर किरात राई सभ्यतासँग जोडिएको छ। यहाँको सस्कृति र प्रकृतिले मोहनी लगाउँछ। हाम्रा पुर्खाहरूले नियामादेखि चोमोलुङ्मासम्म अर्थात् समुद्रदेखि सगरमाथासम्म पुग्न पच्छाएको प्राग ऐतिहासिक र हालसम्म प्रयोगमा रहेको पदमार्ग हो, मुन्दुम ट्रेल।
हामीले मुन्दुम भ्रमण वर्ष २०२५ मा एक लाखभन्दा बढी पर्यटकलाई घुमाउने योजना बनाएका छौं। त्यसैल समयमै भ्रमण वर्षका कार्यक्रम आयोजना गर्न सरोकारवाला निकायलाई आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
यसमा १० वर्षदेखि ८० वर्षसम्मका व्यक्तिले सजिलै पदयात्रा गर्न सक्छन्। धेरै उकालो र ओरालो छैन। मनसुनमा पदमार्ग भुइँफूलले ढकमक्क हुन्छ भने चैतवैशाखमा गुराँस र चाँपले। हिउँदमा सिलिचुङ साल्पापोखरी, रावाधाप, लौरीडाँडा, मैयुङ र ट्याम्के डाँडा हिउँले सेताम्मे हुन्छन्। मनसुनमा गाईभैँसी, भेडा, चौरी र घोडाका बथानले हरिया नागीहरू भरिन्छन्। थरिथरिका जडीबुटी पाइने भएकाले पनि यसको महत्व छ।
पदमार्गको चारैतर्फ १० भाषी किरात जातिको बसोबास छ। साथै शेर्पा, तामाङ र अन्य समुदायको संस्कृति अध्ययन गर्न पाइन्छ। पदमार्गका हरेक ठाउँ बिशेषको नाम मुन्दुमसँग जोडिएको छ। ट्रेकिङ बाहेक हनी हन्टिङ, साइकलिङ रकक्लाइम्बिङ र क्यानोनिङलगायत खेल गतिविधिका लाग समेत पूर्वाधार बनिसकेको छ। फिल्म सुटिङ गन्तव्यका रुपमा समेत यसलाई उपयोग गर्न सकिन्छ।
पदमार्गको कलाइमेक्सविन्दु सिलिचुङ र साल्पापोखरीको महत्व के छ ?
साल्पा पोखरी र सिलिचुङ किरातीको पवित्र धार्मिक एवम् आध्यात्मिक तीर्थ हो। किरात जातिका सृष्टिकर्ता आदिम पुर्खा सुम्निमा र पारुहाङ बसोबास गरेको र किरातको सृष्टि गरेको स्थानका रुपमा साल्पा पोखरी क्षेत्रलाई पुजिन्छ। किरात मुन्दुमी, धामी, बिजुवा र नाक्छोंगहरूले साल्पा पोखरी र सिलिचुङ क्षेत्रलाई आफ्ना गुरु बस्ने स्थान र अध्यात्मिक शक्ति केन्द्रका रुपमा पूजा गर्छन्। त्यसैले यस पदमार्गलाई मुन्दुम अध्ययन पाठशालाका रुपमा बुझ्न पनि सकिन्छ।
ग्रेटर मुन्दुम ट्रेलको अबधारणा पनि अघि बढाउनु भएको छ नि ?
मुन्दुम पदमार्गले भोजपुर र खोटाङका धेरै सम्पदाको प्रवद्र्धनमा टेवा पु¥याउँछ। खोटाङतिरबाट यात्रामा निस्कँदा हलेसी गुफा, किरातको कृषि सभ्यतासँग जोडिएको तुवाचुङ जायाजुम, होलेसुङगढी, माहुरेगढी, रुपाकोट, मझुवागढी आदिको भ्रमण गर्न पाइन्छ। त्यस्तै भोजपुरतर्फ सिद्धकाली मन्दिर, खिवाहांगगढी, खिकामगढी, टक्सार बजार, बाल गुरु षडानन्दको तपोभूमि दिङ्गला बजार पनि घुम्न सकिन्छ।
सप्तकोसीदेखि सगरमाथा सम्मको “ग्रेटर मुन्दुम ट्रेल“ को समेत पदयात्रा गर्न सकिन्छ। हामीले यसको अध्ययन र प्रवद्र्धनमा काम गरिरहेका छौं। दुधकोसीमा राफ्टिङ गर्दै कोसी टप्पुको वाइल्डलाइफ समेत अवलोकन गर्न सकिन्छ।
पर्यटन बजारमा मुन्दुम पदमार्ग स्थापित भैसकेको छ। कसरी यसको शुभारम्भ भएको थियो ?
आजभन्दा ७ वर्ष अगाडि हाम्रो संस्था ‘मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्र’को नेतृत्वमा अध्यक्ष रमेश राई, उपाध्यक्ष इन्सु राई, सचिव श्याम राई, सदस्य मोहन राई, हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्य, पर्यटन पत्रकारद्वय अमृत भादगाउँले र सुरेन्द्र रानालगायतको टोलीले टयाम्के मैयूङ गाउँपालिकाका पदाधिकारी तथा तत्कालीन अध्यक्ष ध्रुवराज राईको सहयोगमा मुन्दुम टे«ल एक्सप्लोर गरेका थियौं।
पूर्वाधार विकासको अबस्था कस्तो छ? बिना क्याम्पिङ पदयात्रा गर्न सकिन्छ कि सकिँदैन?
हाल उपलब्ध पूर्वाधारहरूको कुरा गर्दा, भोजपुरतर्फबाट सदरमुकाममा विमानस्थल छ। सार्बजनिक यातायात सुविधा छ। सुन्तले बाघखोरमा लज तथा टि हाउस छन्। बाघखोरदेखि मैयुंङ डाँडासम्म ट्रेल मर्मत सुधार भैसकेको छ। त्यसैगरी खोटाङतर्फबाट तावा भन्ज्याङसम्म गाडीको सुविधा छ। चखेवा भन्ज्याङसम्म मध्यपहाडी लोकमार्ग छ। चखेवामा ८ वटा टि हाउस, होमस्टे र लज सञ्चालनमा छन्। धोत्रे भन्ज्याङमा २ ओटा टि हाउस छन्। हाँस पोखरी नजिक पाहुना घर छन्। ढुङ्गेखर्कमा गोठस्टे सुबिधा छ। मैयुंङडाँडाको उत्तरपूर्वी भागमा टि हाउस बनाइएको छ।
साल्पा पोखरी नजिक कुलुपंख भन्ज्याङमा २ वटा टि हाउस संचालनमा छन्। साल्पा पोखरी मुनि साल्पा सिलिछो गाउँपालिकाले पानी, चर्पीसहितका घर तथा सेल्टर हाउस निर्माण गरेको छ। मुन्दुम ट्रेलको करिब ६५ प्रतिशत स्तरोन्नती भैसकेको छ।
पदयात्रा गर्न विदेशी पर्यटकका हकमा क्याम्पिङ वा सेमी क्याम्पिङ ट्रेक गर्नै पर्छ। पदमार्गको आधा खण्डसम्म टिहाउस ट्रेक गर्न सकिन्छ। त्यसैले मैयुङ डाँडामा स्लिपिङ ब्याग, म्याट आदि भाडामा लिन पाइन्छ।
त्यता स्वदेशी तथा विदेशी पर्यटक कत्तिको घुमिरहेका छन् ? आन्तरिक पर्यटकको आकर्षण कत्तिको छ ?
मुन्दुम ट्रेलमा गत वर्षको आँकडा हेर्दा करिब ३५ हजार आन्तरिक पर्यटक र ५० वटा भन्दा बढी विदेशी पर्यटक समूहले भ्रमण गरेको अनुमान गरिएको छ। पूर्वी तराईदेखि अत्यन्तै नजिक, काठमाडौँदेखि पनि १० घण्टाको सडक यात्रा मार्फत पुग्न सकिन्छ पदमार्गको प्रस्थान विन्दुमा। आन्तरिक पर्यटकको चहलपहल राम्रो छ।
मुन्दुम भ्रमण वर्ष २०२५ घोषणा गर्नु भएको छ, किन ?
मुन्दुम ट्रेल पूर्वी नेपालको आकर्षक गन्तव्य हो। विगत ७ वर्षदेखि निरन्तर यसको प्रचारप्रसार, प्रबर्धन र भौतिक पूर्वाधार विकासमा काम गरिरहँदा पर्यटक बढीरहेका छन्। कोभिड–१९ को महामारीको असर मत्थर भइरहेको अबस्थामा एकै पटक पुर्वाधार विस्तार, प्रचारप्रसार, प्रवद्र्धन र स्थानीयमा पर्यटन चेतना बढाउन भ्रमण वर्ष मनाउन लागिएको हो।
पर्यटकमैत्री वातावरण बनाउने, स्थानीय खानपिन र संस्कृति प्रवद्र्धन गर्ने उद्धेश्य राखेका छौं। समग्रमा, मुन्दुम ट्रेललाई समृद्धिको आधारशीला बनाउने अभियानमा हामीले भ्रमण वर्ष मनाउन लागेका हौ। भ्रमण वर्षमा एक लाख पर्यटकलाई मुन्दुम पदमार्ग घुमाउने लक्ष्य राखेका छौं। हाम्रो अध्ययनअनुसार एक जना अन्तरिक पर्यटकले मुन्दुम ट्रेलमा भ्रमण गर्दा सरदर बिस हजार रुपैयाँ खर्च गर्दोरहेछ। भ्रमण वर्षले यस क्षेत्रको आर्थिक चहलपहलमा पनि ठुलो टेवा पु¥याउने छ।
भ्रमण वर्षका मुख्य आकर्षण के के हुनेछन् ? अरु समयमा भन्दा भ्रमण वर्षमै घुम्दा पर्यटकले थप सेवा र सुविधा केही पाउँछन् ?
हामीले मौसमअनुसार भ्रमण वर्षमा विभिन्न कार्यक्रम तथा महोत्सव आयोजना गर्नेछौं। हामी चैतवैशाखमा गुराँस महोत्सव गर्नेछौं। साइक्लिङ, क्यानोनिङ र फिल्म सुटिङ महोत्सव गर्नेछौं।
जेठअसारमा गोठस्टे महोत्सव मनाउँछौं भने वैशाख र मङसिरमा उधौली तथा उभौलीका साथै अन्य सांस्कृतिक महोत्सव गर्नेछौं। त्यसैगरी फिसिङ, सुन्तला र अल्ट्रा म्याराथन महोत्सव पनि गर्नेछौं।
भदौरे पुर्णिमामा साल्पा सिलिचुङ महोत्सव, कात्तिके पूर्णिमा धामी महोत्सव, रुद्राक्ष महोत्सव आदि आयोजना गर्नेछौं।
यसका अलावा पर्यटकले रुचिअनुसार विभिन्न गतिविधि गर्न सक्नेछन्। भ्रमण वर्षमा खानेबस्ने लगायतका पूर्वाधारमा थप सहज र सुविधा हुनेछ। हामीले स्थानीय परिकार चखाउनेछौं। र, भ्रमण वर्षमा आयोजना गरिने महोत्सवमा संस्कृतिको सुवासमा रम्न पाइन्छे।
भ्रमण वर्षमा आयोजना गरिने कार्यक्रमका लागि आर्थिक पक्षको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
भ्रमण वर्ष कार्यक्रम सफल बनाउन मुन्दुम ट्रेलसँग जोडिएका गाउँपालिका, नगरपालिकाका अगुवा, स्थानीय सरकार प्रमुखहरूसँग अन्तरक्रिया गरेर हामीले भ्रमण वर्ष मूल व्यवस्थापन समिति गठन गरेका छौं। समिति मार्फत् स्थानीय सरकारसँग आवश्यक रकम माग गरेका छौं। पूर्वाधार निर्माणका लागि अनुरोध गरेका छौं। आवश्यक रकम जुट्ने आशा गरेका छौं।
चुनौतीहरू के के छन् ?
भ्रमण वर्षका लागि मुख्य चुनौती भनेको आर्थिक पक्ष नै हो। आर्थिक पक्ष सबल भएन भने चाहेजस्तो कार्यक्रम गर्न सम्भव हुँदैन। प्रचारप्रसारका काम गर्न सकिँदैन। प्रचारका लागि मिडियाकर्मी र पर्यटनकर्मीलाई मुन्दुम पदमार्गमा घुमाउने कार्यक्रम छ। सरोकारवाला सबैले बेलैमा हामीलाई रकम उपलब्ध नगराए हामीलाई समस्या हुनेछ। अर्को महत्वपूर्ण चुनौती भनेको पूर्वाधार निर्माण गर्न नसकिएमा भोलि पुग्ने हजारौं पर्यटकलाई समस्या पर्नेछ। कम्तिमा दैनिक ५०० देखि हजार जनासम्म एउटै स्थानमा राख्न सक्ने गरी गोठस्टे सुधार तथा निर्माण गर्नुपर्नेछ। साथमा टि हाउस र लज पनि। ठाउँठाउँमा शौचालय र खानेपानीको व्यवस्थापन गर्नु छ। फोहोरमैला व्यवस्थापन गर्नुछ।
थप केही भन्नु छ कि ?
मुन्दुम ट्रेल भ्रमण वर्ष समग्र राष्ट्रको समुन्नति र समृद्धिसँग जोडिएको कार्यक्रम भएकाले सरोकारवाला सबै निकायले आर्थिक, भौतिक, सामाजिक सबै हिसाबले सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं। समयमै सरोकारवाला निकायले आआफ्ना कर्तव्य पालना गरिदिनुहुन अनुरोध गर्दछु। र, सबै पदयात्राप्रेमीलाई मुन्दुम पदमार्गमा निम्तो गर्दछु।