निधि प्रसाद तिमिल्सिना गोरखा होटल संघका अध्यक्ष हुन्। यसमा गोरखा जिल्लाभरका ६ सय होटल सदस्य छन्। यसले होटल व्यवसायीको हकहितका साथै पर्यटन प्रवद्र्धनका काम गर्दै आएको छ। प्रस्तुत छ तिमिल्सिनासँगको कुराकानी:
गोरखा जिल्लाका प्रमुख पर्यटकीय सम्पदाहरू के के हुन् ?
जिल्ला सदरमुकाम गोरखाबजार सेरोफेरोमा गोरखा दरबार, गुरु गोरखनाथ मन्दिर, गोरखकाली, दरबार सङ्ग्रहालय, रानीपोखरी, भीमसेन पार्क, उपल्लो कोट, बज्र भैरव आदि छन्। पर्यटकीय गाउँका हिसाबले बारपाक, लाप्राक, वीरेनचोक सामुदायिक होमस्टे, पस्लाङ, नम्की गाउँ आदि छन्। जिल्लामा चौबिसे शासन कालका ३६ ओटा कोट छन्। धेरै छन् पर्यटकीय सम्पदाहरू। अर्को महत्वपूर्ण धामिर्क सम्पदा मनकामना मन्दिर हो।
हिलस्टेसनको कुरा गर्दा सिरानडाँडा, धार्चेडाँडा, आरुकोट, तान्द्राङकोट, शिरानचोक आदि हुन्। त्यसैगरी पदयात्राका हिसाबले मनास्लु संरक्षण क्षेत्र, रुबिनाला प्रख्यात छन्। हाम्रोमा पर्यटनको अथाह सम्भावना छ। राम्रो पहिचान गरी पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्न सके हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन सकिन्छ।
पर्यटक आगमनको अबस्था कस्तो छ ?
नाम चलेका पर्यटकीय गन्तव्यहरूमा पर्यटन आगमनको अबस्था सन्तोषजनक छ। यतिमै हामीले चित्त बुझाउनु हुँदैन। बढीभन्दा बढी पर्यटक भित्र्याएर आर्थिक अबस्था उकास्ने प्रयास गर्नुपर्छ। यसका लागि स्थानीय निकाय, प्रदेश सरकार, पर्यटन बोर्ड र पर्यटनकर्मीले पूर्वाधार विकास र मार्केटिङमा जोड दिनै पर्छ।
तपाईंहरूका प्रमुख समस्या के के छन् ?
ऐतिहासिक महत्व बोकेको गोरखामा पर्यटन पूर्वाधारको चाहे जति विकास हुन सकेको छैन। सडक स्तरोन्नती, बिजुली र पानीको राम्रो ब्यबस्था छैन। स्थानीय निकायले फोहोर व्यवस्थापनमा सक्रियता देखाउनु पर्छ। अर्को समस्या दक्ष जनशक्ति अभाव हो। अलिकति काम सिकेपछि उनीहरू कि त सहर पस्छन् कि त विदेश। हेर्दा सामान्य लाग्ने तर अत्यावश्क बस्तुको बेलाबेलामा अभाव भइरहन्छ। जस्तो कि सधैं प्याज पाइन्न।
पर्यटकीय सुविधाका होटलहरूको अबस्था कस्तो छ ?
गोरखा बजार क्षेत्रमा पर्यटकीय सुविधा भएका करिब डेढ दर्जन होटल छन्। गाउँघरतिर सामान्य होटल र होमस्टे सुविधा छ। त्यसैगरी पदमार्गहरूमा पर्यटकीय सुविधाका होटल, लज तथा रिसोर्टहरू प्रशस्त खुलिसकेका छन्।
समग्र जिल्लामा पर्यटक बढाउन तपाईंहरू के गरिरहनु भएको छ ?
हामीले वि.सं. २०२५ लाई ‘गोरखा पर्यटन वर्ष’ सञ्चालन गर्ने तयारी गरेका छौं। हाम्रो होटल संघ र गोरखा नगरपालिका मिलेर भ्रमण वर्ष मनाउन लागेका हौं। हामी ‘जाऔं है गोरखा’ अभियान पनि चलाउँदैछौं। चितवन, नवलपुर र तनहुँलगायतका छिमेकी जिल्लामा बसोबास गर्नेहरूलाई गर्मी छल्ने गन्तव्यका रुपमा गोरखालाई चिनाउन चाँडै नै यो अभियान सुरु गर्नेछौं। हामीले नेपाली नयाँ वर्षमा सडक खाना महोत्सव मनाउन सुरु गरेका छौं। यसले रैथाने खाना र संस्कृतिको प्रवद्र्धनमा टेवा पु¥याउने छ। मनास्लु हिमाल आरोहणको ६९ वार्षिकोत्सव विशेष कार्यक्रम गरी आउँदो मे ९ मा मनाउँदैछौं।
साथै दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौंको नाथमसँग मिलेर तालिमहरू सञ्चालन गर्नेछौं।