काठमाडौं। नेपाल साइक्लिङ संघको आयोजनामा असार ७ र ८ गते १९ औं राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता आयोजना गरिएको छ।
गोर्कणेश्वर नगरपालिका वडा ४ स्थित जगडोल शहिद पार्कमा शुक्रबार र शनिवार आयोजित प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूका बिच प्रतिस्पर्धा सम्पन्न भएको हो।
शुक्रबार अयोजित ‘डाउन हिल’ विधमा पुरुष इलाइट तर्फ निरभ श्रेष्ठ प्रथम, राजेश मगर द्वितीय र प्राचित थापा मगर तेस्रो भए भने महिला तर्फ लक्ष्मी मगर, सन्जु तामाङ र इन्द्र कुमारी तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए।
त्यस्तै सोही विधाको जुनियर तर्फ प्रतिक पोखरेल प्रथम, कबिर खड्का द्वितीय र आरभ श्रेष्ठले तृतीय स्थान प्राप्त गरे।
प्रतियोगितामा बिजयी प्रतिस्पर्धिहरुलाई गोकर्णेश्वरका नगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए।
त्यसैगरी, शनिबार सम्पन्न ‘क्रस कन्ट्री’ विधाको पुरुष तर्फ सुरज राना प्रथम, अचुत कृष्ण खरेल द्वितीय र हिमाल टमाटा तृतीय भए भने सोही विधाको महिला तर्फ लक्ष्मी मगर, मन्जु कुमारी खड्का र ज्ञानु कुमारी चौधरी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हात पारे।
त्यस्तै, मास्टर तर्फ हर्क बहादुर लामाले पहिलो स्थान प्राप्त गर्दा बिनोद ढकाल दोस्रो स्थान प्राप्त गरे भने नारायण मानन्धरले तेस्रो स्थान हात पारे। प्रतियोगितामा बिजयी प्रतिस्पर्धीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए।
९० जना पुरुष तथा महिला खेलाडीहरूले भाग लिइएको प्रतियोगितामा नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजीव थापा र राष्ट्रिय शहिद तथा शान्ति पार्क गोकर्णका अध्यक्ष सुदर्शन सिग्देलको समेत उपस्थिति रहेको थियो।