काठमाडौं। काठमाडौंबाट करिब ९० किलोमिटरको दूरीमा पर्ने ३ हजार ७ सय ७१ मिटर उचाइमा रहेको आमा याङ्ग्री पछिल्लो समय धार्मिक रूपमा मात्रै नभई पर्यटकीय क्षेत्रको रूपमा समेत प्रख्यात छ। मौसम खुल्ला भएको बेला आमा याङ्ग्रीबाट विभिन्न हिम शृंखला देख्न सकिन्छ।
आमा याङ्ग्री पिक बाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
आमा याङ्ग्रीमा प्राचीन् गुम्बा, स्तुपाहरूको दर्शन र अवलोकन गर्न पाइन्छ। काठमाडौंबाट तार्केघ्याङसम्म सार्वजनिक बसमा जान सकिन्छ। आफ्नो सवारीसाधन भएमा बेस क्याम्पसम्म एकै दिनमा पुग्न सकिन्छ।
आमा याङ्ग्री बेस क्याम्पबाट बिहान ४ बजे हिँड्यो भने दुई–तीन घण्टामा आमा याङ्ग्री पिक पुगेर सोही दिन काठमाडौं फर्किन सकिन्छ। यो ट्रेल दुई दिनमा पूरा हुन्छ। आमा याङ्ग्री काठमाडौँ उपत्यका नजिकको अग्लो चुचुरो मध्येको एक हो। आमा याङ्ग्रीलाई सम्पूर्ण ह्योल्मो उपत्यका क्षेत्रको रक्षा गर्ने देवता मानिने किंवदन्ती रहेको छ।
पदयात्रा मार्ग दर्शनीय छ, हरियाली जङ्गल र सुन्दर गाउँहरूले भरिएको छ। यो पदयात्रा काठमाडौँ नजिकै छोटो र सजिलो पदयात्रा खोज्नेहरूका लागि उपयुक्त छ।